कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

उपेन्द्र सुब्बाको मुन्धुमी लय

कविता–कथा–सिनेमाको सन्दर्भमा उपेन्द्र सुब्बा प्रिय र आत्मीय छन् । झर्रा दर्शन, ठेट विम्ब र प्रतीकले संयोजित सरल लेख्न माहिर छन् उनी ।
राजन मुकारुङ

जट्टाधारी, खिर खुवाउने झाँक्री धेरैका लागि परिचित पात्र हुन् । झाँक्री मात्रैको ‘ट्रेलर’ हेर्नेको कम लामो ताँती छैन । ‘ट्रोल’ त कति बनेको छ कति ! साउन पन्ध्र आयो कि झाँक्रीकै कुरा आइहाल्छ । जमाना सेल्फीको छ । तर, यी झाँक्रीसित खिचेको ‘सेल्फी’, खासगरी छोरीमान्छेले फेसबुक वा इन्स्ट्राग्राममा पोस्ट गरे भने ‘कमेन्ट’ मा यस्तो आइहाल्छ– ‘बूढाले खिर खुवाउलान् है...!’ उपद्रै ‘गसिप’ र उपद्रै चर्चित छन् यी पात्र । 

उपेन्द्र सुब्बाको मुन्धुमी लय

यी पात्र ‘कबड्डी’ फिल्मका हुन् भनेर भनिराख्नै परेन । ‘खिर’ खुवाउने चरित्र त्यो झाँक्री जति चर्चित छ, त्यो ‘चर्चित’ पात्रको सामाजिक आयामबारे बहस गर्ने ल्याकत म राख्दिनँ । तर, त्यो झाँक्रीको भूमिका निर्वाह गर्ने उपेन्द्र सुब्बाचाहिँ मेरा साथी हुन् । पच्चीस वर्षपहिले काठमाडौंको किम्ची क्याफे, न्यु प्लाजामा भेटिएका हामी त्यसयता निरन्तर साथी छौं । उनी हाम्रो साहित्यिक–सांस्कृतिक मोर्चाका सिर्जनशील सदस्य हुन् । ‘क्याबिनेट’ का मान्छे हुन् । तब उपेन्द्रजीबारे केही भन्ने हक र हैसियत दुवै राख्छु म । मैले उनलाई मन नपराउने भनेको चाहिँ खास यही झाँक्री पात्रमै हो ।

...

माघको पहिलो साताको बिहान । ‘बाखाम्मा : मुन्दुममा मान्छे’ नाटक लेखनको अन्तिम छेको चलिरहेको छ । ‘ग्रिन टी’ पिउँदै छु । ठस्स गन्ध आउने वाग्मती किनाराकै घरको छतमा आउने घामको न्यानो पर्खिंदै म नाटकका पात्रहरूको अझ बलियो ‘ब्याक स्टोरी’ सोच्दै आफैं हैरान भइरहेको छु । एक किसिमले दिमाग फनफनी भइरहेको छ । गिजिङमिजिङ घटनाहरू आइरहेका छन् । अचानक ज्याकेटको गोजीमा भएको मोबाइलमा ‘भाइब्रेसन’ हुन्छ, बज्छ । ‘ग्रिन टी’को कप सम्हाल्नै पर्‍यो, उसमाथि चिसो हात, मोबाइल झिक्दाझिक्दै ‘भाइब्रेसन’ सकिन्छ । मोबाइल झिकेर हेर्छु । उपेन्द्रजीको ‘कल’ रहेछ ।

‘मिस्ड’ भएको । सम्झिन्छु– निकै भइसकेको छ हाम्रो कुराकानी, भेटघाट नभएको । गज्जप हुने

भयो आजको बिहान । अबचाहिँ पक्कै अघि बढ्छ

मेरो काम । यस्तो लागिहाल्यो । हो, उपेन्द्रजीसित बोल्न, भेट हुन पाउँदा उम्दा ऊर्जा मिल्छ मलाई ।

मैले उपेन्द्रजीको नम्बरमा ‘डायल’ गरिहालेँ । उताबाट उठ्यो ।

‘सेवारो सर । कता हुनुन्छ ?’

‘सेवारो सर । म घरतिरै छु । तपाईं नि ?’

‘म झम्सिखेल ।’

‘अहो ! बिहानै ?’

‘अँ सर । यहाँ किरण चाम्लिङको अफिसमा ।’

‘किरणको अफिस ?’

