माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्री पुनलाई सुझाव
काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उहाँको पार्टी नेकपा (माओवादी केन्द्र) सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ।
माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनलाई आइतबार विभिन्न विभागका प्रमुखसँग छलफल गरी सुझाव लिएका हुन् ।मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन् । कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे ।
बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक/सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुको सुझाव थियो ।
अर्थमन्त्री पुनले सहभागितामूलक रुपमा बजेट निर्माण गरिने बताए । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो । आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए ।
प्रकाशित : वैशाख २३, २०८१ १५:१४