कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

पीडाबाट मोक्षको यात्रा

मोमिलाका लागि लेखन एक विमोक्ष समारोह हो, जो अभिव्यक्तिमा मोक्ष खोज्छिन्  । 
महेश पौड्याल

निबन्ध–फाँटमा धमाकेदार उपस्थिति जनाएकी थिइन् मोमिलाले, २०६३ सालमा ‘ईश्वरको अदालमा आउटसाइडरको बयान’ शीर्षकको ललित एवं आत्मपरक निबन्ध–सङ्ग्रह प्रकाशित गरेर  । किताबमार्फत उनले केही अहं प्रश्न र केही महत् जिज्ञासा छोडेकी थिइन् । पश्चिमको अस्तित्ववादी–विसङ्गतिवादी चिन्तनको चुरोमा टेकेर जिन्दगीको निरीक्षण गर्ने मोमिलाले आफूलाई तमाम सजिला–अप्ठ्याराहरूको एक्लो योद्धाको रूपमा प्रस्तुत गरेकी थिइन् ।

पीडाबाट मोक्षको यात्रा

मानव समाज त के ईश्वरको अदालतमा पनि आफूजस्ता ‘आउटसाइडर’ माथि न्यायको कुनै पनि संभावना उनले देखेकी थिइनन् । उनको यात्रा निराशाको किनारैकिनारै अनिश्चित गन्तव्यतिर हान्निएको आदि र अन्त्यको टुंगो नभएको एउटा आस्तित्विक यात्रीको भन्दा कुनै पनि दृष्टिले पृथक् देखिएको थिएन ।

‘आउटसाइडरको बयान’, वास्तवमा, प्रश्नहरूको पुञ्ज थियो । उत्तर थिएन । एक्लोपनको र जीवनमा उद्देश्यविहीनताको दस्तावेज थियो । जीवनलाई उज्यालोको भन्दा पनि अँध्यारोको सापेक्षता बढी हेरिएको उक्त दस्तावेज काफ्का र कामुजस्ता अस्तित्ववादीहरूका चिन्तनको नेपाली निरन्तरताजस्तो लाग्थ्यो । सृष्टि, जिन्दगी, मृत्यु र ईश्वरसँग सिधै सिँगौरी खेल्ने आउटसाइडरको हार वा जितको कल्पना गर्नु पनि असम्भव थियो पाठकका लागि । यद्यपि, त्यस काव्यमय र रोमाञ्चकारी द्वन्द्वले दिने आह्लाद र विरेचनको आनन्द भने सबैले सहजै अनुभव गर्ने खालको थियो ।

उक्त किताब प्रकाशनको करिब १७ वर्षपछि मोमिलाको अर्को ललित निबन्ध–किताब आएको छ ‘प्रश्नहरू त बााकी नै रहन्छन्...’ । पुस्तकले फेरि पनि जीवनको अर्थ र महत्तासँग सम्बन्धित प्रश्नहरूको कुनै उत्तर त दिएको छैन, तर जीवनलाई हेर्ने कोण भने बदलेको छ । यहाँ उठाइएका प्रश्न वास्तवमा प्रश्न होइनन्, ती ‘रेटरिकल क्वेसन’ हुन्, र प्रश्नभित्रै तिनको उत्तर निहित छ । हुन पनि, सृष्टि, जीवनको पटाक्षेप र ईश्वरका सम्बन्धमा क्षणभङ्गुर जीवन बोकेर बाँचेको विरोधाभासी मान्छेसँग के नै प्रस्टता हुन्छ र उत्तर दिनु ? तर पनि, यस कृतिमा कृतिकारले जीवनलाई उज्यालोको सापेक्षतामा हेर्ने प्रयास गरेकी छन् । यहाँ आशावादिताको बाहुल्य छ । पृष्ठभूमिमा अँध्यारो, दु:ख, विछोड र मृत्यु बोकेर बाँचेको जिन्दगी, मोडहरूमा नृत्यमग्न पनि छ, संगीतमग्न छ । जोन किट्ले भनेजस्तो मान्छेले ‘नेगेटिभ क्यापेबिलिटी’, यानि कल्पनाशक्तिले आफ्नो आहत् यथार्थलाई केही क्षणकै लागि सही स्थगित गर्न सक्छ, र आनन्दको एउटा उपल्लो पडाउमा रमाउन सक्छ । मोमिलाका निबन्धहरू यसै कल्पनाशक्तिको जगमा उत्सवमय बनेका छन् ।

