कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

बिहार चुनावमा ‘जातीय फ्याक्टर’ निर्णायक

जातीय समीकरणकै जोडघटाउमा उम्मेदवार र दलहरू
विकासको मुद्दा वा राजनीतिक विचारभन्दा यहाँ जातीय पक्ष नै हाबी रहँदै आएको र त्यसले नै जित–हारमा निर्णायक भूमिका खेल्छ : प्रदीपकान्त चौधरी, प्राध्यापक तथा राजनीतिक विश्लेषक
राजेश मिश्र

मुजफ्फरपुर, बिहार — बिहारमा पटनापछिको प्रमुख सहर हो– मुजफ्फरपुर । नेपालसँग सीमा जोडिएका बिहारका जिल्लाको केन्द्र र उत्तर बिहारको अघोषित राजधानी मुजफ्फरपुरलाई मानिन्छ । नेपालको सीमाबाट ८० किलोमिटरभित्र रहेको यस सहरको चुनावी राजनीति अन्यत्रको भन्दा फरक छ । चुनावको मुखमा कांग्रेस वा अन्य पार्टीबाट भाजपामा जानेको संख्या ठूलो देखिँदा यहाँ भने भाजपाबाट लगातार दुई पटक विजयी सांसद कांग्रेस प्रवेश गरेर चुनाव लडिरहेका छन् ।

बिहार चुनावमा ‘जातीय फ्याक्टर’ निर्णायक

अघिल्ला दुई पटक भाजपाबाट चुनाव जितेका सांसद अजय निषादले अहिले पार्टी बदलेका हुन् । २०१९ को निर्वाचनमा निषादले ४ लाख मतान्तरले चुनाव जितेका थिए । भाजपाले उनलाई टिकट नदिएपछि कांग्रेसले आफूतिर तानेर यहाँको राजनीतिक कोर्सलाई बदल्ने प्रयास गरेको बताइएको छ ।

यहाँ भाजपाको ‘हाइट्रिक’ को प्रयासलाई निषादमार्फत विपक्षी इन्डिया गठबन्धनले रोक्ने प्रयास गरेको छ । भाजपाले डा.राजभूषण चौधरी निषादलाई उम्मेदवार बनाएको छ । उनी अघिल्लो लोकसभा चुनावमा विपक्षी गठबन्धनबाट उम्मेदवार थिए ।

मुजफ्फरपुरका पत्रकार तथा चुनावी विश्लेषक अमरेन्द्र तिवारी २०१९ मा हारेका उम्मेदवार त्यतिबेला जितेको पार्टीबाट तथा जितेका व्यक्ति हारेका पार्टीबाट उम्मेदवार भएर यहाँको चुनावमा रोचकता ल्याएको बताउँछन् । भाजपाले निषादजस्तै लोकसभा सांसदहरू बक्सरबाट अश्विनीकुमार चौबे, शिवहरबाट रमा देवी र सासाराम छेदी पासवानको टिकट काटिएको छ ।

पत्रकार तिवारी ब्राह्मण, मलाह र दलित समुदायबाट अघिल्लो पटक जितेका सांसदको टिकट काटिँदा त्यसको नकारात्मक प्रभाव परेको विश्लेषण गर्छन् । विपक्षी गठबन्धनले टिकट वितरणमा सामाजिक समीकरणलाई विशेष ध्यान दिएकाले त्यसले भाजपाको चुनौती बढाएको उनले बताए ।

बिहारमा लोकसभाको ४० सिट छ । २०१९ मा भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३९ सिट जितेको थियो । त्यसमा भाजपाले १७, जनता दल युनाइटेडले १६ र लोक जनशक्ति पार्टीले ६ स्थानमा जित निकालेका थिए । विपक्षी गठबन्धनबाट कांग्रेसले १ सिट मात्रै जितेको थियो ।

बिहारका मुख्यममन्त्री नितिश कुमारले गत वर्ष भाजपाविरुद्ध विपक्षी पार्टीलाई एकत्रित गरेर ‘इन्डिया’ गठबन्धन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भाजपाको कित्ताबाट नितिश विपक्षी कित्तामा गएसँगै बिहारमा भाजपा धेरै कमजोर स्थितिमा पुगिसकेको थियो । बिहारका मुख्य दुई दल लालु यादवको राष्ट्रिय जनता दल, नितिशको जनता दल युनाइटेड एक ठाउँमा आएका थिए ।

त्यसबाहेक कांग्रेस र कम्युनिस्ट पनि गठबन्धनमा हुँदा २०१९ को विपरीत यस वर्ष विपक्षीले बिहारको अधिकांश सिट जित्ने आकलन थियो । तर, गत जनवरीमा नितिश कुमारले बिहार मात्रै होइन, पूरा देशको राजनीतिलाई तरंगित पार्ने गरी विपक्षी ‘इन्डिया’ गठबन्धनबाट आफूलाई अलग गर्दै पुनः भाजपा समाउन पुगे । नितिशको बहिर्गमनले भाजपालाई सत्ताबाट बेदखल गराउन ‘इन्डिया’ गठबन्धनलाई ठूलो धक्का पुग्यो । बिहारको समीकरण पनि उलटफेर भयो ।

दरभंगा निवासी राजनीतिक विश्लेषक एवं दिल्ली विश्वविद्यालयका पूर्वप्राध्यापक डा.प्रदीपकान्त चौधरी नितिशको बहिर्गमनले विपक्षी गठबन्धनले सोचेजस्तो लाभ पाउने स्थिति नरहेको बताउँछन् । तर, अघिल्लो पटक जस्तो खराब स्थिति पनि नरहने उनको आकलन छ । पटक–पटक यताउता गर्नाले मुख्यमन्त्री नितिश कुमारको छवि खराब भएको उनको दाबी छ । उनले त्यसको असर लोकसभा चुनावमा पर्ने देखिएको बताए ।

