कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

‘कम्तीमा एउटा सुविधा सम्पन्न रंगशाला नभई भएको छैन’

‘एक-दुई प्रतियोगिता हार्दैमा कप्तान परिवर्तन गर्ने, प्रशिक्षक फेर्ने कुरा गर्नु हुँदैन । यो टिमलाई धेरै चलाउनै भएन ।’
‘जित्दा सबै पाइयो, हार्दा सबै गुम्यो भन्ने ढंगले नेपाली क्रिकेटलाई हेर्नु हुँदैन ।’
‘अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा लगानी गरिरहेका समूह आकर्षित भइरहेका छन् । सरकारले स्वीकृति दिने हो भने उनीहरू यहाँ लगानी गर्न इच्छुक छन् ।’

काठमाडौँ — दुई दशक खेलाडीका रूपमा मैदानमा बिताएका पारस खड्का हाल नेपाली क्रिकेटको माथिल्लो निकाय क्यानको सचिव छन् । लगातारको घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता/शृंखलाले ७ महिनायता नेपाली क्रिकेटमा निकै चहलपहल ल्याएको छ ।  नेपालले दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न एक महिनामात्र बाँकी छ ।

‘कम्तीमा एउटा सुविधा सम्पन्न रंगशाला नभई भएको छैन’

नेपालको विश्वकप तयारी, क्रिकेटको पूर्वाधार र भावी योजना तथा कार्यक्रमबारे राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका पारस खड्कासँग कान्तिपुरका लागि विनोद पाण्डेईश्वरी ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली राष्ट्रिय टिमको पछिल्ला प्रदर्शनबाट सन्तुष्ट हुनुहुन्छ ?

शनिबार वेस्ट इन्डिज ‘ए’ टिमसँग नेपालले खेलेको बर्खाअघिको हाम्रो क्यालेन्डरको अन्तिम अन्तर्राष्ट्रिय खेल हो । ट्वान्टी–२० विश्वकप तयारीकै लागि नेपालले ५ खेल खेलेको हो । यसअघि नेपालले नेदरल्यान्ड्स, नामिबिया र आयरल्यान्डसँग यस किसिमको खेल खेलिसकेको छ । विश्वकप तयारीका लागि अहिलेसम्म नेपाली खेलाडीले धेरै राम्रो प्रदर्शन गरिरहेका छन् । कुनै प्रतियोगितामा छनोट भयो कि भएन भन्ने भन्दा पनि सारमा नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रदर्शन धेरै राम्रो छ ।

नेपालले ट्वान्टी–२० क्रिकेट खेल्न सुरु गरेको ७ वर्षपछि सन् २०१४ मा विश्वकप खेलेको थियो, त्यसको १० वर्षपछि फेरि ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न जाँदै छ, कस्तो नतिजाको अपेक्षा गर्नुभएको छ ?

२०१४ मा विश्वकप क्रिकेटमा पुग्नु अन्तिम जस्तै थियो । हाम्रा लागि त्यो पिक थियो । विश्वकप खेलेको एक महिनापछि विवादहरू सतहमा आए । तर, अहिले फरक छ । नेपाली क्रिकेटको संरचना र ग्रोथ यो स्तरभन्दा माथि लैजाने हो भने पारस खड्काको एक्लो प्रयासले मात्रै केही हुँदैन । यसमा सोच, विचार र नीति तहमै धेरै कुरा हुनुपर्‍यो ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

पद भनेको अस्थायी कुरा हो । नेपाली क्रिकेट टिममा म पहिला खेलाडी थिएँ, अहिले एउटा पदमा पुगेको छु । हामीभन्दा अघिको पुस्ताले गरेको योगदान र लगानीले नै नेपाली क्रिकेटलाई आजको अवस्थामा पुर्‍याएको हो । यसले के देखाउँछ भने उपयुक्त मानिस नेतृत्वमा आउँदा असम्भव कुरा पनि सम्भव हुन्छ । तसर्थ, उपयुक्त मानिस उपयुक्त पदमा रहँदा नै क्रिकेटले पनि सफलता पाउने हो । अब क्रिकेट संघको मानसिकता पनि काममै केन्द्रित हुनुपर्‍यो । काम गरेर मन जित्न सक्यो भने जिम्मेवारी पाउने हो । यसका लागि जिल्ला हुँदै प्रदेश तहको संरचना पनि बलियो बनाउनुपर्‍यो ।

