२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

जरलहवागाछीका अग्निपीडितलाई गाँसबासकै चिन्ता

महोत्तरीको मटिहानी-६ जरलहवागाछीका १ सय १० घर जलेर खरानी
सुनिता बराल

महोत्तरी — बिहारको सीतामढीमा पेटको उपचार गरेर गाउँ फर्किंदा लखनदेवी खङ्ग्रङ्गै भइन् । बुधबार आगलागीले घर जलेर खरानी भएपछि उनको होसहवास उड्यो । छोराले विदेशबाट पठाएको र श्रीमान् सीताराम पासवानले अटो चलाएर जम्मा गरेको २ लाख नगद, गरगहना, अन्नपात र कागजपत्र सबै जलेर खरानी भएको छ । 

जरलहवागाछीका अग्निपीडितलाई गाँसबासकै चिन्ता

जीवनभर नंग्रा खियाएर जोडेको सम्पत्ति छिनभरमै खरानी बन्यो । महोत्तरीको मटिहानी-६ को जरलहवागाछीकी लखनदेवीको विलौना छ, 'उपचार गरेर फर्कँदा केही छैन । लाउने लुगा छैन, अब के खाने ? केही छैन ।' ८ जनाको परिवार बस्ने फुसले बनेको ४ वटा घर जलेपछि रुवाबासी छ ।

२ लाख ४० हजार बैंकबाट कर्जा लिएको पैसा तिर्न नपाउँदै घर जलेपछि हरिचन साह पनि उस्तै विचलित छन् । बटैया गरेर एक वर्षलाई पुग्नेगरी जोहो गरेको अनाज जलेपछि साहलाई दु:खमाथि दु:ख थपिएको छ । 'अब त कसरी बाँच्ने भन्ने नै चिन्ता भयो,' उनले भने, 'कमाएको सबै सकियो । एउटा भैंसी चौरीमा बाँधेको भएर बच्यो ।' आगोले बाख्रा पनि जलेको छ । घरभित्र सुतेका साहलाई सबैले तानेर निकालेकाले ज्यान बचेको उनले सुनाए ।

करिब ७ घण्टापछि जरलहवागाछीमा लागेको आगो निभाइएको छ । यसले बस्तीमा थप क्षति हुन जोगाएको मटिहानीमा मेयर हरिप्रसाद मण्डलले बताए ।

मुस्लिम बस्तीको मियाटोलबाट परालको कुन्यूमा लागेको आगो गाउँमा सल्किएपछि मियाटोल र हत्ताटोलका १ सय १० घर पूर्ण रूपमा जलेर खरानी भएको मेयर मण्डलले जानकारी दिए ।

मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको दमकल आगो निभाउन प्रयोग गरिएको थियो । साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी र स्थानीयको प्रयासले थप क्षति हुनबाट बचेको मेयर मण्डलले बताए ।

आगो लागेको बस्तीमा पशु चौपायासँगै स्थानीयको धनमाल पूर्ण रूपमा जलेको तर अहिले क्षतिको यकिन विवरण भन्न नसकिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । अग्निपीडितको व्यवस्थापनका लागि रेडक्रस र विभिन्न निकायसँग समन्वय भइरहेको उनको भनाइ छ । मेयर मण्डलले मटिहानीका जनता ठूलो विपद्‌मा परेकाले सहयोग गरिदिन सबैलाई अपिल गरेका छन् ।

प्रकाशित : वैशाख १२, २०८१ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?