‘हो नि सर ।’

‘लौ मलाई त केही भन्दैन किरणले ।’

‘आउनोस् सर । भेटघाट पनि गरौं । यसो साथीभाइलाई बलतागत मिल्छ ।’

‘हस् सर । म आउँछु ।’

‘उज्यालो भवनछेउमै है लोकेसन ।’

‘हस् सर । सोध्दै आउँछु ।’

मोबाइलको कुराकानी सकेर मैले पूर्ण भाइलाई फोन गरेँ । पूर्ण भाइ अर्थात् नेपाल प्रज्ञा–प्रतिष्ठानका सवारी चालक पूर्ण तामाङ । पूर्ण भाइ प्राय: बिहानै ब्याडमिन्टन खेल्न अफिस आउँछन् भन्ने थाहा छ । नभन्दै आज पनि आएका रहेछन् । उनको समय बुझेँ । उनले पुर्‍याइदिन भ्याउने भए । पन्ध्रदेखि बीस मिनेटका बीचमा आइपुग्ने बताए । म तयार भएर पूर्ण भाइलाई पर्खिंदै मोबाइलमा केही खोज्दै थिएँ । किरण चाम्लिङको फोन आयो । उठाएँ ।

‘दाजु, सेवा ।’

‘सेवा । कता छौ ?’

‘म उपेन्द्र दाजुको अफिसमा । झम्सिखेल । आउनोस् न यता ।’

‘आउँदै छु ।’

‘हस् दाजु ।’

फोन राखिसकेपछि पो झसङ्ग भएँ । उपेन्द्रजीले भन्नुहुन्छ– किरण चाम्लिङको अफिस, किरणले भन्छ– उपेन्द्रजीको अफिस । साथीहरूले गतिलै ‘सप्राइज’ दिँदै छन् कि क्या हो ? केही त पक्कै हुँदै छ, गर्दै छन् । यस्तै लाग्यो ।

पूर्ण भाइ आइपुगे । हामी फोनमै लोकेसन सोध्दै उज्यालो भवननेर पुग्यौं । अलि परको सडकछेउमा उपेन्द्रजी उभिरहनुभएको देखिहालेँ । गाडी रोकेर हामी उपेन्द्र–किरणको अफिसतिर लाग्यौं । दोस्रो तलाको बरन्डाभरि जुत्ताहरूको मेला नै लागेको छ । लाग्यो– अफिस उद्घाटन पो हो कि क्या हो ? भित्र पसियो । शैलेन्द्र डी. कार्की, किरण चाम्लिङ, सिजन दाहाल, मानहाङ लावती, शुभम चाम्लिङलगायतका प्राय: सबै परिचित साथीभाइहरू नै भेटिए । तब लागिहाल्यो– नयाँ सिनेमाको काम हुँदै रहेछ ।

कफी आयो, कुराकानी चल्यो । नभन्दै नयाँ सिनेमा बन्दै रहेछ– ‘मनसरा’ । निर्माता रहेछन् शैलेन्द्र । उपेन्द्रजी निर्देशक र किरण मुख्य सहायक निर्देशक रहेछन् । अन्तमा उपेन्द्रजीले ‘मनसरा’ को स्क्रिप्ट पढेर ‘इन्करेक्ट’ पक्षबारे सुझाव दिन भन्नुभयो । ‘मनसरा’ को स्क्रिप्ट हात लाग्यो । म अफिस आएँ ।

‘स्क्रिप्ट पठन’ को सन्दर्भमा उपेन्द्रजीसँगकै नगतिलो घटना पनि छ मेरो । त्यसले निकै नमिठो गराइरहन्छ पनि । उबेला नेपाली सिनेमाका लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बा सुरुवाती चरणमै थिए । रामबाबुले ‘अनारिक’ बनाएका थिए । त्यो हलमा चलाइएन, भीसीडीबाट स्क्रिनिङ भयो होला धेरै । उनको अनुभव त्यही थियो । रामबाबु र उपेन्द्रले ‘गेटपास’ नामको स्क्रिप्ट पढ्न दिएका थिए । लाहुरे हुन चाहने युवाहरूको कथा थियो । त्यो स्क्रिप्टले मलाई खै किन हो खासै तानेन, छोएन । मैले कुनै प्रतिक्रिया दिइनँ । त्यो सन्दर्भलाई लिएर पछि कतै उपेन्द्रजीले भन्नुभएको छ– ‘राजन सरले पत्याउनुभएन ।’ त्यस्तै पनि पो हो कि ? संयोग पनि कस्तो भयो भने त्यो स्क्रिप्टको फिल्म पनि बनेन । त्यसपछि त दुवै जना ‘कबड्डी ब्रान्ड’ बाट अघि आइहाले । ‘गेटपास’ अब छुट्यो होला, ठानौं ।