क्रिकेट संघभित्रको आन्तरिक खिचातानीलाई अन्त्य गर्नु जरुरी छ । चाहेर नचाहेर पनि म अहिले टार्गेट भइरहेको छु । किनभने, जवाफदेही ठाउँमा छु । मेरो सबैसँग विनम्र अनुरोध पनि छ, मेराबारेमा कसैलाई शंका छ भने मलाई सोध्न सक्नुहुन्छ । म मात्रै होइन, सबै पदाधिकारी जवाफदेही र उत्तरदायी हुनुपर्छ । २०१४ मा पुबुदु दासानायकेको प्रशिक्षणमा हामीले विश्वकपका लागि तयारी पनि राम्रै गरेका थियौं । त्यसक्रममै सुवास खकुरेल, शरद भेषावकर, म आफैं पनि घाइते भयौं । म त खेल्नु र नखेल्नु बराबरजस्तै थियो । त्यसपछि पृथु बाँस्कोटा घाइते भए । त्यसले पनि त्यो प्रतियोगिता सोचेजस्तो भएन ।

पहिले खेलाडीलाई धर्मशालामा राखिन्थ्यो, अहिले पाँचतारे होटलमा राखिन्छ । त्यो पनि भ्रम हो । खेलाडीको घर नै पाँचतारेसरह हुनुपर्छ, त्यो दिन मात्र क्रिकेटले साँच्चिकै विकास गरेको मानिनेछ ।

बंगलादेश पुगेर हामीले विश्वकप त खेल्यौं, त्यसपछि के गर्ने भन्ने अन्योल थियो । म पनि कप्तानी छोड्ने मनस्थितिमा पुगेको थिएँ । क्यान (नेपाल क्रिकेट संघ) को आन्तरिक राजनीतिले पनि केही अप्ठ्यारो पारिरहेको थियो । हामीले त्यहाँसम्म पुग्न धेरै ‘सेक्रिफाइस’ गरेका थियौं, चुनौती र अप्ठ्याराहरू पार गर्दै त्यहाँसम्म पुगेका थियौं । मिहिनेत गर्दा राम्रै फल मिल्छ भन्ने कुरा पनि हामीले देखाएका थियौं । त्यसपछि नेपाल सरकारका तर्फबाट नेपाली क्रिकेटलाई हेर्ने दृष्टिकोणमै पनि परिवर्तन आयो ।

विश्वकपअघि अमेरिका र वेस्टइन्डिजमा हुने पूर्वाभ्यासको तयारी कस्तो भइरहेको छ ?

क्रिकेटको कोणबाट एउटा कुरा बुझ्नुपर्छ, पहिले गएको ठाउँमा गएर खेल्दा र जाँदै नगएको ठाउँमा गएर खेल्दा धेरै फरक पर्छ । नयाँ बाटो हिँड्दा पहिलो पटक हराएको जस्तै हो । सुरुमा हामी अमेरिकाको मियामी जाँदै छौं । फ्लोरिडामा श्रीलंकासँग पहिलो म्याच हुनेछ । नेपालका चारमध्ये तीनवटा दिवा–रात्रिकालीन खेल छन् । फ्लडलाइटमा खेल्नुपर्नेछ । त्यसैको तयारीस्वरूप मियामीमा हामीले अभ्यास गर्नेछौं । त्यसपछि अभ्यासका लागि वेस्ट इन्डिज जान्छौं र नेपालले विश्वकपमा बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध खेल्ने स्थलमै एक साता प्रशिक्षण गरेर अमेरिका फर्कन्छौं ।

अनि फेरि विश्वकपका लागि तयारी गर्नेछौं । नेपाली टिमको आत्मविश्वास पनि उच्च छ । विश्वकपमा राम्रो प्रदर्शन गर्‍यो भने हाम्रो क्रिकेट टिम सगरमाथामा पुग्ने र नभए खस्किएर पाताल नै पुग्ने भन्ने सोच नै गलत छ । यस्तो मान्यताबाट हामी माथि उठ्नैपर्छ । टिम बलियो बनाउनुपर्‍यो । यसका लागि जिल्ला र प्रदेश तहमा लगानी गर्नुपर्‍यो । हार्नका लागि खेल्ने होइन, तर हार्दा सबै सकियो भन्ने पनि हुँदैन । बलियो संरचना बनायौं भने दुई–चार खेल हार्दैमा आकाश खस्दैन । अहिलेको हाम्रो टिम धेरै नै राम्रो छ । यसलाई बाहिरी प्रभावबाट मुक्त राख्नुपर्‍यो । एक–दुई प्रतियोगिता हार्दैमा कप्तान परिवर्तन गर्ने, प्रशिक्षक फेर्ने कुरा गर्नु हुँदैन । यो टिमलाई धेरै चलाउनै भएन । टिम हार्दा र जित्दा रिपोर्ट तयार गर्नुपर्‍यो । खेलाडीले टिममा बस्दा सुरक्षित महसुस गर्नुपर्‍यो ।

क्रिकेट टिम हार्‍यो र जित्यो भने सामाजिक सञ्जालमा गाली र प्रशंसाको वर्षा नै हुन्छ । यसबाट कहिले नेपाली फ्यान माथि उठ्लान् ?

