जितकुन्डोमा सन्जिव र उर्मिलालाई स्वर्ण
काठमाडौँ — नागका सन्जिव माझीले चौथो टोखा नगरपालिका जितकुन्डो मार्सल आर्ट्स आमन्त्रण मेयर कपमा शनिबार स्वर्ण पदक जितेका छन् ।
नेपाल जितकुन्डो मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५०.५ देखि ६२ केजी फाइनलमा सन्जिवले नागकै सुनिल कठायतलाई पराजित गरे । टोखामा भएको प्रतियोगिताको पुरुष ५० केजीमुनि फाइनलमा धनगढीका निकेश कठायतले नागका साहिल तामाङलाई हराए ।
महिला ५०.५ केजीमाथि सिन्धुपाल्चोककी उर्मिला दनुवारले स्वर्ण जितिन् । उनले फाइनलमा आफ्नै जिल्लाकी जमुना दनुवारलाई हराइन् । महिला ५० केजीमुनि नीलम कोइराला पहिलो भइन् । नीलमले फाइनलमा सुस्मिता दनुवारलाई पन्छाइन् ।
करिब ५० खेलाडीको भाग लिएको प्रतियोगितामा आयोजक संघका महासचिव शिव थापाले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाए । विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, अन्तर्राष्ट्रिय निर्णायक ज्याक्विन मार्सेलो, पोल्यान्डका मिचल चाप्लालगायतले पुरस्कृत गरे ।
प्रकाशित : वैशाख २२, २०८१ २१:४०