कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सहज औद्योगिक वातावरण जरुरी

पाठक पत्र

आगामी साता सञ्चालन हुने लगानी सम्मेलनमा ५२ देशका ६ सय ३४ लगानीकर्ता सहभागी हुने विषयलाई सकारात्मक सन्दर्भ मान्नुपर्छ । विकसित मुलुक मात्र नभई कम चर्चामा आउने स–साना देशका लगानीकर्ता पनि यो सम्मेलनप्रति आकर्षित देखिएका छन् । यता कम लगानीमा गुणस्तरीय उत्पादनका साथै निर्माणमा विश्वचर्चित बनेका चीन र भारतबाट क्रमशः २६५ र १४३ जना सहभागी हुने विषय उत्तिकै महत्त्वपूर्ण छ ।

सहज औद्योगिक वातावरण जरुरी

पछिल्लो समय अधिकांश मुलुक औद्योगिक उत्पादन, निर्माणलगायत सबै गतिविधिमा प्रतिस्पर्धी बन्दै गएको स्थितिमा चीन र भारतको लगानीप्रति आकर्षण बढ्नुलाई उपयुक्त मान्नुपर्छ । नेपालमा लगानीकर्तासँग जोडिएका जटिलता भने हामीले बिर्सनु हुँदैन । उद्योग दर्ता, सञ्चालनका निम्ति एकद्वार प्रणाली लागू गर्ने कुरा गफमै सीमित हुनु, उद्योग व्यवसायी महिनौंसम्म हन्डर खाँदै दसतिर धाउन बाध्य हुनु, एउटै संस्थाभित्र पनि फाइल बोक्दै चोटाकोठा नचाहारी सुख नपाउनु लगानीकर्तासँग जोडिएका समस्या हुन् ।

कामदारसँग गाँसिएका अप्ठ्याराहरू पनि गनेर साध्य छैन । एकातिर मुलुकभित्र दक्ष कामदारको अभाव हुँदा कतिपय ठूला बहुराष्ट्रिय कम्पनीहरूले आफ्नै देशका कामदार ल्याएर उद्योग, विकास कार्य सञ्चालन गरेको अवस्था छ भने अर्कातिर विभिन्न राजनीतिक दलसँग आबद्ध ट्रेड युनियनहरूले अनेकथरी माग राखेर उद्योग सञ्चालन हुन नदिने, मानवअधिकारवादीको लहलहैमा लागेर हंगामा खडा गर्ने कुप्रवृत्ति विकासका बाधक बन्दै आएका छन् ।

यतिबेला तराईमा सञ्चालित सबैजसो उद्योगधन्दा भारतीय कामदारले भरिएका छन् भने अन्यत्र पनि भारतीय र बंगलादेशी मजदुरले कब्जा जमाएका छन् । लगानीको सन्दर्भ केलाउँदा अर्बौं रुपैयाँ खर्च गरी बनाइएका दुई अन्तर्राष्ट्रिय विमानस्थलहरूले मुलुकलाई ऋणको दलदलमा फसाएको, कमिसनको लेनदेनमा कुरा नमिल्दा मेलम्ची खानेपानी आयोजनाका विदेशी सीईओलाई निर्माण सम्पन्न नहुँदै लखेटिएको, ठेकेदारसँगको मिलेमतोमा अनगिन्ती निर्माणकार्य क्षतविक्षत पारेको तितो यथार्थ पनि हामी बिर्सन सक्दैनौं ।

मुलुकको मौलिकता नमेटिने, वातावरणीय विनाश नहुने किसिमका आयोजना छनोट गरी प्रत्यक्ष लगानीलाई प्राथमिकता दिने हो भने लगानीकर्ता आकर्षित हुनुका साथै सम्मेलन उपलब्धिमूलक बन्ने निश्चित छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : वैशाख १४, २०८१ ०४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?