प्रधानमन्त्री दाहाल विदेशीको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँड्छन् : लिङदेन
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरुको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् ।
पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले प्रधानमन्त्री दाहालको प्राथमिकता सत्तामात्रै रहेको जिकिर गरे । सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काममात्रै ठूलो दलहरुले गरिरहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले देशलाई लुटाहाहरुबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दाबी गरे । उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष लिङ्देनले भने, ‘विदेशीहरुको दबाब, प्रभावमा भइरहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिँड्छ । अहिले देशको स्थिति के छ ? तपाईं भोलि बिहान उठ्दाखेरि प्रधानमन्त्री आफैंले समीकरण परिवर्तन गरिसकेको हुन्छ । उनीहरुको प्राथमिकतामा सत्तामात्रै छ । सत्ता के, का लागि छ ? भन्दा एउटा त मिलिजुली बाँकी रहेको देशमा लुट्ने र अस्ती लुटेको कारबाहीबाट जोगिने । यसबाट जोगिनका लागि उनीहरु जोडिने । यो कहिलेसम्म देशले धान्नसक्छ ? यो अवस्था हामीले कहिलेसम्म हेरेर बस्न सक्छौं ? यो अवस्थाबाट देशलाई मुक्त गर्नुपर्छ । देशलाई यो अवस्थाबाट मुक्त गर्नुपर्छ भन्ने इमान्दार राजनीतिक पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टीमात्रै हो ।’
अध्यक्ष लिङ्देनले आफूहरुले गत निर्वाचनअघि नै नेपालको सरकार बनाउने निर्णय नेपाली जनताको हातमा हुनुपर्छ भन्ने एजेण्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजानका लागि प्रयासरत रहेको बताए ।
प्रकाशित : वैशाख २३, २०८१ १७:१३