भ्रामक सामग्री सम्प्रेषण गर्ने अनलाइनका सम्पादक र कार्यक्रम सञ्चालकलाई काउन्सिलले बोलायो
काठमाडौँ — प्रेस काउन्सिल नेपालले सर्वोच्च अदालतका न्यायाधीश र प्रतिष्ठित मिडियाबारे भ्रामक समाचार सामग्री तयार पारेर सम्प्रेषण गर्ने 'सिधा कुरा' नामक अनलाइनका सम्पादक र कार्यक्रम सञ्चालकलाई सम्प्रेषण भएको सामग्री पुष्टि हुने आधार/प्रमाणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
काउन्सिलले आइतबार सो अनलाइनलाई पत्राचार गर्दै सम्बन्धित सामग्री सत्य हो भनेर पुष्टि हुने आधार/प्रमाणसहित सोमबार दिउँसो ३ बजे काउन्सिलको कार्यालयमा उपस्थित हुन भनेको हो ।
सिधा कुरा अनलाइनले गत शुक्रबार 'चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको 'स्टीङ अपरेशन' कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए' शीर्षक राखेर भिडियो सामग्री प्रकाशित गरेको थियो । काउन्सिलका अनुसार सो समाचारका विषयमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा र कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियाले काउन्सिलमा शुक्रबार नै उजुरी दिएका छन् ।
उजुरीपछि काउन्सिलले सो अनलाइनलाई तथ्य र आधार प्रमाणबिनाको प्रकाशित सामग्री हटाउन निर्देशन दिएको थियो । काउन्सिलको पत्रानुसार अनलाइनले सो सामग्री नहटाए पनि सो सामाग्री प्रकाशनको क्रममा समाचारको सामान्य मान्यताअनुसार समाचारको सन्तुलनमा केही कमजोरी भएको विषयलाई स्वीकार गरेको काउन्सिलले जनाएको छ ।
'...विवादास्पद सामग्री सम्प्रेषण भइरहेको देखिएको हुँदा सञ्चार माध्यमबाट सम्प्रेषण भएको सामग्रीका पुष्टि हुने आधार/प्रमाणसहित २०८१।०१।१७ गते दिनको ३:०० बजे सञ्चारमाध्यमका सम्पादक र कार्यक्रम सञ्चालक प्रस्तोतालाई काउन्सिलमा उपस्थित हुन पत्राचार गर्ने निर्णय भएको छ,' काउन्सिलले भनेको छ ।
सम्बन्धित समाचारहरू
- न्यायप्रणाली मै आक्रमण भयो, भ्रामक सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गर : न्यायाधीश समाज
- न्यायाधीश र कानुन व्यवसायीमाथि निराधार लाञ्छना लगाउनु निन्दनीय : सर्वोच्च बार
- ‘फेक अडियो’ मा अख्तियारको पनि ध्यानाकर्षण
- न्यायालय र मिडियाप्रति अनास्था फैलाउन 'फेक न्युज’
- 'फेक न्युज' सम्प्रेषण गर्नेलाई कारबाही गर : अध्यक्ष सिरोहिया
- ‘फेक न्युज’ उत्पादन गरेर मिडिया र न्यायाधीशबारे भ्रम फैलाउने कुचेष्टा’ : मिडिया सोसाइटी