एउटा स्टेज पार गरेर यो टिम भर्खर यहाँसम्म आइपुगेको छ । यसको उत्साहलाई बढाउनुपर्छ । एउटा प्रतियोगिता र इभेन्ट हार्दैमा सबै सकियो, गुम्यो भन्ने सोच गलत हो । हाम्रो सोचाइ यसभन्दा माथि जानुपर्‍यो । अब जित र हारले मात्रै नेपाली क्रिकेट अघि बढ्यो र पछाडि पर्‍यो भन्ने स्थितिबाट हामी माथि उठ्नुपर्छ । यस्तो मानसिकता बोकेर हिँड्यौं भने हामी कहीं पनि पुग्दैनौं । अहिलेको हाम्रो प्राथमिकता यस टिमलाई कसरी बलियो बनाउने भन्नेमा हुनुपर्छ । हाम्रो अबको सोच नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेमै केन्द्रित हुन जरुरी छ ।

तपाईं हालै अमेरिका जानुभएको थियो । नेपाली टिम खेल्न आउँदै छ भनेर नेपाली डायस्पोरा कत्तिको उत्साही पाउनुभयो ?

एकदमै उत्साही भएको पाएँ । टिकट र जर्सीको उच्च माग छ । डलासको पहिलो म्याचका लागि निकै उत्साह छ । त्यहाँ नेपाली डायस्पोरा ठूलो छ । फ्लोरिडामा हुने श्रीलंकासँगको म्याचको टिकट पनि निकै माग छ । थुप्रै नेपाली खेल हेर्न जाँदै छन् । यो साँच्चिकै उत्सव हो नेपाली क्रिकेटका लागि । समग्रमा क्यानको सचिवका रूपमा यो सबै देख्दा निकै खुसी छु । मुख्य कुरा यो उत्साहबाट नेपालको क्रिकेटमा कसरी संरचनागत सुधार गर्ने महत्त्वपूर्ण हो । यसका लागि केही समय लाग्ला त्यसका लागि काम गरिरहेका छौं ।

क्यानको जिम्मेवार पदाधिकारीसँगै राष्ट्रिय टिमको पूर्वकप्तान भएका हिसाबले पनि विश्वकपमा नेपाली टिमको कस्तो परिणाम अपेक्षा गर्नुभएको छ ?

म अहिले नै खुसी छु । नेपालले विश्वकप खेल्दै छ । त्यो नै ठूलो हो । खेलाडीका रूपमा पनि अपेक्षा अरूका लागि राख्ने बानी थियो । कप्तानका रूपमा पनि । अरूबाट अपेक्षा राख्थें राम्रो खेलको । तर, अहिले कुनै पनि अपेक्षा छैन । नेपाली टिमले आफूले सक्दो राम्रो खेल्नेछ भन्नेमा विश्वस्त छु । अपेक्षा राख्नका लागि त्यस अनुसारको वातावरण दिनुपर्छ । नेपालले राम्रो खेलोस् भन्ने इच्छाचाहिँ छ ।

सहयोग र वातावरणको विषयमा हामी भर्खर बामे सर्दै छौं । बल्ल मासिक एक लाख तलबको सम्झौता गरेका छौं । त्यो पनि क्रिकेट खेल्न नछाडून् भनेर एउटा सपोर्ट सिस्टम बनाएको हो । अहिलेलाई खेलाडीले देशका लागि खेलिदिऊन् र देशका लागि जित्ने प्रयास गरिदिऊन् भन्ने मात्र हो । र, टिमभित्र बसेर टिमलाई जिताउने प्रयास गरून् भन्ने हो । नतिजा के आउँछ भन्ने महत्त्वपूर्ण होइन । राम्रो नतिजा आयो भने पक्कै पनि सबै खुसी हुनुहुन्छ । वास्तवमै नतिजा आउन केही समय लाग्छ ।

पुरुष टिमलाई प्राथमिकता दिइरहँदा कतै महिला टिमलाई बेवास्ता त गरिरहेका छैनौं ? पुरुष टिमको प्रिमियर लिगको तयारी भइरहेको छ, महिलाका लागि त्यस्तो केही चर्चा भइरहेको छैन नि ?

