कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

मौखिक आदेशमा छाडियो चिया

विराटनगर — भारतको वाणिज्य मन्त्रालयबाटै नेपाली चियालाई शतप्रतिशत जाँच्न परिपत्र गरेपछि पूर्वी नाका पार गरेर भारतको पानीट्यांकीमा रोकिएका करिब २० बढी चिया बोकेका गाडी भारतीय भन्सारले छाडेको छ ।

पश्चिम बंगालका भन्सार कमिस्नरको मौखिक आदेशपछि नेपाली चियालाई तत्काल साविककै अवस्थामा रेन्डम सेम्पलिङ गर्ने गरी छाडिएको मेची भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले जनाए । ‘यसबारे आधिकारिक परिपत्र भने आएको छैन’, रेग्मीले भने,‘ तर, तत्कालका लागि छाड्ने मौखिक आदेश भएको छ ।’

खासगरी पश्चिम बंगालमा शुक्रबार हुने चुनावका कारण अस्थायी रुपमा समस्या हल भएको देखिन्छ । स्थायी समाधान भने आधिकारिक परिपत्र पछि मात्रै हुने चिया उद्यमीहरुको भनाई छ । कोलकातास्थित नेपाली महावाणिज्यदुत ईश्वरराज पौडेलका अनुसार भारतको वाणिज्य मन्त्रालय नयाँ दिल्लीले नेपालसँग सीमा जोडिएका भन्सारहरुलाई हालै परिपत्र गरी सतप्रतिशत जाँचेर मात्रै नेपाली चिया आयात गर्न सम्बन्धित भन्सारहरुलाई आदेश दिइएको थियो ।

त्यो आदेश कार्यान्वयनका क्रममा नेपाली चिया सीमापारि रोकिएका थिए । उनका अनुसार विगतमा पनि भारतले परिपत्र गरेर नेपाली चियामाथि विभिन्न वहानामा अंकुश लगाउदै आएको देखिन्छ । विगतमा भारतीय भन्सारले नेपाली चियाको ५–२० प्रतिशत रेन्डम सेम्पलिङ गर्दै आएको थियो । तर, वाणिज्य मन्त्रालयको नयाँ परिपत्रले शतप्रतिशत परीक्षणको बुँदा राखेका कारण नेपाली चिया उद्यमीहरु चिन्तित थिए ।

दिल्लीस्थित नेपाली दुतावासका आर्थिक परामर्शदाता बद्री तिवारीका अनुसार नेपालबाट भारत निकासी हुने क्रममा भारततिर रोकिएका करिब १७ वटा चियावाहक ट्रकलाई भारतीय भन्सारले छाडेको बताए । उनले भने, ‘अब विना रोकटोक नेपाली चिया निर्यात हुन्छ ।’ कोलकातास्थित महावाणिज्य दुतावासले नेपाली चिया माथिको नयाँ समस्याका विषयमा दिल्लीस्थित नेपाली दुतावास, नेपालको परराष्ट्र, कृषि र वाणिज्य मन्त्रालयलाई जानकारी गराएको थियो ।

‘नयाँ सर्कुलर तत्काल कार्यान्वयन नगरी पुरानो सर्कुलरलाई नै यथास्थितिमा राखिदिनु पर्यो भन्ने हाम्रो माग थियो,’ पौडेलले थपे,‘तत्काल त्यही अनुसार गर्ने मौखिक आदेशमा भारतले चिया आयात जारी राखेको छ ।’ नेपाली चियामध्ये करिब ९२ प्रतिशत पूर्वी नाका प्रयोग गरेर भारत निर्यात हुने गरेको छ । ६ प्रतिशत जति विराटनगर र २ प्रतिशत वीरगञ्जबाट निर्यात हुन्छ ।

प्रकाशित : वैशाख १२, २०८१ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?