२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

सामुदायिक विद्यालयहरुमा सर्वर सिस्टमको कम्प्युटर ल्याव स्थापना

म्याग्दी — कम्प्युटरबिना नै कम्प्युटर शिक्षा अध्यापन गराउँदै आएका जिल्लाका तीन वटा सामुदायिक माध्यामिक तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । 

सामुदायिक विद्यालयहरुमा सर्वर सिस्टमको कम्प्युटर ल्याव स्थापना

क्वालिटी एजुकेशन नेपाल, अष्ट्रेलिया र एजुटेक नेपाल, न्यूजिल्याण्डको आर्थिक सहयोगमा विद्यार्थीको पठनपाठनमा आवश्यक शैक्षिक सामाग्री (इलाईव्रेरी सहित)को ८ घन्टा पावर ब्याकअपसहित २०–२० वटा कम्प्युटर रहेको सर्वर सिस्टमको सामुदायिक कम्प्युटर ल्याब स्थापना गरिएको हो । ल्याब स्थापना गर्न फर्निचर, विद्युत समेतका सामाग्री स्थानीय विद्यालयले खर्च गरेको छ ।

‘अहिलेसम्म विद्यालयले कक्षा ६ देखी १० सम्म कम्प्युटर विना नै कम्प्युटर विषय अध्यापन गराईरहेको थियो । प्राक्टीकल गर्ने कम्प्युटर नभएकोले थौरीटिकल मात्र पढाई हुन्थ्यो, अव कक्षाका सवै विद्यार्थीलाई एक साथ कम्प्युटरमा राखेर प्राक्टीकल सहित अध्यापन गर्न पाउने भयौं,' कम्प्युटर ल्याबको चावी बुझ्दै ज्ञानोदय माविका ब्यवस्थापन समिति अध्यक्ष हरी सुवेदीले भने, ‘डिजिटल साक्षरता अभियानमा समुदायका युवा/युवतीलाई पनि समेट्ने सर्त रहेकोले फुर्सदको समयमा अन्यले पनि कम्प्युटर पढ्न र सिक्न पाउने छन् ।’

ल्याबको बुधवार क्वालिटी एजुकेसन नेपाल, अष्ट्रेलियका अध्यक्ष ८६ बर्षिय पिटर जेटी हल (एभतभच व्त् ज्बिि)ले विद्यालयलाई हस्तान्त्रण गरे । ल्याब संञ्चालन गर्न मध्यस्तकर्ता संस्था लर्न नेपालले विद्यालयका २–२ जना शिक्षकलाई कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।

विद्यालय र दाताविचको मध्यस्थकर्ता रहेको लर्न नेपालका निर्देशक कृष्ण तिलिजाका अनुसार अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ स्थित प्रभा माध्यामिक विद्यालय, रघुगंगा गापा, ३ मौवाफाँट स्थित ज्ञानोदय मावि र धवलागिरी गापा, ४ मुदी स्थित बुद्धिविकास माविमा १५–१५ लाख लागतमा कम्प्युटर ल्याब स्थापना गरिएको हो ।

‘सर्वर सिस्टमको कम्प्युटर ल्याब भएकोले एक जना कम्प्युटर शिक्षकले कुन कम्प्युटरमा के के कार्यक्रम वा विषय खोजी भैरहेको छ वा काम भैरहेको छ, मनिटरिङ गर्न पाउने भएकोले विद्यार्थीले गलत पहुँचबाट रोक्न सकिन्छ’ लर्न नेपालका निर्देशक कृष्ण तिलिजा मगरले भने, ‘देशभर ८ सय यस्ता कम्प्युटर ल्याब बनाउने लक्ष्य छ, अहिलेसम्म २ सय ५० वटा सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना भैसकेका छन् ’ तिलिजाले थपे, ‘पाईलट प्रोजेक्ट हो, राम्रो भयो भने अन्य विद्यालयमा पनि क्रमशः इलाईव्रेरीसहितको कम्प्युटर ल्याब स्थापना गर्छौ ।'

प्रकाशित : वैशाख ५, २०८१ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?