यू–१५ स्कुल क्रिकेट : मोक्क्षदा र रत्नराज्यको लगातार जित
काठमाडौँ — जयकुमार नाथ स्मृति यू–१५ अन्तरस्कुल क्रिकेट प्रतियोगितामा मोक्क्षदाले लगातार दोस्रो जित निकालेको छ । शनिबार मोक्क्षदाले लर्निङ आरएल स्कुललाई ७ विकेटले हरायो । १८.३ ओभरमा ६७ रन बनाएको ललिङका लागि निश्चल रोका र अनुप सिंहले समान १५ रन बनाए । मोक्क्षदाका नितेश बुढाथोकी र अभी राजपुतले समान २ विकेट लिए ।
जवाफमा मोक्क्षदाले १२.२ ओभरमा ३ विकेट गुमाई लक्ष्य पूरा गरेको हो । श्याम नेपालले २८ र सौर्यभीर चन्दले १८ रन बनाए । ५ रन दिएर ३ विकेट लिएका अभी राजपुत प्लेयर अफ द म्याच भए ।
मूलपानी माथिल्लो क्रिकेट मैदानमा सोही समूह ‘डी’ को अर्को खेलमा रत्नराज्य सेकेन्डरीले नेक्सस एकेडेमीलाई ९६ रनले हरायो । रत्नराज्यले २० ओभर खेल्दै ३ विकेट गुमाएर १ सय ९० बनाएको थियो । करण चौधरी र सरोज बयकले अर्धशतक बनाए । करणले ५६ र सरोजले ५३ रन तथा सहिब मियाले ३७ रन जोडे । नेक्सस १७.२ ओभरमा अलआउट हुँदा ९४ रनमात्र बनाउन सफल भयो । रत्नराज्यका भुवन खाती र दिपेश थापाले समान २ विकेट लिए । प्लेयर अफ द म्याच सरोज बयक भए । रत्नराज्यको पहिलो जित हो ।
समूह ‘सी’ एन्जल्स हर्टले दोस्रो जित पाउँदा केएमसीले पहिलो जित निकालेको छ । एन्जल्सले जेम्स स्कुललाई १० विकेटल हरायो । युवराज खत्री र जोय थापाको ओपनिङ जोडी जमेपछि एन्जल्सले १ सय ४ रनको लक्ष्य ८.५ ओभरमै पूरा गरेर खेल जित्यो । युवराजले ७१ र जोयले ३४ रन बनाए । दुवैले अलराउन्ड प्रदर्शन गरे । जोयले ३ र प्लेयर अफ द म्याच युवराजले २ विकेट लिएपछि जेम्सले २० ओभर खेल्दा ९ विकेटमा १ सय १०३ मात्र बनायो । जेम्सका प्रवल श्रेष्ठले २१, सुधीर पौडेलले १९ र भैरव कोइरालाले १२ रन बनाए ।
केएमसीले भने अपीविरुद्ध सुपर ओभरमा जित पायो । अपीले २० ओभरमा ६ विकेट गुमाई १ सय ३५ रन जोड्यो । केएमसीले पनि ७ विकेट गुमाई १ सय ३५ रन जोडेपछि स्कोर बराबरी भएको थियो ।
अपीबाट युगमत कार्कीले ३२ र विशेष श्रेष्ठले २७ रन जोड्दा केएमसीका प्रश्रव नेपाल २, विधान सापकोटा र अपिल शर्माले समान एक विकेट लिएका थिए । केएमसीका धनराज दाहालले ४८, सिमोन बन्जाराले १९ र अभिषेक साहले १८ रन जोडे । विराट बस्नेतले ३ विकेट, उर्वर श्रेष्ठ र यकेन्द्र बुढाले समान १ विकेट लिए । प्लेयर अफ द म्या धनराज भए ।
प्रकाशित : वैशाख २२, २०८१ २०:२३