निबन्धहरू दुई खण्डमा विभाजित छन् — ‘अस्तित्व उत्सव’ र ‘संवेदनहरू’ । ‘अस्तित्व–उत्सव’ खण्डमा चौधवटा निबन्ध छन्, र ती तर्कहरूमा उभ्याएका मस्तिष्कभेदी प्रस्तुति हुन् । यी निबन्धहरूमा सर्जक मोमिलाले जीवनसँग गाँसिएर आएका, तर बढारेर फाल्न नसकिने छाया, दु:ख र मृत्युजस्ता अपरिहार्य अँध्याराहरूसँग कसरी उत्सवमय भएर बाँच्ने भन्ने प्रश्नमा आफ्ना बुझाइ प्रस्तुत गरेकी छन् । ‘मेरै छायाको विद्रोह र अस्वीकृत ग्रहण’ मा उनी इतिहासका काला पाटाबारे चिन्तनशील छिन् । तर, मान्छेको विगतसँग गाँसिएर आएको इतिहासबाट मान्छे सर्वथा मुक्त हुन सक्तैन । त्यसैले, दु:खसँग लडेरै दु:खबाट मुक्ति पाउन सकिन्छ भन्ने उनको तर्क छ, र यो सत्य पनि हो । आफ्नै इतिहासको पृष्ठभूमिमा उभिएर, इतिहासको कालो पाना नदोहोरिने गरी नयाँ इतिहास निर्माण गर्ने उनको ध्येय छ, जससँग सहजै सहमत हुन सकिन्छ । उनको प्रस्ट घोषणा नै छ — ‘इतिहास वर्तमानको सहुलियतमा टुंगिनु हुँदैन ।’

निबन्धकार मोमिलाले सिर्जना र चिन्तनको उज्यालोलाई पनि मृत्यु र अनिवार्य छायाजस्ता अँध्यारा अनुभवहरूकै सापेक्षतामा हेरेकी छन् । ‘देवकोटासँग एउटा साँझको कायान्तरण’ मा उनले महानतम् सिर्जनाहरू दिएर पनि देवकोटोले आफैँलाई क्रमश: मृत्युतिरै धकेल्दै लानुको आस्तित्विक व्याकरण केलाएकी छन् । ‘कलाको जोखिम उठाउने’ देवकोटाको उक्त हठप्रति निबन्धकार मोमिला नतमस्तक छिन् । त्यस्तै, गायक फत्तेमानले पनि सुखका भन्दा पनि दु:खका गीत गाएर नै शीतबिन्दुको सौन्दर्य निर्माण गरेको उनको ठम्याइ छ ।

प्रथम खण्डका निबन्धमा मोमिलाले लैंगिक यथार्थ र सुख–दु:खको सन्तुलनमाथि आफूलाई खुलेरै प्रस्तुत गरेकी छन् । सर्जक लिंगनिरपेक्ष हुँदाहुँदै पनि सर्जकले बाँकेको मानवीय काया भने लिंग–सापेक्ष हुन्छ नै । पितृसत्तात्मक नेपाली समाजमा जन्मे–हुर्केकी मोमिलासँग पनि नारी भएकै कारण पटकपटक विभेदको सिकार हुनुका अनुभव छन् । यी अनुभवको प्रतिध्वनि उनका यस खण्डका कतिपय निबन्धहरूमा परोक्ष रूपमा अभिव्यक्त भएका छन् । ‘नायकको भूमिकामा उनी...’ शीर्षकको निबन्धमा उनले कुनै नारीलाई आफ्नो जीवनको नायकको रूपमा कल्पना गरेकी छन् । भन्छिन्, ‘कठपुतली आफ्नै हातले भाँचेर आगो बालिसकिन् । किनकि उनी अब खिया लागेको शास्त्रीय बन्धनबाट मुक्त आफ्नै जिन्दगीको प्रवाहलाई निजी स्वप्नको पवित्रता एवं आफ्नै उज्यालो संवेदनाभन्दा पनि बढी नजिकबाट माया गर्न थालेकी छन् ।’ ‘सम्भावित पुलतीको वर्तमान’ मा उनी आफ्नै बाल्यकालमा फर्किएकी छन्, र आफ्ना वरिपरि खडा गरिएका निषेधका पर्खालहरूलाई प्रश्नवत् स्मरण गरेकी छन् । ‘प्रिय पात्रहरू अस्तित्व–उत्सवमा १’ शीर्षक निबन्धमा उनका आमन्त्रिहरू सबै नारी हुन्— इब्सेनकी नोरा, विजय मल्लकी अनुराधा र आफ्नै अल्टरइगो, यानि आउटसाइडर । उनी महिला स्वतन्त्रता र अस्तित्वका प्रतीक यस्ता नारी पात्रहरूको आत्मविश्वसपूर्ण उपस्थितिको कल्पना गरिरहेकी छन् । लैंगिक समानताको पक्षमा मोमिलाको यो क्रुसेड उनको निबन्धकारिताको एउटा परिचायक स्वभाव हो ।

