२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

नेपालले यूएईसॅग सेमिफाइनलमा खेल्ने

काठमाडौँ — नेपालले एसीसी प्रिमियर कप ट्वान्टी २० क्रिकेटको सेमिफाइनलमा यूएईसॅग भिड्ने भएको छ । ओमानमा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनल घरेलु टोली ओमान र हङकङबीच हुनेछ । दुबै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

नेपालले यूएईसॅग सेमिफाइनलमा खेल्ने

समूहचरणको अन्तिम खेलमा बुधबार यी सबै टोलीले विजय हात पारेका थिए । नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गर्‍यो । पहिलो तीन खेल जितेको नेपाल यस खेल अगाडि नै समूह ‘ए’ को विजेता भएर सेमिफाइनलमा पुगिसकेको थियो । साउदी अरेबियाको जितले नेपालले शतप्रतिसत विजयलाई कायम राखेको हो । नेपालले पहिलो तीन खेलमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो ।

हङकङ समूह ‘ए’ को उपविजेता टोलीको हैसियतमा सेमिफाइनलमा प्रवेश गरेको छ । हङकङले बुधबार भएको अर्को खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्‍यो । हङकङ र कतारको समान ४ अंक भए पनि हङकङ राम्रो रन रेटका कारण सेमिफाइनलमा पुगेको हो ।

समूह ‘बी’ मा ओमानले पनि सबै चार खेल जित्यो । ओमानले बुधबार कुवेतलाई ४६ रनले पराजित गर्‍यो । यसै समूहको अर्को खेलमा यूएईले कम्बोडियालाई ९ विकेटले पराजित गर्यो । ओमान समूह विजेता र यूएई समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् ।

मैदान गिलो भएका कारण नेपाल र साउदी अरेबिया बीचको खेल प्रभावित हुन पुग्यो । अघिल्लो दिनको वर्षाका कारण मैदान भिजेकाले ८–८ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको साउदीले निर्धारित ओभरमा ७ विकेट गुमाई ७३ रन बनायो । अब्दुल वाहिदले ३७ रन बनाउनु बाहेक साउदीबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । उनले १६ बल खेली समान ३ चौका र छक्का प्रहार गरे ।

मस्कटस्थित अल अमरात मैदानमा नेपालबाट करण केसीले २ ओभरमा २१ र अविनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २–२ विकेट लिए । ललित राजवंशीले २ ओभरमा २१ र प्रतिश जिसीले १ ओभरमा १० रन खर्चेर १ विकेट लिए ।

गुलशन झाले अविजित ३२ रन बनाएपछि नेपालले ४ बल अगाडि नै ७५ रन बनायो । प्लेयर अफ द म्याच गुलशनले १९ बल खेली समान २ चौका र छक्का प्रहार गरे । उनले नै विजयी चौका प्रहार गरे । कप्तान रोहित पौडेल ७ बल खेली १–१ चौका र छक्का प्रहार गर्दै १६ रनमा अविजित रहे । कुशल भुर्तेल शुन्य, आसिफ शेख र कुशल मल्ल २–२ तथा दीपेन्द्रसिंह ऐरी ९ बल खेली ३ चौका प्रहार गरी १७ रनमा आउट भए । साउदीका इस्तियाक अहमदले २ ओभरमा ७ रनमात्र खर्चेर २ विकेट लिए ।

अर्को खेलमा सेमिफाइनलको दौडमा रहेको मलेसियाले पहिला ब्याटिङ गर्दै १४०–९ को स्कोर मात्र बनाउन सक्यो । हङकङले कतारलाई रन रेटमा उछिन्न मलेसियालाई ठुलो अन्तरमा पराजित गर्नु पर्ने थियो । बाबर हायतले ३५ बलमा ८३ रन बनाएपछि हङकङले १२.१ ओभरमै लक्ष्य पुरा गर्यो । प्लेयर अफ द म्याच बाबरले २ चौका र ९ छक्का प्रहार गरे । कप्तान निजाकत खान २६ बल खेली ४ चौका र २ छक्का प्रहार गरि ४७ रन बनाई अविजित रहे ।

ओमानलाई १६ ओभरमा १३०–२ को स्कोरमा रोकेर कुवेतले सेमिफाइनलमा पुग्ने आशालाई जिवितै राखेको थियो । तर ओमानले अन्तिम ४ ओभरमा ७० रन जोडेर खेल आफ्नो नियन्त्रणमा राख्दै निर्धारित २० ओभरमा २००–९ को स्कोर बनायो । आयान खानले २० बल खेली २ चौका र ४ छक्कासहित ४५ रन बनाए ।

माथिल्लोक्रममा कप्तान जिसन मक्सुदले २४ बलमा ३ चौका र २ छक्कासहित ३५, अकिब इल्याजले ३२ बल खेली समान २ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाए । रफिउल्लाह ११ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रनमा अविजित रहे । कुवेतका एडनान इद्रिज र मोहम्मद अस्लामले २–२ विकेट लिए ।

जबाफमा कुवेतले ९ विकेट गुमाई १ सय ५४ रनमात्र बनाउन सक्यो । क्लिन्टो एन्टोले १५ बलमा ३ चौका र ३ छक्कासहित ३४, मीत भवसारले २६ बलमा २९, रविजा सन्दारुवानले १२ बलमा ३ चौका र १ छक्कासहित २३ रन बनाए । बिलाल ताहिर २५ बल खेली ३ चौका र १ छक्का प्रहार गरि ३३ रनमा अविजित रहे । ओमानका कप्तान मक्सुदले ४ ओभरमा २९ रन खर्चेर ४ र इल्याजले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए ।

यूएईले कम्बोडियालाई एकतर्फी खेलमा पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको कम्बोडिया १९ ओभरमा ७६ रनमा अलआउट भयो । प्लेयर अफ द म्याच यूएईका आयान अफजल खानले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर ३ तथा अकिफ राजा र मोहम्मद फारुकले २–२ विकेट लिए । कम्बोडियाका श्रवण गोदाराले २४ रन बनाए ।

कप्तान मोहम्मद वासिमले १८ बलमा ४८ रन बनाएपछि यूएईले ५.१ ओभरमै ७९ रन बनायो । उनले ७ चौका र २ छक्का प्रहार गरे । अलिसान सराफुले १० बलमा ३ चौका र १ छक्कासहित २१ र असिफ खान ५ रन बनाई अविजित रहे ।

प्रकाशित : वैशाख ५, २०८१ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?