खासमा म ‘स्क्रिप्ट–पाठक’ हुन थालेको भनेको चाहिँ ‘युप्पारुङ’ को स्क्रिप्ट पढ्दादेखि हो । पहिले स्क्रिप्ट पढ्दा ‘युप्पारुङ’ नाम थियो, पछि त्यही युप्पारुङ ‘जारी’ भएर आएको हो । उपेन्द्र सुब्बालिखित त्यो स्क्रिप्ट पढ्दापढ्दै यस्तरी तानिएको हुा कि धेरै पटक हाँसेको, रोएको थिएँ म । अनि पटकपटक पढेको थिएँ त्यो स्क्रिप्ट । फिल्मका बारे त यहाँ भन्नै परेन ।

‘मनसरा’ को स्क्रिप्ट हात लाग्नसाथ हुटहुटी बढेको हो । अफिसमा आउनसाथ अरूतिर ध्यान दिइनँ । खराखर पढ्न थालेँ । लगभग अढाई घण्टामा एकसरो पढिसकाएँ । पहिलो पटक पढिसक्दै मानौं कि म कुनै सिनेमा हलबाट बाहिरिँदै छु भन्ने भइरहेको छ । असीम आनन्दको अनुभव आइरहेको छ । मानाङ, मनरानी (मनसरा), दधिराम, नानमैया, केहरसिंलगायतका पात्रहरूले मथिङ्गल हल्लाइरहेका छन् । तिनका ‘ब्याक स्टोरी’ हरू हुरुरु आइरहेका छन् । दधिरामले सन्तान प्राप्त गर्न बढाउँदै लगेको सपना, दूधसहित बढाउन थालेको रक्सीको व्यापार, खुवा पसलको साहुजीले बेहोरेको बेथा आदि इत्यादि कुराहरूले क्लिकक्लिक गराउँदो छ । मानाङले ‘मनरानी’ लाई खोजिरहेको काठमाडौं सहर, सहरमा उसले गरेको यात्रा, यही काठमाडौं सहरदेखि नजिकैको अर्को सहर ललितपुरको नख्खुखोला, त्यही खोलाको किनारमा सुंगुर पालेर रक्सीको पैकार गर्दै छोरा हुर्काइरहेकी मनरानी, मनरानीप्रति दधिरामको प्रेम, नानीमैयाको छिनाझम्टी–शङ्का, अहो ! यी सब द्वन्द्वहरूबीच थाहै नपाई पसिगएका लिम्बू समुदायको सांस्कृतिक पहिचान, लय (ख्याली, पालम) र जीवन, दु:खलाई पनि हाँसेर भन्न सक्ने कला, साँच्चै छोइएँ म । कलामार्फत उठाइने पहिचानको मुद्दा, कति सरल र सहज रूपले प्रकट हुँदो रहेछ । म गर्वले ढक्क भएँ ।

अघि नै कलाकारहरू को–को हुन् भनेर सोधिएन । ठिकै त गरियो होला । उसै पनि पछिल्लो समय दया–मिरुना नेपाली सिनेमामा रुचाइएका जोडी हुन् । दर्शकहरूले उनीहरूलाई खोजिहाल्छन् । यी दुईको जोडी नेपाली सिनेमामा सुरक्षित लगानी अथवा ब्रान्ड । यसो गर्नैपर्ने बाध्यता नै छ । नत्र निर्माता पाउनै सकस । जस्तो कि झन्डै एक दशक दयाहाङलाई गाली गरेर नथाकेका नवीन सुब्बाले पनि अन्तत: ‘गाउँ आएको बाटो’ मा दयालाई नै साथ नलिई धरै पाएनन् । अथवा दयाबाहेकमा निर्माताहरूलाई कन्भिन्स गर्नै सकेनन् । त्यसमाथि उपेन्द्र सुब्बा, जसले दया र मिरुनाबाटै ‘जारी’ मा राम्रो रेस्पोन्स पाए । उनले यी दुईलाई छाडेर अरु आँट्लान् भन्ने लाग्ने कुरै भएन । ‘मानाङ’ मा दया र ‘मनरानी’ मा मिरुना पक्का हो भन्ने भइहालियो । तर, प्रश्न त आइहाल्यो । कतै ‘जारी’ को नामसाङ जस्तै ‘मनसरा’ को मानाङ पनि पो देखिने हो कि ? फरक मनोविज्ञान र चरित्रको त छ, तर सामुदायिक–सांस्कृतिक अवस्थाले उस्तै पो देखिने हो कि ? मनरानी पक्कै मिरुना हुन् ।