महिला क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्नेछ । भइदियो के भने, यस वर्ष विश्वकप हाम्रो उच्च प्राथमिकतामै रह्यो । महिला क्रिकेटलाई हामीले पन्छाउनै मिल्दैन । महिला क्रिकेटमा राम्रो गर्न सकेनौं, प्राथमिकतामा राखेनौं भने भोलि आईसीसीबाट आउने सहयोग र भविष्यमा आईसीसीको पूर्ण सदस्य बन्ने लक्ष्यमा पनि ठूलो बाधा पुग्नेछ ।

त्यसैले पनि महिला क्रिकेटलाई प्राथमिकतामा नराखी सुखै छैन । महिला क्रिकेट छ भन्ने मात्र भएको छ । महिलाको प्रिमियर लिग पनि सुरु गर्ने कार्यक्रम छ । मेयर कप चाँडै नै गर्दै छौं । एउटा अन्तर्राष्ट्रिय शृंखला पनि पाइपलाइनमा छ र त्यो नेपालमा खेल्दै छौं । एसिया कपमा सहभागी हुँदै छौं । अन्य टुर पनि छ । सेप्टेम्बर र अक्टोबरमा नेपाली महिला टिम धेरैजसो विदेश टुरमै हुनेछ । विदेशी टिमलाई पनि प्राथमिकतामा राखेर यहाँ बोलाउँदै छौं ।

सन् २०२७ मा नेपालले यू–१९ महिला विश्वकप आयोजना गर्दै छ । पूर्वाधार र टिम तयारीका हिसाबले त्यसको तयारी कस्तो छ ?

मलाई त्यतिबेलासम्म पूर्वाधार तयार हुन्छ भन्ने लाग्छ । बनाउनै पनि पर्नेछ, समय घर्किरहेको छ । यो त विश्वलाई देखाउने अवसर पनि हो । मलाई लाग्छ आगामी वर्षको बजेटमा सरकारले मूलपानी मैदानका लागि राम्रो बजेट बिनियोजन गर्दै छ । राष्ट्रिय गौरवको आयोजनामा पनि परेको छ । सँगै चितवनको रंगशालाका लागि भरतपुर महानगरले पनि टेन्डर निकालिसकेको छ ।

अब कीर्तिपुरको फ्लडलाइट जडानको काम पनि चाँडै होला भन्ने विश्वास छ । तल्लो र माथिल्लो मूलपानी, कीर्तिपुर र चितवन गरेर कम्तीमा चारवटा रंगशाला तयार हुनेछन् । त्यो भयो भने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न कुनै समस्या नहोला । सँगसँगै अर्को सम्भावना भएको ठाउँ भनेको पोखरा हो । रूपन्देहीमा पनि सिद्धार्थ रंगशाला र निजी क्षेत्रबाट बनेको समेत दुईवटा ग्राउन्ड तयार छन् ।

प्रधानमन्त्रीले तीन–तीन पटक सिधै निर्देशन दिँदा पनि फ्लडलाइटको टेन्डर प्रक्रिया पूरा हुन सकेको छैन । खासमा राज्यको प्राथमिकतामै खेलकुद क्षेत्र पर्न सकेको छैन ।

सबैमा उत्साह छ, तर, प्रतियोगिता सुरु भएपछि मात्र तयारी गर्ने भन्ने मानसिकता छ । जिल्ला वा केन्द्रमा जहाँ भए पनि हरेक दिन तयारी हुनुपर्छ । त्यसै अनुसारको योजना हुनुपर्छ । क्यानको आफ्नै सीमा छ । भएको बजेटलाई सबैलाई बराबरी हिसाबले दिनुपर्ने हुन्छ । पूर्वाधार विकासका लागि हरेक दिन सबै तहका सरकारलाई झकझकाउनुपर्नेछ । यसका लागि एउटा विशेष टिम बनाउनुपर्ने देख्छु । जसले विश्वकपका लागि आवश्यक पूर्वाधार तयारीमा काम गरोस् ।

आयोजकका हिसाबले विश्वकपका लागि टिम पनि बलियो नै हुनुपर्ला । त्यसका लागि अहिलेदेखि नै यू–१४, १६, १९ को टिम तयार गर्नुपर्ला । अब त तीन वर्ष मात्र बाँकी छ नि ?

पुरुषको स्कुलस्तरीय राष्ट्रिय प्रतियोगिता घोषणा गर्दै छौं । महिलाका लागि यू–१६ को एउटा प्रतियोगिताको खाकाचाहिँ तयार भएको छ । मुख्य कुरा कामको बाँडफाँट हो । क्यानको अध्यक्ष र सचिवले मात्र काम गर्नेभन्दा पनि नेपालको क्रिकेटमा साँच्चिकै परिवर्तन खोज्ने हो भने सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । महिला क्रिकेट अलि उपेक्षामा परेको यथार्थ हो । त्यो भन्दैमा अब प्राथमिकतामा नपर्ने भन्ने होइन ।

