कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

इपिसेन्टर बारपाकका ९ वर्ष

हरिराम उप्रेती

गोरखा — बारपाकका कृष्ण गुरुङ ९ वर्षअघि कोटडाँडामा टहलिँदै थिए । एक्कासि जमिन थर्कियो, घरहरू भत्कन थाले, आकाश धुलाम्मे भयो ।  ‘सुरुमा त के नै हुन लाग्यो भनेर अलमलमा परेँ, घर जान पर्यो भनेर दौडिएको, बाटोभीर घर लडेर आफ्नै घर पुग्न सकिनँ,’ ९ वर्षअघि गएको भूकम्प सम्झँदै गुरुङ भन्छन्,‘एक मिनेटभन्दा बढी समय जमिन हल्लिँदा देखेजति सबै घरहरु भत्किए ।’

२०७२ वैशाख १२ भूकम्पले गुजुमुज्ज बस्तीको गाउँ बारपाक एकै मिनेटमा ध्वस्त भयो । ढुङ्गाको गाह्रो, ढुङ्गाकै छाना भएका एकनासे घर भएको बस्तीका ७२ जनाले ज्यान गुमाए । २०७२ वैशाख १२ को भूकम्प गएको ९ वर्ष पूरा भएको छ । बुधबार यही छेकोमा बारपाकमा नवौं भूकम्प स्मृति दिवसमनाइयो । भूकम्पमा परि दिवंगत भएकाहरूको सम्मान तथा सम्झनामा बारपाक सुलिकोट गाउँपालिकाले बुधबार बिदासमेत दियो ।

९ वर्षको अवधिमा बारपाकमा अधिकांश निजी संरचनाहरू पुनः ठडिएका छन् । वडाको नयाँ भवन बनेको छ । विद्यालय, प्रहरी चौकीको पुनर्निर्माण भएको छ । केन्द्रविन्दु बारपाकमा निर्माण सुरु भएको भूकम्प स्मृति स्तम्भको काम भने अन्तिम चरणमा पुगेर रोकिएको छ । २०७२ वैशाख १२ को भूकम्पमा दिवगंत भएकाहरूको नाम स्मृति स्तभ्भमा लेख्ने योजना बनाइए पनि नाम प्राप्त नहुँदा काम रोकिएको हो । भूकम्प प्रभावित १४ जिल्लाका दिवंगत भएकाहरूको नाम लेख्ने गरी इस्टिमेट तयार भएको छ ।

२०७२ वैशाख १२ गते शनिबार ११.५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.८ रेक्टर स्केलको गोरखासहित १४ जिल्ला अति प्रभावित बनेको थियो । भूकम्पले गोरखामा मात्र ४ सय ७२ जनाले ज्यान गुमाए, करिब १ हजार जना घाइते भए । जिल्लाका अधिकांश सरकारी र निजी संरचनामा पूर्ण वा आंशिक क्षति पुगेको थियो । जिल्लामा भूकम्पले भत्काएका झन्डै ७० हजार निजी आवास पुनर्निर्माण भएको छ ।

प्रकाशित : वैशाख १२, २०८१ १८:००
प्रतिक्रिया
पठाउनुहोस्