सुपर न्यादी जलविद्युत्‌ आयोजनामा कार्यरत कामदारको मृत्यु

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिका ६, डहरे क्षेत्रमा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको मृत्यु भएको छ ।

सुपर न्यादी जलविद्युत्‌ आयोजनामा कार्यरत कामदारको मृत्यु

बैतडी जिल्ला नल्लादेही गाउँपालिका ६ घर भएका ३८ वर्षीय रामबहादुर बोहरा काम गर्न जाने क्रममा माथिबाट अचानक खसेको ढुंगा लागेर गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार सुरुङको आउटलेट नजिकैबाट खसेको ढुंगा लागेर आइतबार बिहान ९ बजेर १० मिनेटतिर गम्भीर घाइते भएका उनलाई उपचारको लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो । उपचारको क्रममा मध्याह्न सवा १२ बजेतिर डाक्टरहरुले बोहरालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । मृतक बोहरा जलविद्युत् आयोजना निर्माणका क्रममा विस्फोट कार्यमा खटिएका ‘ब्लाष्टर’ हुन् । उनको शव पोष्टमार्टमका लागि लमजुङ अस्पतालको शव गृहमा राखिएको छ । उनका परिवार आएपछि मात्रै पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी चौकी बाहुनडाँडाबाट असई रमेश श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चपाईंको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । घटनास्थल प्रहरी चौकी बाहुनडाँडाबाट करिब १५ किलोमिटर उत्तरपूर्व र जिल्ला प्रहरी कार्यालयबाट करिब ३२ किलोमिटर उत्तरतर्फ पर्छ ।

यसअघि चैत २३ गते सुपर न्यादी जलविद्युत् आयोजनाको जिप आउटलेट नजिकै दुर्घटना हुँदा चालक रोल्पाको त्रिवेणी गाउँपालिका ४ का ३७ वर्षीय वीरसिंह दमाईको घटनास्थलमै मृत्यु भएको थियो । जलविद्युत् आयोजनाको बा१७च १४६५ नम्बरको बोलेरो जिप आयोजनामा कामदार पुर्‍याएर फर्कने क्रममा बिहान सवा ९ जबेतिर दुर्घटना भएको थियो ।

प्रकाशित : वैशाख १६, २०८१ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?