अहिले नै ठ्याक्क यही नै योजना छ भन्नेचाहिँ छैन । तर, मुख्य स्कुल स्तरबाटै प्रतिभाहरू पहिचान गर्नुपर्नेछ । अहिले चाहिँ यू–१६ को प्रतियोगिताबाट देशभरबाटै ट्यालेन्ट हन्ट गर्ने योजना छ । प्रतियोगिताबाट आउने ४०–५० जनालाई तीन वर्षको कार्यक्रम राखेर पर्याप्त प्रशिक्षण दियौं भने विश्वकपमा प्रतिस्पर्धा गर्न सक्ने टिम तयार हुनेछ भन्ने मेरो विश्वास छ । थाइल्यान्डले ३०–४० जना राम्रा प्रतिभा छानेर तयारी गर्‍यो । अहिले त्यसको नतिजास्वरूप महिला टिम शून्यबाट सयमा पुगेको छ । त्यसैले थाइल्यान्डबाट हामीले सिक्न सक्छौं ।

गतवर्ष जिम्बावेको ‘ए’ टिम आएको थियो । यो वर्ष आयरल्यान्ड ‘ए’, वेस्ट इन्डिज ‘ए’ आए । भविष्यमा टेस्ट खेल्ने मुलुकहरूलाई नेपालको मैदानमा खेलेको हेर्न पाउँछौं ?

त्यसमा मलाई पूरै विश्वास छ । त्यसका लागि आवश्यक समन्वय भइरहेको छ । क्यानमा आउनासाथ मलाई पहिलो प्रश्न नै त्यही थियो– कहिले आउँछ टेस्ट टिम ? टेस्ट टिम ल्याउनका लागि एक/डेढ वर्षदेखि नै समन्वय गर्नुपर्छ । टेस्ट राष्ट्रमध्ये नयाँ आउलान्, जस्तैः आयरल्यान्ड, अफगानिस्तान । तर, त्योसँगै हामीले पूर्वाधारमा पनि ध्यान दिनु आवश्यक छ । त्यही भएर पनि नेपाल सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्नेछ । न्युजिल्यान्डको जस्तो पूर्वाधार किन भएन भनिन्छ । पूर्वाधारसँगै अन्य क्रिकेटको वातावरण पनि चाहिन्छ । जस्तैः दर्शकहरूको व्यवहार । हुन त अहिले दर्शकहरू निकै संयमित हुनुभएको छ । सरकारले पनि बजेटमा सहयोग गर्ने हो भने टेस्ट राष्ट्रलाई आतिथ्य गर्ने दिन धेरै टाढा छ जस्तो लाग्दैन ।

दक्षिण एसिया क्रिकेटकै पावर हाउस हो । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासँग विभिन्न क्षेत्रमा सहकार्य र साझेदारीको कुरा हुने गरेको छ । तर, केही अपवादबाहेक क्रिकेटका विषय खासै उठ्ने गरेको छैन । क्यानको वर्तमान नेतृत्वले यो सम्भावनालाई कसरी हेरेको छ ? राजनीतिक नेतृत्वसँग यस विषयमा कुराकानी भएको छ कि छैन ?

भारतका विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउनुअघि नेपालको क्रिकेट टिमसँग भेट्न चाहनुहुन्छ भन्ने खबर आयो । त्यसले निकै उत्साहित बनायो । त्यसपछि म आफैं एसीसीको साधारणसभामा गएँ । त्यहाँ जय शाहसँग भेट भयो । त्यसपछि भारतीय दूतावासमार्फत बीसीसीआईसँग सम्पर्क भयो । निकै सकारात्मक जवाफ पायौं । उहाँहरू नेपालको क्रिकेटको विकासमा सहयोग गर्न सकारात्मक रहेको पाएँ । तर, ठ्याक्क आईपीएल सुरु भयो । विश्वकप पनि छ । आईपीएल र विश्वकप सकिएपछि फेरि छलफल अगाडि बढाउने कुरा भएको छ । पहिलो कुरा खेलाडीका लागि खेल्ने माहोल बन्नुपर्छ भन्ने हो । उनीहरूको सीपलाई तिखार्नुपर्ने हुन्छ । त्यसका लागि भारतका विभिन्न राज्यहरूमा गएर त्यहाँका टिमसँग खेल्न पाउँदा स्तर पक्कै माथि जानेछ ।

राजनीतिक तहमा कुरा गर्दा भारतसँग अन्य पूर्वाधारका लागि कुरा भएजस्तो क्रिकेटको पूर्वाधार विकासका लागि गर्नुपर्ने हुन्छ । त्रिवि ग्राउन्डकै कुरा गर्ने हो पनि त्यसमा विशेष ध्यान दिनुपर्नेछ । त्यो ग्राउन्ड बनाउन सरकारसँग कुरा भइरहेको छ । सम्झौता नवीकरण गर्नुपर्नेछ । ५०–१०० वर्षका लागि क्यानको भयो भने त्यसले पूर्वाधार निर्माणमा वैदेशिक सहयोगको ढोका खोल्छ भन्ने विश्वास छ । बीसीसीआईले पनि पूर्वाधारमा चासो देखाएको छ । अहिलेको लागि नेपाली टिमलाई बढीभन्दा बढी एक्स्पोजर दिन बीसीसीआईको सकारात्मक रेस्पोन्स छ । कम्तीमा एउटा सुविधा सम्पन्न रंगशाला नभई भएको छैन । त्योचाहिँ महत्त्वपूर्ण हो ।

