कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

दुई वर्षदेखि ‘लाइसेन्स’ वितरण ठप्प

भवानी भट्ट

कञ्चनपुर — बेलौरीका गोकर्णप्रसाद उपाध्यायले झण्डै एक वर्षअघि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणका लागि आवेदन दिएका थिए । राजस्व तिर्नेदेखि सबै प्रक्रिया पूरा गर्दा पनि उनले अझै सवारी चालक अनुमतिपत्र प्राप्त गरेका छैनन् ।

दुई वर्षदेखि ‘लाइसेन्स’ वितरण ठप्प

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरीबाट सोधपुछ गर्न यातायात व्यवस्था कार्यालय महेन्द्रनगर पुग्न उनलाई एक दिन पुरै लाग्छ । ‘एक वर्ष भयो अझै लाइसेन्स आएको छैन, मोटरसाइकल चलाउन समेत गाह्रो भएको छ,’ उपाध्यायले भने, ‘तीन/चार पटक त सोधपुछकै लागि आइसके ।’ सोधपुछकै लागि आउदा समेत नवीकरण भन्दा बढी खर्च भइसकेको उनले बताए ।

सवारी चालक अनुमतिपत्र नआएपछि यातायात कार्यालयले लाइसेन्सको विवरण प्रिन्ट गरेर दिने गरेको छ । त्यसकै आधारमा सवारी साधन चलाउन सकिन्छ । तर त्यो पनि च्यातिने गरेका कारण समस्या हुने गरेको छ । बेलडाँडी गाउँपालिका–५ का सीताराम रानाले ८ महिनाअघि लिखित र ट्रायल पास गरे । तर हालसम्म पनि लाइसेन्स पाउन सकेका छैनन् । उनी पनि उपाध्याय झैं नियमित रुपमा सोधपुछका लागि महेन्द्रनगर आउने गरेका छन् । ‘लिखित र ट्रायल पास गरेर पनि लाइसेन्स पाइएको छैन, आएकै छैन भन्छन्,’ बिहीबार लाइसेन्सबाट सोधपुछ गर्न यातायात कार्यालय पुगेका रानाले भने, ‘यातायात कार्यालयले पास गरेको विवरण कागजमै प्रिन्ट गरेर दिन्छ, तर ट्राफिक प्रहरीले कुनै बेला त्यसलाई नमानेर दु:ख दिन्छन् ।’

यातायात व्यवस्था कार्यालय महेन्द्रनगरबाट नयाँ तथा नविकरणका लागि सबै प्रक्रिया पूरा गरेका ६ हजार बढी सवारी चालक अनुमति पत्र आउन बांकी छ । दुई वर्षदेखि लाइसेन्स कार्ड प्रिन्ट हुन बांकी रहेको कार्यालयले जनाएको छ । ‘डिजिटल कार्ड सकिएका कारण नयाँ तथा नविकरण गर्नुपर्ने लाइसेन्स विभागबाटै आउन सकेको छैन,’ यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका निमित्त प्रमुख तारादत्त भट्टले भने, ‘विभागबाट कार्डकै अभाव भएका कारण लाइसेन्स प्रिन्ट हुन नसकेको जानकारी आउँछ ।’ उनका अनुसार ६ हजार बढीको लाइसेन्स नयाँ तथा नवीकरण गर्नुपर्ने भएकाले दिनहु १०/१५ जना सोधपुछ गर्न आउने गरेका छन् । अहिले लाइसेन्स दिन नसक्नु प्रमुख समस्या जस्तै भएको छ ।

लिखित र ट्रायल पास भएकालाई सुरुमा एक वर्षका लागि परीक्षणकालिन लाइसेन्स दिइन्छ । अहिले उक्त समयावधि सकिएकालाई पास भएको विवरण प्रिन्ट गरेर प्रमाणका रुपमा दिने गरेको भट्ट बताउँछन् । त्यो पनि च्यातिने गरेका कारण सेवाग्राहीलाई समस्या हुने गरेको छ । कार्यालयले अहिले पनि लाइसेन्सका लागि लिखित तथा ट्रायल लिने काम गरिरहेको छ । तर लाइसेन्स दिन नसक्दा भने सेवाग्राही नै मारमा परेका छन् । नियमित रुपमा लाइसेन्स वितरण गर्न सके केही सहज हुने भट्ट बताउँछन् ।

प्रकाशित : वैशाख २२, २०८१ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?