बाल्टिमोर पुल भत्किँदा बेपत्ता दुई जनाको शव फेला
काठमाडौँ — अमेरिकी सहर बाल्टिमोरको पुल भत्किँदा बेपत्ता रहेका दुई जनाको शव फेला परेको छ । उनीहरू पुल भत्किएको बेलामा पिकअप ट्रकमा रहेका थिए ।
पिकअप ट्रक पुलमै रहेको थियो । गोताखोरहरूले रातो पिकअप ट्रक डुबेको र पुलको मध्य भागको क्षेत्रमा लगभग २५ फिट तल शव भेटिएको बताए ।
मेरिल्यान्ड राज्यका प्रहरी कर्नेल रोल्यान्ड बटलरले यसबारेमा जानकारी गराएका हुन् । ३५ र २६ वर्षका दुई पुरुषको शव भेटिएको बताइएको छ । यूएस कोस्ट गार्डका अधिकारीहरूले मंगलवार साँझ पुल भत्किँदा बेपत्ता ६ जनाको यसअघि नै मृत्यु भइसकेको आकलन गरेका छन् ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनले बाँकी ४ जनाको मृत्यु भएको अनुमानमा अधिकारीहरूले उद्धार कार्य रोकेको जनाएका छन् । मंगलबार कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको हो । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो 'फ्रान्सिस स्कट की' पुल भत्किएको हो ।
प्रकाशित : चैत्र १५, २०८० १६:४९