नेपालको क्रिकेट काठमाडौंमै केन्द्रित भयो भन्ने विगतदेखि नै गुनासो रहँदै आएको छ । तपाईं क्यानको सचिव भएर आएपछि ती गुनासोलाई सम्बोधन गर्न के गरिरहनुभएको छ ?

यसमा हामी गम्भीर छौं । त्यही भएर नै यसपटक प्रधानमन्त्री कप भैरहवामा गर्‍यौं । गएको ५–६ महिनामा काठमाडौं र बाहिरसमेत गरेर आधा दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगिता भएका छन् । यसलाई कसरी निरन्तरता दिने भन्नेमा हाम्रो ध्यान जानुपर्छ । विकेन्द्रित गर्नु त अति आवश्यक छ । अहिले कीर्तिपुर र मूलपानीमा मैदान छ । कीर्तिपुरमा एउटा इन्डोर छ । सन् २०१५ देखि जति पनि खेलाडी आएका छन्, त्यही इन्डोरमा अभ्यास गर्दै आएका छन् ।

बाहिरबाट आएका धेरै खेलाडीले इन्डोरमा अभ्यास गर्नुपर्छ भनेर कीर्तिपुर आसपास डेरा लिएर बस्ने गरेका छन् । विशेषगरी राष्ट्रिय टिमका धेरै खेलाडी पनि त्यहाँ छन् । यसमा बदलाव ल्याउनु आवश्यक छ । मानौं रूपन्देहीमा ग्राउन्ड छ, अहिले निजी क्षेत्रबाट अर्को पनि बनेको छ । अब एउटा प्रणाली नै विकास गर्नुपर्छ, अफसिजनका बेला । ठूला प्रतियोगिता नभएका महिनामा तलतल पनि अभ्यास गर्ने कार्यतालिका बनाउन जरुरी छ । त्यसका लागि आवश्यक पूर्वाधार पनि विकास गर्नुपर्छ । आज दीपेन्द्र ब्याटिङ गर्न आउँदै छन् भन्ने भएपछि त्यहाँको माहोल नै फरक हुनुपर्‍यो ।

यस्ता कुराले नयाँ पुस्तालाई क्रिकेटमा लाग्न प्रेरित गर्छ । त्यसले बेग्लै किसिमको उत्साह थप्छ । पहिले खेलाडीलाई धर्मशालामा राख्ने गरिन्थ्यो । अहिले पाँचतारे होटलमा राखिन्छ । त्यो पनि भ्रम हो भन्छु । खेलाडीको घर नै पाँचतारेसरह हुनुपर्छ । त्यो दिन मात्र क्रिकेटले साँच्चिकै विकास गरेको मानिनेछ ।

पहिले खेलाडी र अहिले क्यानको पदाधिकारीका रूपमा नेपाली क्रिकेटलाई कसरी हेर्नुभएको छ ?

खेलाडी हुँदा र क्यानको नेतृत्वमा पुग्दा धेरै फरक पाएँ । मानिसका अपेक्षा बढी छन् । यहाँको खेलकुद क्षेत्र र संगठन के कस्तो छ भन्दा पनि अपेक्षा बढी हुँदा रहेछन् । झन्डै २० वर्ष खेलाडीका रूपमा खेलें । बाहिरबाट हेर्दा व्यवस्थापनले यो किन गर्‍यो, यो किन गरेन भनेर धेरै कुरा हुन्थ्यो । अहिले त्यही भूमिकामा रहेर काम गर्दा फरक पाएको छु । अहिले मेरो चुनौती नै त्यो अपेक्षा कसरी पूरा गर्ने भन्नेमै छ । म क्यानको सचिव भएर झन्डै सात/आठ महिना काम गरिरहँदा अन्तर्राष्ट्रिय

