१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

इलाम-२ उपनिर्वाचन : फाकफोकथुमका दुः ख

इलाम — एमाले नेता सुवास नेम्वाङको अपराजित क्षेत्र हो, इलाम-२ । २०५६ सालदेखि नेम्वाङले निरन्तर जित्दै २ नम्बर क्षेत्रको फाकफोकथुम उनको 'किल्ला’ नै मानिन्छ ।

इलाम-२ उपनिर्वाचन : फाकफोकथुमका दुः ख

तर यहाँमा दुःखको खात छ । सडक, पानी, विजुली जस्ता पूर्वाधारहरु मात्रै हैन स्वास्थ्य र शिक्षा जस्ता अत्यावश्यक कुरामा पनि स्थानीयले पाउन सकेका छैनन् । भरपर्दो अस्पतालका लागि सर्वसाधारण सय किलो मिटर लामो कठीन यात्रा तय गरेर कि दमक झर्छन् कि त झन्डै त्यति नै लामो यात्रा गरेर सदरमुकाम इलाम पुग्छन् ।

गतिलो अस्पतालको अभावमा उपचार नपाएर अकालमा ज्यान गुमाएका बग्रेल्ती घटनाको अनुभव स्थानीयवासीसँग ताजै छ । स्थानीय रघुनाथ मैनालीले सुनाए,‘बाटोमा गाडी गुड्न नसक्दा १५ किलोमिटर डोलीमा बोकेर अनि गाडीमा राखेर उपचारका लागि विरामीलाई अस्पताल पुर्याइएको छ ।’

इलाम–राँके सडकको कालो पत्रे छिचोलेर देब्रे ओर्लिएपछि सुरु हुन्छ, फाकफोकथुम गाउँपालिकाको दुःखको कथा ।

राँके –रवि सडकको अवस्था अहिले पनि टिठलाग्दो छ । फाकफोकथुम-६ देउरालीका लीला फ'याल आक्रोसित भावमा सुनाउँछन्,‘यो बाटो अब बन्ने आशा छैन, हामीले माया मारिसक्यौ ।’

खासमा विगतमा यो बाटो धेरै राम्रो थियो । २०४५ सालताका ढुंगा बिछ्याएर बाटो बनाइएको थियो । २०५७–२०५८ मा त धुलो उठाउँदै राँके–रवि बस नै गुड्थ्यो । ‘पहिला भन्दा बेहाल पारेर सडक छाडिएको छ’, फुयालले भने,‘हिउँदमा धुलोले समस्या, बर्खामा हिलोले ।’

४ वर्ष अघि राँके–रवि–भेडेटारसम्मको करिब १ सय २ किलोमिटर सडक विस्तार गर्ने योजना अघि आयो । एउटा भारतीय कम्पनीले निर्माण ठेक्का पनि लियो । तर, पछि काम अलपत्र पारेर ठेकेदार कम्पनी वेपत्ता भएको स्थानीय होटल व्यवसायी तुलसा फुयालले बताइन् ।

‘अहिले ठाउँ–ठाउँ खनेर भिर पहरा भत्काएर छाडिएको छ’, फुयालले गुनासो पोखिन्,‘ बाटो कहिले बनिसक्ला भनेर हामी पर्खिरहेका छौ ।’

२०५६ साल यता जो जो उम्मेदवार भएर यो क्षेत्रमा आए तिनले ‘वर्ष दिनभित्रै’ बाटो बनाउने आश्वासनको पोको बाँडे । तर, त्यो वर्ष दिन अहिलेसम्म नआएको दुखेसो अर्का स्थानीय जीतबहादुर थापाको छ । ‘नेताहरु भोट माग्ने बेलामा चाहिँ आजै गर्छु अहिले नै सक्छु भन्दा रहेछन्’, थापाले अनुभव साटे,‘तर, चुनाव जितेपछि बाचा कसम भुलिहाल्ने रहेछन् ।’

फाकफोकथुम-६ मा सुकुम्बासी समस्या पनि पेचिलो छ । करिब दर्शन बढी घर पूर्जाविहीन छन् । पूर्जा पाउने आशमा बसेको वर्षौं भएको उनीहरुको दुखेसो छ । ‘पूर्जा दिन्छु भनेको २०७४ कै निर्वाचनमा हो’, फुयालले भने,‘अहिलेसम्म पाइएको छैन ।’

