२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

आर्मीले जित्यो राष्ट्रिय महिला हक्कीको उपाधि

काठमाडौँ — त्रिभुवन आर्मी क्लबले छैटौं मंगलबार सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ ।

आर्मीले जित्यो राष्ट्रिय महिला हक्कीको उपाधि

धुलिखेल खेल मैदानमा भएको फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई ४–१ गोलले हराएर उपाधि जितेको थियो । आर्मीको जितमा सरस्वती तामाङले दुई गोल गरिन् । त्यसमा सीमा खड्का र कमला चन्दले गोल थपे । गण्डकीको एकमात्र गोल सीतामाया बलको नाममा रह्यो ।

खेलको चौथो मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । गण्डकीकी सीताले १६ औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याइन् । लगत्तै १८ औं मिनेटमा सरस्वतीले गोल थपेर टिमलाई २–१ गोलको अग्रता दिलाइन् ।

त्यसपछि आर्मी हाबी खेलमा २४ औं मिनेटमा कमला र ५७ औं मिनेटमा सीमाले गोल थप्दै उपाधि जिताए । फाइनलमा प्लेयर अफ द म्याच कमला चन्द चुनिन् ।

विजेता आर्मीले एक लाख र उपविजेता गण्डकीले ७५ हजार रुपैयाँ पुरस्कार पाए । तेस्रो स्थानलाई भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई १–० ले हरायो । सुदूरका लागि २७ औं मिनेटमा बबिता उराँवले गोल गरिन् ।

इमर्जिङ प्लेयर सुदूरपश्चिमकी नमिता एसके चुनिइन् । उत्कृष्ट गोलकिपरमा गण्डकीकी गोमा परियार, उत्कृष्ट डिफेन्डरमा आर्मीकी सरिता मेचे र आर्मीकै निलिमा पाण्डे प्लेयर अफ द टुर्नामेन्ट भइन् । सर्वाधिक १० गोल गरेकी आर्मीकी सरस्वती उत्कृष्ट स्कोरर हुन सफल भए । विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाए ।

नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगितामा आर्मी, वाग्मती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता थियो ।

प्रकाशित : वैशाख १८, २०८१ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?