मध्यविन्दु जिल्ला अस्पतालमा १२ घण्टा ओपीडी सेवा
नवलपुर — पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालले ओपीडी सेवा ८ घण्टाबाट बढाएर १२ घण्टा संचालन गरेको छ । यसअघि विहान १० बजेदेखि ५ बजे सम्म संचालन भएको ओपीडी सेवा बैशाख १ गत देखि विहान ७ बजेदेखि बेलुका ७ बजे सम्म संचालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले बताए ।
यस सेवाबाट कार्यालयमा काम गर्ने सेवाग्राहीले पनि सहजै उपचार सेवा पाउने तथा मधुमेह तथा अन्य रोगका बिरामीलाई खालीपेटमा जाँच गर्नुपर्ने प्रयोगशालाको सेवा पनि ओपीडीबाट नै सहज हुने विश्वास लिइएको छ ।
रिफर गर्नुपर्ने, औषधि थप गर्नुपर्ने र प्रयोगशालामा परीक्षण गर्नुपर्ने बिरामीलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको र अब क्रमश विशेषज्ञ सेवा पनि बिस्तार हुने जनाइएको छ ।
ओपीडी सेवा १२ घण्टा संचालन हुने भएपछि सेवाग्राहीको घुँईचो कम हुने र सहज सेवा प्रदान गर्न सकिने अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा लागु भएपछि अहिले जिल्ला अस्पतालमा दैनिक २ सय भन्दा बढी बिरामीले ओपीडी सेवा लिँदै आएका छन् ।
गैडाकोट नगरपालिकाले मध्यविन्दु जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । मृगौला रोगको डायलासिस क्लिनर, उपचार कक्षको लागि एसी र स्वास्थ्य उपकरण राख्ने र्याक गरेर १५ लाख रुपैयाँको स्वास्थ्य उपकरण प्रदान गरेको हो । सोमबार एक कार्यक्रमबीच गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले अस्पताल प्रशासनलाई उपकरण हस्तान्तरण गरेका थिए ।
डायलासिस क्लिनर उपकरण थप भएपछि मिर्गौला रोगीको उपचारका लागि थप सहज हुने जिल्ला अस्पतालले जनाएको छ ।
प्रकाशित : वैशाख ५, २०८१ १८:४७