‘नितिशको राष्ट्रिय जनता दल युनाइटेडले केही सिट लुज गर्न सक्ने सम्भावना छ । भाजपा पनि कम्फर्टेबल पोजिसनमा देखिँदैन,’ उनले भने, ‘मोदीजीको करिश्मामाथि मात्रै सत्तारूढ गठबन्धनको शक्ति टिकेको छ । त्यसले मात्रै परिणाम दिने हो ।’ जमिनी स्तरमा राजदका नेता तेजस्वी यादवले सत्तारूढ गठबन्धनलाई कडा टक्कर दिइरहेका छन् । लालु यादव अस्वस्थताका कारण थोरैमात्र सभामा पुगे पनि उनका छोरा पूर्वउपमुख्यमन्त्री तेजस्वीले लगातार चुनावी कमान्ड सम्हालेका छन् ।

२०२० मा भएको विधानसभा निर्वाचनमा उनको अगुवाइमा पार्टीले राम्रो प्रदर्शन गरेको थियो । २ सय ४३ सिटको विधानसभामा राजद ७९ सिट ल्याएर सबैभन्दा ठूलो दल बन्न पुगेको थियो । दोस्रोमा भाजपाले ७४ र तेस्रोमा नितिशको जदयुले ४५ सिट ल्याएका थिए । तेस्रो दल भएर पनि कहिले राजद त कहिले भाजपासँग मिलेर नितिश लगातार मुख्यमन्त्रीमा कायम छन् ।

बिहारको चुनावमा कसैको जित–हारमा जातीय विषयले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको प्राध्यापक चौधरी बताउँछन् । विकासको मुद्दा वा राजनीतिक विचारभन्दा यहाँ जातीय पक्ष हाबी हुँदै आएको र त्यसले नै निर्णायक भूमिका खेल्ने गरेको उनको भनाइ छ ।

पत्रकार तिवारीले पनि नितिश कुमारको आकर्षण घटेकाले त्यसको लाभ लालुको राजदले पाउन सक्ने विश्लेषण गर्छन् । २०१९ को जस्तो भाजपाको लहर नदेखिएको उनले बताए । दुई चरणको चुनावमा मतदानको प्रतिशत घट्नुले पनि त्यसको घाटा सत्तारूढ पक्षलाई हुने आकलन उनको छ । बिहारमा अधिकांश सिटमा एनडीए र इन्डिया गठबन्धनका उम्मेदवारबीच द्विपक्षीय प्रतिस्पर्धा छ । तर, कतै कतै भने त्रिपक्षीय प्रतिस्पर्धा पनि रहेको तिवारीले बताए ।

पूर्णिया सिटमा पप्पु यादवले स्वतन्त्र उम्मेदवारी दिएर त्यहाँ त्रिपक्षीय प्रतिस्पर्धा बनाएका छन् । त्यस्तै, मुस्लिम बाहुल्य क्षेत्रमा असदुद्दीन ओवैसीको अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले उम्मेदवारी दिएर द्विपक्षीय भिडन्तलाई त्रिपक्षीय बनाएको छ । पत्रकार तिवारी स्थानीय तहमा सत्तारूढ दलसँग असन्तुष्टि पनि देखिएकाले एनडीएको जित मोदी ‘म्याजिक’ मै निर्भर रहेको टिप्पणी गर्छन् । मोदी र नितिशले लालुमाथि परिवारवादको आरोप लगाइरहँदा एनडीए गठबन्धनमै कतिपय उम्मेदवार आफ्ना पिताको राजनीतिक विरासत थामिरहेकाले त्यो आरोपले पनि हावा खाइसकेको उनले उल्लेख गरे ।

बिहारमा विपक्षी गठबन्धनबाट ५ सिट वाम दलले पाएको छ । बेगुसराय, खगडिया, नालंदा, आरा र काराकाट लोकसभा सिट अलग–अलग तीनवटा कम्युनिस्ट पार्टीको भागमा परेको छ । राजदले २६ र कांग्रेसले ९ सिट पाएका छन् । राजदले आफ्नो भागबाट ३ सिट अन्य साना दललाई दिएको छ । सत्तारूढ एनडीए गठबन्धनमा भाजपाले १७, जदयुले १६, लोक जनशक्ति पार्टी ५ र अन्यले २ सिट पाएको छ ।

बिहारमा ‘कास्ट पोलिटिक्स’ हाबी भएकाले सबै कम्युनिस्ट दलसम्मले जातिगत भोट हेरेर उम्मेदवारको चयन गरेका छन् । बिहारको १३ करोड जनसंख्यामा ७ करोड ४६ लाख मतदाता छन् । जातिमा यादव र मुस्लिम अग्रस्थानमा छन् । लालु यादवले मुस्लिम–यादवको ३० प्रतिशत भोटलाई आफ्नो पक्षमा राख्ने राजनीति गर्दै आएका छन् ।

नितिश कुमार आफू कुर्मी जातिबाट छन् । उनले कुर्मी, कोइरी र अति पिछडा जातिहरूको ३६ प्रतिशत भोटमाथि नजर राखेका छन् । भाजपाले कथित उपल्लो सवर्ण जातिको भोट बैंकलाई आफ्नो मान्दै आएको छ ।

प्रकाशित : वैशाख २२, २०८१ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?