रुपन्देही सुपर लिग : तिरुपती १ सय ८८ रनले विजयी
तिलोत्तमा — ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वान–डे क्रिकेट प्रतियोगिताअन्तर्गत डिभिजन 'ए' को ग्रुप 'बी' को खेलमा तिरुपती क्रिकेट क्लब विजयी भएको छ ।
सिद्धार्थ क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा तिरुपती भैरहवाले जिआर क्रिकेट क्लब बेलबासलाई १ सय ८८ को विशाल अन्तरले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको तिरुपतीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६४ रनको स्कोर बनाएको थियो ।
तिरुपतीको तर्फबाट ब्याटिङमा यम क्षत्रीले ५४ रन, नटआउट रोहित थापाले ४५ रन, एजाजुल हकले ३४ रन र कमल बिक तथा तुलबहादुर थापाले समान २५/२५ बनाउन सफल भए । तिरुपतीलाई ५० रन अतिरिक्तको रुपमा प्राप्त भएको थियो ।
जिआरको तर्फबाट बलिङमा विशाल भुसाल र सन्दिप सुनारले २/२ विकेट र बिमल भुसालले १ विकेट लिएका थिए ।
प्रतिउत्तरमा २ सय ६५ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको जिआर मात्र २४ ओभरमा ७६ रनमै सीमित हुन पुग्यो। जिआरको लागि ब्याटिङमा प्रकाश जैसीले २२ तथा विशाल भुसालले १७ रन जोड्न सफल भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
जिआरलाई उक्त योगफलमा रोक्न तिरुपतीका बलरहरु सुभास खत्री तथा आकाश त्रिपाठीले ३/३ विकेट र रुपेश कुर्मी, यम क्षत्री, तुलबहादुर थापा, सन्दीप मौयाले १/१ विकेट लिएका थिए । उक्त खेलको प्लेयर अफ दि म्याच तिरुपतीका यम क्षत्री घोषित भए ।
शनिबार वेस्टर्न क्रिकेट क्लब बुटवल तथा बुटवल ११ बीच खेल हुने छ ।
प्रकाशित : चैत्र १६, २०८० १६:४६