ट्वान्टी/२० क्रिकेट विश्वकपका लागि पनि छनोट भयौं । मेरो पहिलो प्राथमिकता भनेको अब कसरी धेरै खेल आयोजना गर्ने र आर्थिक रूपले संघलाई कसरी बलियो बनाउने भन्ने नै हो । खेलाडी हुँदा र नेतृत्वमा पुग्दाको खास फरक भनेको खेलाडी हुँदा मैदानमा कसरी राम्रो योगदान दिने भन्ने मात्रै हुन्थ्यो भने अब राष्ट्रिय स्तरका खेलाडीका साथसाथ प्रदेश, जिल्ला तहका खेलाडी र उनीहरूको अपेक्षा पनि सुनुवाइ गर्नुपर्ने हुन्छ । यसका साथै प्रशिक्षकका अपेक्षा, जिल्ला र प्रदेशका अपेक्षा पनि उत्तिकै छन् । ती सबैलाई एकैचोटि पूरा गर्न नसके पनि ती अपेक्षा अब कसरी पूरा गर्ने भन्नेमा लागिरहेको छु ।

क्यानले यस वर्ष वार्षिक क्यालेन्डर बनाउँदा ५२ करोड रुपैयाँ खर्च गर्नेजस्तो महत्त्वाकांक्षी योजना ल्यायो । यसमा कत्तिको चुनौती देख्नुहुन्छ ?

यसमा केही चुनौती छैन । २२/२३ करोड आईसीसीबाट, ५/६ करोड एसीसीबाट र त्यस सँगसँगै विश्वकपमा छनोट भइसकेपछिको बजेटसमेत जोडेर यो ल्याइएको हो । यसका साथै यस वर्ष हामी नेपाल प्रिमियर कप आयोजना गर्दै छौं । त्यसका साथसाथै यस वर्ष क्यालेन्डरमा राखिएका विभिन्न प्रतियोगिताबाट उठाउन सक्ने रकम जोड्दा यो कुनै चुनौती होइन । सहजै यति बजेट जोहो गर्न सक्छौं ।

सुन्दा धेरै होला, तर यो केही होइन । हामीले जिल्ला र प्रदेश तहमा धेरै बजेट दिनै सकेका छैनौं । यस वर्षदेखि धेरै प्रतियोगिता आयोजना गर्ने जिल्ला र प्रदेशलाई पनि बजेटको व्यवस्था गरेका छौं । अहिलेको हाम्रो क्रिकेट हामीले सोचिरहेको भन्दा अलिक माथि नै पुगेको छ भन्ने लाग्छ । यति बजेट जोहो गर्न खासै गाह्रो हुँदैन ।

नेपाल प्रिमियर लिगको तयारी कस्तो छ ?

विश्वकप खेल्न जाने टोलीलाई बिदाइ गरेसँगै हामी यसको तयारीमा जुट्नेछौं । नेपालको कर्पोरेट क्षेत्रमा आकर्षित विदेशी फ्रेन्चाइज र खास गरी नेपाली क्रिकेटसँग जोडिन चाहने सबैलाई एक ठाउँमा ल्याएर खाका तयार गरी उनीहरूलाई देखाउनु जरुरी छ । रोडम्याप तयार गरिसकेका छौं ।

व्यावसायिक रूपमा यस लिगलाई हामीले सफल बनाउनैपर्छ । विश्वकपअघि नै हामी नेपाल लिगको घोषणा गर्ने तयारीमा छौं । हाम्रो आम्दानीका स्रोतहरू पनि यस्तै प्रतियोगिता हुन् । म ज्यादै उत्साहित र खुसी पनि छु । सबै रिसोर्सलाई कसरी व्यवस्थापन गर्ने भनेर आन्तरिक छलफलमा पनि जुटिरहेका छौं ।

यसलाई कसले सञ्चालन गर्छ त ? यसको खाका कस्तो छ ?

नेपाल क्रिकेट संघले नै यो सञ्चालन गर्ने हो । कुनै पनि तेस्रो पक्षलाई हामी यसको स्वामित्व दिँदैनौं । फ्रेन्चाइजका रूपमा खेल्न अन्तर्राष्ट्रिय टिमहरूको चासो छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा लगानी गरिरहेका समूह यसमा आकर्षित भइरहेका छन् । उनीहरूलाई यहाँका स्थानीय ‘स्टेहोल्डर’सँग ‘कनेक्ट’ गराएर नेपाली कानुनअनुसार यहाँ लगानी गर्ने प्रावधान के हुन्छ, सबै विचार गरेर कुराकानी गर्छौं ।

खेलाडीको पारिश्रमिक, श्रम स्वीकृति, अन्य कानुनी पाटोहरू पनि होलान्, यी सबै कुरा राष्ट्रिय खेलकुद परिषद् हुँदै नेपाल सरकारसँग छलफल गरेर टुंग्याउनेछौं । खेलकुदमा लगानीका हिसाबले नेपालप्रति आकर्षण छ । नेपाल प्रिमियर लिग मात्रै होइन, अन्य प्रतियोगितामा पनि लगानी गर्न इच्छुक देखिएका छन् । नेपाली क्रिकेटमा लगानी गर्न २–४ जना मानिस ज्यादै आकर्षित भएको मसँग व्यक्त गरेका छन् । सरकारले स्वीकृति दिने हो भने उनीहरू यहाँ लगानी गर्न इच्छुक छन् । जस्तो कीर्तिपुर मैदान होस् या बाहिर अन्यत्रका मैदानमा पनि उनीहरू लगानी गर्न इच्छुक देखिन्छन् । नेपाली क्रिकेटका लागि यो उत्साहप्रद हो ।

