राष्ट्रिय रेटिङ चेस सुरु
काठमाडौँ — नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार ललितपुरको सानेपामा सुरु भएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयमा प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए ।
पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकलसहित कुल ६ लाख ३७ हजार ४ सय पुरस्कार राशिको बुद्धिचाल प्रतियोगितामा कपिलवस्तु जिल्लाका ६ वर्षीय अंकुर पोखरेलदेखि मखन चेस क्लबका ८० वर्षीय भेट्रान खेलाडी सीताराम अग्रवालले सहभागिता जनाएका छन् ।
११२ खेलाडी सहभागी प्रतियोगिता विभिन्न विधाका ४० खेलाडीले पुरस्कार पाउने संयोजक राजु ताम्राकारले जानकारी गराए । प्रतियोगिताका प्रमुख निर्णायक सोराज ताम्राकारले ७ चरणको खेलपछि ४ खेलाडीले सुपर नकआउट सेमिफाइनल र फाइनल खेल्नेछन् भने बाकी १०८ खेलाडीले ९ चरणको खेल खेल्ने बताए ।
पहिलो चरणमा हेटौंडाका शीर्ष खेलाडी एफएम क्षितिज भण्डारी, काभ्रेका सीएम मिलन लामा, नेपाल च्याम्पियन एफएम रुपेश जैशवाल, ललितपुर स्पोर्ट्स क्लबका सीएम कृष्ण थापा, भक्तपुरका निकेन कुसाथा, लमजुङका सविनचन्द्र घिमिरे, ललितपुरकै प्रेमकृष्ण महर्जनले विजयी भए ।
काठमाडौंका पुरुषोत्तम सिलवाल, स्पोर्ट्स क्लबका सीएम सजिन महर्जन, ललितपुरका बद्रीलाल नेपाली, ललितपुरका सुरोज महर्जन, सुदीप तामाङ, काठमाडौंका जनार्दन श्रेष्ठ, पेभिलियन चेस एकेडेमीका सुशील चौधरी, स्पोर्ट्स क्लबका सोम आले, काभ्रेका राहुल चौ प्रधान, सर्लाहीका कमल श्रेष्ठ, काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठ, ललितपुरका अशोकमोहन श्रेष्ठ, धनुषाका सूर्यनारायण दास, झापाका राजन सुवेदी, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले जित पाएका छन् ।
उत्कृष्ट खेलमा बाग्लुङका अनरेटेड तोरण भण्डारीले कारोकान डिफेन्सअन्तर्गत आफूभन्दा १९१२ उच्च रेटेड आशिष फुँयालमाथि सानदार जित निकाले ।
प्रकाशित : वैशाख १४, २०८१ २२:०८