‘जारी’ की हाङ्मा पो देखिने, बुझिने हुन् कि ? उत्तर पनि आफैं आयो– मानाङ र मनरानीको कथा अर्कै हो । ‘जारी’ मा छोरो नपाएर हैरान थियो उनीहरूलाई । यता त फहिल्यै छोरो छ । त्यही छोरो त कथाको कडीमा छ ।

म थामिन सकिनँ । तुरन्तै उपेन्द्रजीलाई भेट्न गएँ । कुरा चल्यो । ‘कास्टिङ’ बारे फ्यास्सै सोधिहालेँ । अघिका अनुमानित दुई जना परिहाले । थपमा प्रवीण खतिवडा र मेनुका प्रधानको नाम आयो । मेनुकाको काम ‘पुरानो डुंगा’ मा बेजोडको हेरेको हुँ । प्रवीण त नाट्यकर्ममै भेट भइरहने, उम्दा कलाकार भइहाले । प्रवीणमा दधिराम कल्पना गर्दा यस्तो आभास भयो कि अब यो सिनेमाबाट प्रवीणले खास काम देखाउने भयो । बहुत सुहाउँदो कास्टिङ । मेनुकाले त झनै हिरिक्कै पारिहाल्नेछिन् । यी दुईले नि:सन्तान भएर अस्पताल चाहरेको दृश्य सम्झेर निकै संवेदनशील भइयो । डाक्टरले माग गरेको पैसा कमाउने ध्याउन्नमा दधिरामले गरेको

मिहिनेत र दु:खले हिरिक्क भइहालिँदो रहेछ । मनपरेको अर्को पात्र केहरसिंबारे सोधेँ । उपेन्द्रजी आफैं त्यो चरित्रमा देखिनुहुने रहेछ । मैले झन्डै त्यही चरित्र खेल्छु है भनेको थिएँ । उपेन्द्रजी आफैं खेल्ने भनेपछि मैले आफ्नो इच्छालाई मनभित्रै थप्थपाएँ । रोकेँ आफैंलाई ।

‘जिन्दगी झिंगालाला...’ भन्ने गज्जबको थेगो छ– मनसरामा । त्यही भएर स्क्रिप्ट पढेकै दिनदेखि ‘मनसरा’ को थोरै हल्ला हुँदै गरोस् भनेर ‘फेसबुक स्टाटस’ मा पहिलोपल्ट मैले नै राखेँ । यसलाई धेरैले लेख्न थाल्नुभयो पनि । भर्खरै थाहा भयो– ‘डिग्री माइला’ मा पनि यो संवाद छ । ‘हँ ! हो र ?’ यसरी दच्किनुपर्ने भइहाल्यो । यस्तो नहुनुपर्ने हो, भयो । तर कसरी ? अलि विस्तारै सोचिल्याइयो र एउटा सकारात्मक निष्कर्षमा पुगियो कि रामबाबु (गुरुङ) र उपेन्द्रजी दुवै साथसाथ काम गरेकाहरूले सोच्ने धेरै थोक मिल्छ, मिलिहाल्छ नि ! यसै पनि रामबाबुले नै उपेन्द्रजीलाई सिनेमातिर तानिलगेको हो ।

साहित्यिक यात्राको मेरा साथी बढी नै सिनेमातिर लहसिएका हुन् । उता त कता हो कता स्थापित भएका हुन् । कोइकोइ बेला लाग्थ्यो– रामबाबुले एक्लायो मलाई । मेरो साथीलाई भुलायो– रङ्गीन दुनियाँतिर । तर जब उनीहरू दुईका सिनेमाहरूले नेपाली सिनेमामा सांस्कृतिक कुराहरू ल्याए । सामुदायिक स्वादलाई फैलाए । अनि लाग्यो– झन् बृहत् हुँदो छ हाम्रो अभियान ।