देउराली चोकबाट देब्रे लागेपछि सुरु हुन्छ अर्को सडकको उस्तै व्यथा । देउराली–फँलाटे–गजुरमुखीसम्मको करिब साढे २६ किलो मिटर सडकको दुरावस्था राँके–रवि सडकको भन्दा भिन्न छैन । सडकमा केही श्रमिकहरु नाला बनाइरहेका देखिए । उनीहरुले काम सुरु गरेको पनि भर्खरैदेखि रहेछ । यो सडक निर्माण सुरु भएको पनि दशक नाघ्यो । पछिल्लो ठेक्का सम्झौता गत २०७६ मा भएको थियो । २०७९ असारमा काम सक्नु पर्ने सम्झौता थियो तर निर्माण कम्पनी रोशन–विष्णु जेभी काठमाडौले समयमा काम सक्नुको साटो लठिभद्र पारेर छाडेको छ ।

फाकफोकथुम ७ एकतप्पाका युवा प्रकाश परियारका अनुसार यो पालिकामा कृषि उत्पादनको अथाह सम्भावना छ । तर, गतिलो सडक नहुँदा उत्पादित कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्‍याउन सकिएको छैन । यहाँको उत्पादन इलाम सदरमुकाम र झापाको दमकसम्म पुर्‍याएर बिक्री गर्न सक्दा किसानहरुले मनग्ये आम्दानी गर्न सक्ने उनी बताउँछन् । ‘तर, सडक अभावले हाम्रा उत्पादन बारीमै कुहिरहेका छन्’, उनले भने ।

हिउँदमा जसोतसो सडक हिँड्न सकिने तर वर्खायाममा हिँड्नै गार्‍हो हुने उनी बताउँछन् । उनी भन्छन्,‘समयमा सडक नबन्दा विरामीलाई अस्पतालसम्म पुर्‍याउन पनि गाह्रो हुने गरेको छ ।’ जुन गतिमा विकास हुनु पर्थ्यो त्यो गति ज्यादै सुस्त रहेको परियार बताउँछन् ।

यहाँ दुःखको भीमकाय पहाड छ । जसका कारण सुख खोज्दै स्थानीयहरु वर्षेनी बसाइँ सर्न बाध्य छन् । खासगरी झापाको दमक, विर्तामोड र केही इलाम सदरमुकाम क्षेत्रमा बसाइँ सरिरहेका छन् । ‘बसाइँ सराईका बढ्दो श्रृंखलाले एक दिन गाउँ नै रित्तिने पो हो कि ! भन्ने चिन्ता बढ्न थालेको छ’, स्थानीय सरस्वती राईले भनिन्,‘बसाइँ सराई रोक्न गाउँमा विकास, युवामा रोजगारीको ग्यारेन्टी जरुरी छ ।’

इलाम सदरमुकाम देखि करिब ६० किलो मिटर पश्चिमको फाकफोकथुम गाउँपालिकाको जनसंख्या करिब २० हजार हाराहारी छ । लिम्बु जाति वाहुल्य पालिका जडिबुटी तथा कृषि उपज उत्पादनको लागि प्रख्यात मानिन्छ । तर, यहाँ खानेपानीको भने वर्षौदेखिको समस्या सुल्झनुको साटो झन् बढ्दो छ ।

फाकफोकथुमको केन्द्र रहेको वडा नम्वर ३ आमचोकका स्थानीय भजिन्द्र लामिछानेले आमचोकका सयौं स्थानीय खोल्साको पानी पिउन बाध्य रहेको तीतो सुनाए । ‘पानी नपर्दा त ठीकै छ, पानी पर्दा खोल्सो धमिलिन्छ’, उनले थपे,‘वर्षौदेखि त्यही फोहोर पानी पिएर बाँच्नु परेको छ ।’

लामिछानेका अनुसार आमचोकबासीको सबैभन्दा ठूलो समस्या नै पानीको समस्या हो । उनी भन्छन्,‘हामीलाई बरु बाटो नभए पनि हुन्छ, शुद्ध पानी चाहिँ खान पाउनु पर्यो ।’

फाकफोकथुममा २०७९ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष सहित कार्यपालिकामा बहुमत सदस्य एमालेका छन् । ७ मध्ये ३ वडा एमाले जितेको छ । करिब १६ हजार मतदाता रहेको यो पालिकामा गत वर्ष ११ हजार मत खस्दा अध्यक्षमा एमालेका दिपेन्द्र खनालले ५ हजार ३ सय मत पाएका थिए । कांग्रेसका उम्मेद्वारले ४ हजार ८ सयमा चित्त बुझाएका थिए । २०७४ मा नेपाली कांग्रेसले अध्यक्षमा र एमालेले उपाध्यक्षमा बाजी मारेको थियो ।

प्रकाशित : वैशाख १२, २०८१ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?