२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

सूर्य नेपाल काठमाडौं ओपन : दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौँ —  सूर्य नेपाल काठमाडौं ओपन गल्फमा बुधबार भुवन नगरकोटीसँगै दिनेश प्रजापतिले समग्रमा २ अन्डर १ सय ३४ सहित अग्रता बनाएका छन् ।

सूर्य नेपाल काठमाडौं ओपन : दिनेश र भुवन शीर्षस्थानमा

उनीहरूले ३६ होल समाप्तिमा रवि खड्कालाई दुई स्ट्रोकले पछि पारे । दिनेशले दोस्रो दिन ४ अन्डर ६४ मा खेल टुंग्याए । भुवनले २ अन्डर ६६ को स्कोर कार्ड तयार पारे । समग्रमा इभन पार १ सय ३६ सहित रवि तेस्रो स्थानमा छन् । उनले १ अन्डर ६७ को स्कोर बनाए ।

बुधबार दिनेशले ४ अन्डर ६४ को उत्कृष्ट कार्ड बनाउँदै पाँचौं स्थानबाट शीर्षमा उक्लिएका हुन् । उनले पहिलो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दा पाँचौं होलमा एक शट खेर फाले । दिनेशले फ्रन्टनाइन ३ अन्डर ३१ मा सके । यसपछि १५ औं होलको बोगीविरुद्ध १० र १४ औं होलमा बर्डी प्रहार गर्दै ब्याकनाइनमा १ अन्डर ३३ खेलेका थिए ।

सुरुआती लिडर भुवनले फ्रन्टनाइन इभन पार ३४ मा टुंग्याए । पहिलो र छैटौं होलमा बर्डी प्रहार गरे पनि चौथो होलमा डबल बोगी खेपे । उनले ब्याकनाइनमा चार बर्डीको सफलता पाए । १०, १३, १५ र १६ औं होलमा शट बचाए । १४ र १८ औं होलको बोगीले ब्याकनाइन २ अन्डर ३२ मा सकेका थिए ।

रविले फ्रन्टनाइनमा लोभलाग्दो प्रदर्शन गरे । पहिलो र चौथो होलमा इगल प्रहार गर्दै चार शट बचाए । तेस्रो होलमा एक शट खेर फाले भने सातौं होलको बर्डीले फ्रन्टनाइन ४ अन्डर ३० मा सके । तर ब्याकनाइनमा उनले लय गुमाए । १४ देखि १६ औं होलमा लगातार तीन बोगी खेपेर ब्याकनाइन ३ ओभर ३७ मा पूरा गरे ।

समग्रमा १ ओभर १ सय ३७ सहित रामे मगर, नीरज तामाङ र भुवनकुमार रोक्का संयुक्त चौथो स्थानमा छन् । रामेले ४ अन्डर ६४ को उत्कृष्ट स्कोरसहित दिनको खेल टुंग्याए । नीरज र भुवनले इभन पार ६८ स्कोर गरे ।

जयराम श्रेष्ठ र सञ्जय लामा संयुक्त सातौं स्थानमा छन् । उनीहरूले समग्रमा २ ओभर १ सय ३८ को स्कोर बनाए । दुवैले इभन पार ६८ मा खेल सके ।

प्रोफेसनल कार्ड लिएपछि पहिलोपल्ट घरेलु टुर खेलिरहेका सुवास तामाङले १ अन्डर ६७ सहित समग्रमा ३ ओभर १ सय ३९ को स्कोर गरेका छन् । उनी नवौं स्थानमा रहे । समग्रमा ४ ओभर १ सय ४० सहित संयुक्त दसौं स्थान रहे । दुवैले २ ओभर ७० मा खेल सके ।

३६ होल समाप्तिमा १७ ओभर १ सय ५३ सम्म स्कोर गर्ने २२ प्रो र ४ एमेच्योर गल्फरले कट बनाएका छन् । प्रोतर्फ तोरणविक्रम शाही, टंकबहादुर कार्की, प्रदीपकुमार लामा, कृष्णमान राजबाहक, टासी घले, भीमसेन चौलागाई, वसन्तराज गुरुङ, रामकृष्ण श्रेष्ठ, पशुपति शर्मा, भूबहादुर गुरुङ र किसन कालीराज सुनारले अन्तिम ३६ होललाई स्थान पक्का गरे ।

एमेच्योरतर्फ टासी छिरिङ शीर्षस्थानमा रहेका छन् । समग्रमा २ ओभर १ सय ३८ सहित उनले सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् । टासीले बुधबार २ अन्डर ६६ को स्कोर निकाले । दाबेदार युवा गल्फर सद्भावले समग्रमा ३ ओभर १ सय ३९ स्कोर खडा गरे । सद्भावले १ अन्डर ६७ को कार्ड बनाए । राहुल विश्वकर्मा समग्रमा १० ओभर १ सय ४६ सहित तेस्रो स्थानमा रहे । उनले बुधबार इभन पार ६८ मा टुंग्याए । यी तीन एमेच्योरसँगै भरत थापामगरले कट बनाए ।

प्रकाशित : वैशाख १२, २०८१ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?