दिक्तेल रूपाकोट मझुवागढीमा स्थानीय पाठ्यक्रम परिमार्जन प्रक्रिया थालनी
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जनको प्रक्रिया थालेको छ । अघिल्लो स्थानीय तहले २०७८ सालबाट लागू गरेको स्थानीय विषय पाठ्यक्रम अपूरो रहेको भन्दै त्यसलाई परिमार्जन गर्न प्रक्रिया बढाइएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका शिक्षा शाखाका नानीराम आचार्यका अनुसार संघीयताको अनुभूति दिने गरी जातजाति, भाषाभाषी, संस्कृतिलाई समेत समेटेर पाठ्यक्रम परिमार्जनको प्रक्रिया सुरु गरिएको हो । ‘पहिलेको स्थानीय विषयको पाठ्यक्रममा समग्र नगरपालिकाको विषयमात्र समेटिएको थियो,’ उनले भने, ‘तर अहिले जातजाति, भाषाभाषी, संस्कृति समेत पाठ्यक्रममा समेटिन्छ ।’ उनका अनुसार परिमार्जन गरिने पाठ्यक्रममा हरेक वडामा छुट्टा–छुट्टै विषय रहने छ । यसका लागि गत वैशाख १४ र १५ गते सहजकर्ताहरूलाई तालिम दिइएको आचार्यले सुनाए ।
स्थानीय पाठ्यक्रमबारे सुझबुझ भएका र सक्षम विद्यालय व्यवस्थापन समिति अध्यक्ष, मावि तथा आधारभूत तहका प्रअ तथा शिक्षकलाई सहजकर्ताको तालिम दिइएको हो । ‘हरेक वडाबाट एक जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, मावि तहको प्रधानाध्यापक वा शिक्षक एक जना र आधारभूत तहका प्रअ वा शिक्षक एक जना गरी तीन जनालाई बोलाएर तालिम दिइएको छ,’ आचार्य भने, ‘तालिम प्राप्त सहजकर्ताले वडामा पाठ्यक्रम तयार गर्ने छ ।’
प्रकाशित : वैशाख १६, २०८१ २१:१४