मोमिलाका निबन्धहरूभित्रको पात्र दु:खबाट कहिल्यै भाग्दैन । भयपूर्ण छ भन्दैमा मृत्यसँग डराउँदैन । बरु, दु:ख र मृत्युको सीमान्त बिन्दुबाट जिन्दगीको सम्मोहक सौन्दर्यकै अवलोकन गर्छ । ‘मृत्यु सौन्दर्य’ मा उनी लेख्छिन्, ‘मृत्युको पृष्ठभूमिमै गुलाफका पत्रदलहरूको रंग र भंगिमा बदलिरहने रोमाञ्चक शास्त्रीय नृत्यसरि मलाई उही जिन्दगीको सम्मोहनले तानि नै रहेछ....’ समग्र जिन्दगीलाई नै चट्टान र फूलको दोहारी मान्ने उनी, फेरि पनि, फूलकै पक्षमा मतदान गर्न उभिएकी छन् । यो सकारात्मकता उनको निबन्धकारितमा आएको एउटा स्पष्ट परिवर्तन हो ।

मोमिलालाई काल्पनिक स्वर्गभन्दा दु:खपीडा र मृत्युका कहरसहित उभिएको धरती नै प्रिय छ । स्वर्गको ग्रिनकार्ड च्यातेर, ईश्वरलाई नै चुनौती दिएर धरतीतिर फर्किएको उनीभित्रको हठी धरतीप्रेमी पात्र भन्छ, ‘भूल नै सही अब यही संसारमा माया, प्रेम, प्रीति, स्नेह, सद्भाव बाँड्नु छ । यो जीवनको, यो संसारको सुन्दरतम् कवितालाई महसुस गर्नु छ ।’ अर्को एक निबन्ध ‘प्रात:काल हुनुअघि’ मा उनी भन्छिन्, ‘तर जूनतारा त आकाशलाई नै सुहाउँछ क्यारे । यस अर्थमा बरु, सुनको थालीमा जूनको चहक भरेर प्रात: हुनुअघि नै म धर्तीमै ओर्लने मन गर्छु ।’ ‘प्रश्नहरू त बाँकी नै रहन्छन्...’ मा उनको प्रस्ट घोषणा छ— ‘तर, मलाई कुनै स्वर्ग चाहिएन । मलाई तिमीले मानेको नरकरूपी आफ्नै धरतीको दु:ख प्यारो छ ।’ धरती र जीवनको पक्षमा यो नै मोमिलाको बोटमलाइन हो ।

दोस्रो खण्ड, यानि ‘संवेदनहरू’ मा छोटा–छोटा ९ वटा निबन्ध संग्रहित छन्, र यी भावप्रधान निबन्ध हुन् । संवेदनलाई नै सम्बोधित गरिएका यस खण्डका अधिकांश निबन्धमा मोमिलाले आफ्नो सिर्जनात्मक अवधारणा प्रस्तुत गरेकी छन् । लेखन उनका लागि एउटा विमोक्ष समारोह हो, एउटा विरेचनको उपक्रम हो । आफू अभिव्यक्तिमा मोक्ष खोज्दै अभिव्यक्तिकै यात्रामा भएको जिकिर गर्दै उनी भन्छिन्, ‘जब भक्कानो छाडेर हृदयात्मक रुन्छ, उसका आँसुका हेक्काहरू नै उत्कृष्ट कविता बन्छन् ।’ यसरी बन्ने सबैभन्दा सुन्दर कविता उज्यालोका कविता हुन् । कविता भने पनि, निबन्ध भने पनि मोमिलाका लागि लेखन एक मोक्षयात्रा हो, जहाँ अहंलाई प्रवेश निषेध छ, जहाँ स्वघोषित अभिमानी बादशाहहरूका लागि ढोका बन्द गरिएको छ ।

अस्तित्ववाद र विसंगतिवादजस्ता आफैंमा क्लिस्ट मानिएका दर्शनमा उभिएका हुनाले कतिपय पाठकले यी निबन्ध दुर्बोध्य भए भन्न पनि सक्छन् । कवितात्मक र विम्बात्मक भाषालाई डिकोड गर्ने बानी नपरेकाहरूले उनको निबन्धमा जमिनी यथार्थको जग नभेट्टाउन पनि सक्छन् । यी निबन्धहरू पूर्वीय र पाश्चात्य सिर्जना र दर्शनका धेरै पात्रहरूसँगको संवादमा आधारित भएकाले ती पात्र र दार्शनिकसँग खासै परिचित नभएका पाठक अलमलिन पनि सक्छन् । निबन्धहरूले विषय दोहोर्‍याएको आरोप पनि लाग्न सक्छ । तर पनि, यसको उत्तर मोमिलासँगै छ— ‘प्रश्नहरू त बाँकी नै रहन्छन्...’ ।

प्रकाशित : वैशाख १५, २०८१ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?