कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने तयारीमा काठमाडौं महानगर

विद्यालय सञ्चालनका लागि चाहिने भौतिक पूर्वाधार, जनशक्तिलगायत अध्ययन गर्न समिति गठन
विद्या राई

काठमाडौँ — काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने तयारी थालेको छ । विद्यालय सञ्चालन गर्नका लागि आवश्यक अध्ययन गरेर प्रतिवेदन तयार गर्न महानगरले दुई सदस्यीय समिति गठन गरेको हो । 

अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने तयारीमा काठमाडौं महानगर

समितिको सदस्यमा स्रोत शिक्षक योग्य प्रसाईं र सदस्य सचिवमा शिक्षा अधिकृत इन्द्रप्रसाद दाहाल रहेको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘अटिजम भएका बालबालिका बढिरहेका छन्, पढाउन समस्या भयो, पढ्न पाए भने सुधार हुन्छ भन्ने भएपछि र उनीहरूलाई चाहिने विशेष खालका सहायता, सुविधासहित सामुदायिक विद्यालय महानगरभित्र नभएकाले भएकै सामुदायिक विद्यालयहरूसँग समन्वय गरेर सञ्चालन प्रक्रिया थालिएको हो,’ मानन्धरले भने ।

महानगरको शिक्षा समितिको सोमबार बसेको बैठकले यस्तो विद्यालय सञ्चालनका लागि चाहिने भौतिक पूर्वाधार, जनशक्तिलगायत पहिचान गर्न गठित समितिलाई अध्ययनको कार्यादेश दिएको छ । समितिलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । काठमाडौं महानगर हाल शिक्षा नीति निर्माणको क्रममा रहेको र यसै क्रममा अटिजम भएका बालबालिकाका अभिभावकसँग पनि छलफल गरेको हो ।

अभिभावकले आफ्ना बालबालिकालाई उपयुक्त हुने खालको विद्यालय नभएको, भर्ना लिनै नमान्ने तथा भर्ना लिए पनि निजी तथा संघसंस्थाले खोलेका मन्टेश्वरी, थेरापी सेन्टरहरूले मनोमानी शुल्क लिने गरेको गुनासो गरेका थिए । ‘सामान्य अटिजम भएकालाई पढ्ने, सिक्ने वातावरण भयो भने सुधार हुने हुन्छ,’ समितिका एक सदस्यले भने, ‘महानगरका सामुदायिक विद्यालयहरूमा आगामी शैक्षिक सत्रदेखि सञ्चालन गर्ने लक्ष्य हो ।’

अटिजम भएका बालबालिकालाई सकेसम्म भर्ना नलिने, लिए पनि दोब्बर शुल्क लिने, भर्ना शुल्क, मासिक शुल्क लगायतका शुल्क दरहरू हरेक स्कुलको फरक—फरक र महँगो हुने, उचित हेरचाह नगर्ने गरेको प्रवृत्ति काठमाडौं महानगरलगायत देशभरि नै छ । सामान्य विद्यार्थी पढ्ने विद्यालयमा अटिजम भएका बच्चालाई पढाउँदा अधिकांश विद्यालयले मासिक शुल्क दोब्बर र विशेष कक्षा (अपांगता भएकालाई पढाउने) मा पढाउँदा मासिक शुल्क २० हजारदेखि ६० हजार लिने गरेको अभिभावकको गुनासो छ ।

काठमाडौंमा अटिजम भएका बालबालिकालाई थेरापी गराउने नाममा थेरापी सेन्टर, क्लिनिक, अटिजम भएका बच्चा पढाउने विशेष कक्षा सञ्चालन गर्ने नाममा खोलिएका संघसंस्थाले महँगो शुल्क असुल्ने गरेका उनीहरूको गुनासो छ । नेपालमा यस्ता संघसंस्था देशभरि कम्तीमा ६० वटा छन् । काठमाडौं उपत्यकामा मात्रै ४१ वटा छन् ।

‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४’ अनुसार अटिजम भएका व्यक्तिलाई सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाइ हुन्छ । उमेरको विकासअनुरूप सामान्य व्यवहार देखाउन नसक्ने, अस्वाभाविक प्रतिक्रिया देखाउने, एउटै गतिविधि दोहोर्‍याइरहने, अरूसँग घुलमिल हुन नचाहने वा तीव्र प्रतिक्रिया दिने खालका हुन्छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ६ लाख ४७ हजार ७ सय ४४ जना अर्थात् कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता देखिएको छ । जसमा अटिजम भएका पुरुष २ हजार २ सय ५८ र महिला २ हजार ६ सय २८ गरी ४ हजार ८ सय ८६ जना छन् ।

प्रकाशित : वैशाख १३, २०८१ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?