२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

आश गुरुङ

लमजुङ — लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

५० मेगावाटको उक्त आयोजना प्रभावित मर्स्याङ्दी ३, ६, ७ र ८ वडाका बासिन्दा आफ्ना मागबारे निर्माण कम्पनीले सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले जल्गिनी–अर्खलेबेंसीसम्म सडक स्तरउन्नति संघर्ष समिति गठन गरेर मंगलबारदेखि आयोजनाको सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।

आयोजनाले आफ्नो लागि निर्माण गरेको सडकका कारण स्थानीयवासिन्दा धुलोमैलोमा बस्न बाध्य भएको भन्दै सडक स्तरोन्नतिको माग गरेका छन् । समितिका संयोजक युवा घलेले सडक स्तरोन्नतिलगायत स्थानीयवासिन्दाको मागबारे सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । आफ्ना माग र आन्दोलनबारे सिनो हाइड्रो सगरमाथा पावर कम्पनीलाई चैत २८ गते जानकारी गराउँदै प्रशासन, प्रहरी, स्थानीय तह, वडालगायतलाई जानकारी गराइसकेको र यसबीचमा कम्पनीले आफ्ना मागहरुलाई सम्बोधन गर्ने खालका कुनै पनि कार्य नगरेको स्थानीयको गुनासो छ ।

संघर्ष समितिले चैत ३ गते बैठक बसेर मागहरुका साथ निवेदन पेस गरेकोमा आयोजनाले मर्स्याङ्दी नदीमा १० प्रतिशत पानी छोड्नेबाहेक कुनै माग संबोधन नगरेको संघर्ष समितिले जनाएको छ । स्थानीयले दोस्रो चरणको कार्यक्रम भन्दै सडकमा सिनोहाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडको सवारी साधन वा कम्पनीद्वारा सञ्चालित सवारी साधनहरु संचालन गर्न नदिने र सञ्चालन गरेमा कहींकतैबाट सवारी साधनहरुमा क्षति पुग्न गएमा त्यसको भागीदार कम्पनी स्वयं हुने संघर्ष समितिले भनेको छ ।

आफ्ना मागहरुप्रति कम्पनी गम्भीर नभए तेस्रो चरणमा जनप्रदर्शनका साथ कम्पनीको गेटहरुमा तालाबन्दी गर्ने र बाँध खोलेर विद्युत् उत्पादन बन्द गराउने समेत चेतावनी स्थानीयवासिन्दाले दिएका छन् ।

स्थानीयवासिन्दाको मागमा कुल ४ करोडको अनुमान गरिएको उक्त सडकका लागि सिनोहाइड्रो सगरमाथा पावर कम्पनीले १ करोड ८० लाख रुपैयाँ दिने संघर्ष समितिलाई वैशाख २० गते पत्र लेखेर जानकारी गराएको छ । संघर्ष समितिले स्थानीयलाई १० प्रतिशत शेयर दिनुपर्ने, कर्मचारीको तथ्यांक सार्वजनिक गर्नुपर्नेलगायत मागमा सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले बेवास्ता गरेको संघर्ष समितिले जनाएको छ । समितिले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै स्थानीयवासिन्दा थप आक्रोशित बनेका छन् ।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले मंगलबार संघर्ष समितिलाई छलफलमा बोलाएको र आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आहृवान गरिएको बताए । ‘संघर्ष समिति र सिनो हाइड्रो सगरमाथा पावर कम्पनीलाई छुट्टाछुट्टै रुपमा वार्ता गरिरहेका छौं । आपसी समझदारी, छलफल र सहमतिको ढंगबाट अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने ।

उनले दुवैपक्ष छलफलका लागि तयार रहे पनि मागका सम्बन्धमा स्थानीयवासिन्दा पछि नहटेको बताए । उनले आन्दोलनलाई बढाव दिने कार्यमा नलाग्न र बल प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था आउन नदिन सचेत गराएको बताए ।


प्रकाशित : वैशाख २६, २०८१ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?