कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

सूर्य नेपाल काठमाडौं ओपन : दिनेशमाथि भुवनको ६ स्ट्रोकको अग्रता

काठमाडौँ — प्रो भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनमा समग्रमा ७ अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता बनाएका छन् । बिहीबार भुवनले ५ अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गरेपछि दिनेश प्रजापति ६ स्ट्रोकले पछि परे ।

सूर्य नेपाल काठमाडौं ओपन : दिनेशमाथि भुवनको ६ स्ट्रोकको अग्रता

अघिल्लो दिन दुवैले अग्रता बनाएका थिए । दिनेशले बिहीबार १ ओभर ६९ मा खेल सके । उनी समग्रमा १ अन्डर २ सय ३ सहित दोस्रो स्थानमा झरे । तोरणविक्रम शाही र नीरज तामाङ समग्रमा इभन पार २ सय ७ सहित संयुक्त तेस्रो स्थानमा रहे । तोरणले दिनकै उत्कृष्ट ७ अन्डर ६१ को स्कोर बनाए । नीरजले १ अन्डर ६७ मा तेस्रो दिनको खेल टुंग्याए ।

समग्रमा २ ओभर २ सय ६ स्कोरसहित धनबहादुर थापा र सञ्जय लामा पाँचौं स्थानमा रहे । धनले २ अन्डर ६६ र सञ्जयले इभन पार ६८ मा खेल सके । समग्रमा ३ ओभर २ सय ७ सहित सुवास तामाङ, जयराम श्रेष्ठ र रवि खड्काले संयुक्त सातौं स्थान बाँडे । सुवासले इभन पार ६८, जयरामले १ ओभर ६९ र रविले ३ ओभर ७१ स्कोर गरे ।

एमेच्योरतर्फ सद्भाव आचार्य ६ ओभर २ सय १० को स्कोरसहित शीर्षस्थानमा उक्लिए । उनले ३ ओभर ७१ खेल्दै टासी छिरिङलाई ५ स्ट्रोकले पछि पारे । टासीले ९ ओभर ७७ को प्रदर्शन गर्दा समग्रमा ११ ओभर २ सय १५ सहित दोस्रो स्थानमा रहे । राहुल विश्वकर्मा समग्रमा २३ ओभर २ सय २७ सहित तेस्रोमा छन् । उनले बिहीबार ७ ओभर ७५ को स्कोर खडा गरे ।

पहिलो दिनदेखि अग्रता बनाएका भुवनले बिहीबार पनि उत्कृष्ट सुरुआत गरे । पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा बर्डी प्रहार गरे भने ५ पारको चौथो होलमा इगलको सफलता पाए । फ्रन्टनाइन ६ अन्डर २८ मा सके । ब्याकनाइन भने १ ओभर ३५ मा पूरा गरे । ११ र १७ औं होलमा बोगी प्रहार गरे भने ४ पारको १६ औं होलमा डबल बोगी सामना गरे । उनले १२, १४ र १८ औं होलमा १–१ शट बचाए ।

दिनेशले दोस्रो होलको बर्डीविरुद्ध पहिलो र पाँचौं होलको बोगीले फ्रन्टनाइन १ ओभर ३५ मा सके । यसपछि १०, १३ र १४ औं होलमा शट बचाए । ११ औं‌ होलमा ट्रिपल बोगी सामना गर्दा ब्याकनाइन इभन पार ३४ मा पूरा गरे ।

दिनको उत्कृष्ट कार्ड बनाएका तोरणले बोगीरहित ६१ खेले । दोस्रो, चौथो, पाँचौं र आठौं होलमा चार बर्डी प्रहार गर्दै फ्रन्टनाइन ४ अन्डर ३० को स्कोर गरे । यसपछि १०, ११ र १७ औं होलको बर्डीले ब्याकनाइन ३ अन्डर ३१ मा पूरा गरे ।

नीरजले पाँचौं र आठौं होलको बर्डीले फ्रन्टनाइन २ अन्डर ३२ मा सके । यसपछि उनले ११, १३ र १५ औं होलमा बर्डी प्रहार गरे । तर १०, १२, १६ र १८ औं होलमा शट खेर फाले । ब्याकनाइन १ ओभर ३५ मा सके ।

प्रकाशित : वैशाख १३, २०८१ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?