१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८१

सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति

अर्जुन शाह

धनगढी — एमालेले केन्द्रको निर्देशन नआएसम्म एकीकृत समाजवादीलाई समर्थन गर्न नसकिने जनाएपछि सुदूरपश्चिमको मुख्यमन्त्री चयन अन्योलमा परेको छ । सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व समाजवादीलाई दिने मंगलबार सहमति भए पनि एमालेले समर्थन नगर्दा सरकार गठन प्रक्रिया लम्बिएको हो ।

सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति

समाजवादीको बुधबारको सचिवालय बैठकले प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिसकेको छ । तर, एमालेले उनलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने र अर्को पठाउनुपर्ने अडान लिएको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पार्टीबाट स्पष्ट निर्देशन नआएसम्म समर्थन गर्न नसकिने बताए । ‘हालसम्म खाका तयार भएको छैन । बिहीबारसम्म दाबी पेस गर्ने समयभित्र के निर्देशन आउँछ, त्यही गर्छौं,’ उनले भने ।

यसअघि सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व नागरिक उन्मुक्ति र समाजवादीले आलोपालो गर्ने भन्ने थियो । तर, पहिला उन्मुक्तिले नेतृत्व गर्ने निर्णयमा असहमति जनाउँदै समाजवादीले सत्ता गठबन्धनविरुद्ध गएपछि हलचल भएको थियो । समाजवादीले कांग्रेस, राप्रपासँग सहकार्य गरेर नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

यसले केन्द्रीय गठबन्धनमै असर पर्ने भएपछि गठबन्धनका शीर्ष नेताहरू सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएका थिए । समझदारीपछि मंगलबार समाजवादीले चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो । उन्मुक्तिका चौधरीलाई मुख्यमन्त्रीको दाबी पेसमा समर्थन गरेको भन्दै एमाले असन्तुष्ट बनेको हो ।

मंगलबार उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले पनि एमाले, माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले दाबी गर्नेहरू एउटै दलका भएको कारण उल्लेख गर्दै बिहीबार साँझ ५ बजेसम्मको समय तोकेर संविधानको १६८ (२) अनुसार नै दाबी पेस गर्न फेरि आह्वान गरेका छन् ।

कांग्रेस र यसअघि मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर समूह कानुनी उपचारका लागि बिहीबार अदालत जाने तयारीमा रहेको कांग्रेस कैलाली सचिव नृप सुनारले बताए । ‘चार पार्टीका संसदीय दलका नेताहरूको हस्ताक्षरसहित स्पष्ट बहुमत लिएर लक्ष्मणकिशोर चौधरीले दाबी पेस गर्नुभएको हो । उहाँलाई नियुक्ति नदिनुपर्ने कुनै कारण नै थिएन,’ सुनारले भने, ‘हामी कानुनी उपचारमा जान्छौं ।’

प्रकाशित : वैशाख ६, २०८१ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?