कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

प्रचण्ड नै विश्वस्त छैनन् गठबन्धनसँग

पाठक पत्र

कांग्रेससँगको गठबन्धन तोडेर गएको फागुन २१ मा एमालेसँग नयाँ गठबन्धन गर्दा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लागेको हुँदो हो– ‘म बेलाबेलामा उथलपुथल ल्याउन माहिर छु, मैले जति कूटनीतिको राजनीति गर्न कसैले पनि सक्दैन ।

तर तत्कालीन अवस्थालाई मात्र केन्द्रमा राखेर कदम चाल्ने प्रचण्डको बानीले आज उनी फेरि एकपटक सङ्कटको घेरातिर डोर्‍याइँदै छन् । प्रचण्ड हिजो कांग्रेससँगको गठबन्धन सरकारको प्रधानमन्त्री हुँदा सहज तरिकाले काम गर्न पाइन भन्थे ।

आज केपी शर्मा ओलीको छायामा बसेर काम गर्दा त्योभन्दा सहज पक्कै भएको छैन । प्रचण्ड यतिबेला आफ्नो रागले आफैं खुम्चिने मरीचको अवस्थामा पुगेका छन् । भनौं भने आफैंले रोजेर बनाएको गठबन्धन कसलाई के भन्ने, नभनौं भने गठबन्धनको भविष्य दिनदिनै धर्मराउँदै गएको छ । यतिबेला प्रमुख प्रतिपक्षी दल मात्र होइन, सत्तारूढ दल नै यो गठबन्धन र सरकारको भविष्यमा ढुक्क देखिँदैनन् ।

सहकारीको रकम हिनामिनाको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई स्वार्थ बाझिने गरी गृह मन्त्रालयको जिम्मेवारी दिएपछि गठबन्धन सरकारको भविष्य धरापमा परेको हो । रास्वपालाई मात्रै थुमथुम्याएर पनि वर्तमान गठबन्धन र सरकार जोगिने छैन । बरु गठबन्धन नै छाड्ने तर एमाले अध्यक्ष ओलीसँग नझुक्ने पक्षमा रहेको एकीकृत समाजवादी अहिले शक्तिशाली देखिएको छ ।

उसलाई पनि सँगै लैजानुपर्ने बाध्यता प्रचण्डसामु छ । रवि लामिछानेमाथि कांग्रेस मात्रै खनिएको छैन, सत्तापक्षकै नेताहरूसमेत लागेका छन् । सत्ता समीकरणकै कारणले मात्र उनीहरू कांग्रेसजसरी सार्वजनिक हुन नसकिरहेका हुन् । केही समय पहिले रविको पक्षमा खुलेर वकालत गर्ने ओलीले नै अहिले दृष्टिकोण परिवर्तन गरिसकेका छन् । स्वयं प्रचण्ड नै सत्ता जोगाउन रविका पक्षमा उभिएका हुन् भन्ने पनि प्रस्ट छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : वैशाख १४, २०८१ ०४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?