नेपाली क्रिकेटको दिगो विकासका लागि पूर्वाधारको महत्त्व उत्तिकै छ । मुलुकमा अहिले पनि पूर्वाधारमा खासै कुनै परिवर्तन आएको देखिँदैन । कहाँनिर चुक्यौं त हामी ?

कुनै पनि क्षेत्रमा सफलता हासिल गर्नका लागि धैर्य उत्तिकै महत्त्वपूर्ण हो । हामी विश्वकप खेलेर फर्किएपछि एउटा इन्डोरबाहेक केही पनि बनेको छैन । गुगलमा गएर हेर्नुभयो भने सन् २००१ पछि नै कुनै सुधार छैन । क्रिकेट मैदानमा बाथरुमको समेत समस्या छ । दर्शकका लागि कुनै सुविधा छैन । पूर्वाधार नबन्नुमा स्थायी सरकारको अभाव पनि होला । तर, त्यसका साथसाथै नीतिगत तहमै कमजोरी रह्यो कि ? क्रिकेट संघ पूर्वाधार बनाउन सक्दैन । पूर्वाधारमा लगानी गर्ने भनेको सरकारले नै हो ।

यी दुवैलाई एक ठाउँमा ल्याएर पूर्वाधार निर्माणमा जोड दिने विषयमा क्रिकेट संघले पनि पहल गरेजस्तो लाग्दैन । यसले गर्दा जित्दा रमाउने र हार्दा सबै बिर्सिने गर्दा सबै क्षेत्रलाई असर गरेको छ । पूर्वाधारलाई प्राथमिकतामा राखेर फास्टट्र्याकमा भइरहेकै स्टेडियमलाई बनाइदिने हो भने त्यसको प्रतिफल छिट्टै उठाउन सकिन्छ ।

किनभने, विश्वकपमा जानुअघि कीर्तिपुर मैदान र मूलपानीमा खेलिएका खेलबाट राम्रो आर्थिक संकलन भएको थियो । एउटै म्याचमा टिकट बिक्रीबाट ४० लाख हाराहारीमा उठ्नु भनेको सानो होइन । पूर्वाधार निर्माण हुनासाथ विदेशी टिम आएर खेल्ने वातावरण बन्छ । त्यसले पनि आर्थिक उपार्जनमा ठूलो सहयोग पुग्छ । नेपाल–बंगलादेश, नेपाल–श्रीलंका र नेपाल–न्युजिल्यान्डबीच म्याच खेलाउँदा आउने स्रोतले देशैभरिका स्टेडियम बनाउन सहयोग पुग्छ ।

पूर्वाधारको कुरा गरिरहँदा कीर्तिपुरमा फ्लडलाइट यही आर्थिक वर्षभित्र जोड्ने घोषणा २–४ पटक नै भइसक्यो तर अहिलेसम्म पनि त्यसको कुनै सुरसार छैन नि ?

हाम्रा कतिपय कानुनी व्यवस्थाले पनि अड्चन दिँदा रहेछन् । प्रधानमन्त्रीले तीन–तीन पटक सिधै निर्देशन दिँदा पनि फ्लडलाइटको टेन्डर प्रक्रिया पूरा हुन सकेको छैन । तसर्थ, चुनौतीहरू धेरै छन् । खासमा राज्यको प्राथमिकतामै खेलकुद क्षेत्र पर्न सकेको छैन ।

तपाईंले पनि यसअघिका पदाधिकारीले जस्तै राज्यलाई दोष दिएर उम्किन मिल्छ र ?

हो, वास्तवमा मैले आफैंलाई पनि कहिलेकाहीं प्रश्न गर्छु, मैले यस किसिमको जवाफ दिएर हुँदैन । जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै सम्भावना भएकाले म राज्यलाई मात्रै दोष दिएर अवश्य पनि उम्किन मिल्दैन । सरकारी ऐन, नियम बाधक छन् भने तिनलाई परिवर्तन गर्न झकझक्याउनुपर्‍यो । नेपाली क्रिकेटको भविष्यका लागि जस्तोसुकै कदम चाल्न पनि पछि पर्नु भएन । म काम गरेरै देखाउने पक्षमा छु ।

प्रकाशित : वैशाख २३, २०८१ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?