हो कविता, कथा वा सिनेमाको सन्दर्भमा उपेन्द्र सुब्बा सबैका लागि प्रिय र आत्मीय छँदै छन् । झर्रा कुराहरू, झर्रा दर्शनहरू र झर्रा चिन्तनहरू भनूम्, ठेट विम्ब र प्रतीकहरूले संयोजित सरल र सपाट ढंगले लेख्न माहिर, मुन्धुमी लय र तानसहित लोरी सुन्दासुन्दै जसरी शालीन बनिसकेर बालक निदाउँछ, ठीक त्यसरी नै भद्र बन्न बाध्य पार्छन् उपेन्द्रका विम्बहरूले । कत्ति पनि उग्रता पाइँदैन उनका विम्बहरूमा, न त शास्त्रीय जडताहरू नै जबरजस्त घुस्छन् । पाठक र दर्शकको दिमागलाई ‘ड्यामेज’ गरिदिने दुस्साहस गर्दैनन् उनी । बरु, पाठकहरूले सहज पढ्छन् र दर्शकहरूले सहज हेर्छन्, अनि ‘रिफ्रेस’ हुन्छन् आफू ।

नेपाली साहित्यमा ‘खोलाको गीत’ कविता संग्रहका लोकप्रिय कवि, ‘लाटो पहाड’ कथा संग्रहका प्रिय लेखक । नेपाली सिनेमामा ‘कबड्डी सिग्नेचर’, एक अब्बल ‘स्क्रिप्ट राइटर’ । अघिल्लो वर्ष मात्र ‘सुपर हिट’ चलचित्र ‘जारी’ मार्फत निर्देशकका रूपमा स्थापित उपेन्द्र सुब्बा । कवि कम देखिन थालेका हुन् कि भन्ने भ्रम तोड्दै ‘जारी’ मार्फत कवितात्मक विम्बलाई दृश्यमा बुनेर उपेन्द्रजीले

आफ्नो कवित्वको रक्षा गरेका मात्रै छैनन्, निर्देशकीय अब्बलतासहित अझ ओजपूर्ण बनाएका छन् । अझ आयामिक बनाइदिएका छन् । तर, पछिल्लो समय एकाध साथीभाइले उपेन्द्र सुब्बालाई निकै नै गाली गरिरहेको देख्छु, खासगरी ‘जारी’ सफल भएपछि । यही क्रम ‘मनसरा’ को ‘टिजर’ र ‘ट्रेलर’ आएपछि पनि दोहोरिएको छ । उपेन्द्रजीले लिम्बू समुदायको हास्यरस र जीवन शैलीलाई आफ्नो लेखन र प्रस्तुतिको ढाँचा बनाउँछन् । तर, यही कुरालाई लिएर ती साथीभाइले ‘समुदायको कमजोरीलाई बेपार गर्ने’ भनिरहेको देख्छु । मानौं कि उपेन्द्र केही जान्दैनन्, तर साथीहरू भने सबकुछ जान्दछन् । उनीहरूचाहिँ साम्बा, फेदाङ्मा वा विद्वान्हरू हुन्, उपेन्द्रचाहिँ पट मात्रै हुन् । सुरुसुरुमा त म आफैं अघि सरेर ती साथीभाइसित बाझेको छु । भनेको छु– बनाओ न आफैं, के पर्खिहेरी बस्छौ ? तर, अचेल त्यस्तो लाग्दैन । अब बाझ्न छोडेको छु । घरीघरी चाहिँ रन्को छुटिहाल्छ । भन्न मन लाग्छ– कोही सबकुछ बुझ्छन् र केही बुझ्दैनन् । उपेन्द्र सुब्बा भने केही बुझ्दैनन् र सबकुछ बुझ्छन् ।

यहाँनेर यस प्रसंग उठाएर कसैलाई ‘होच्याएको’ भन्ने अर्थ नलागोस् । उपेन्द्रजीका तर्फबाट प्रतिवाद वा प्रतिरक्षा गरिएको पनि होइन । न त एनेठेने कुरा ठेसेको मात्रै पनि हो । हामी ढुक्क छौं कि जुन पुस्ता वा संगतले उपेन्द्रजीलाई गाली गर्छ नि, त्यही पुस्ता र संगत नै उपेन्द्र सुब्बाको असली शुभचिन्तक हो । जस्तो कि ‘मनसरा’ धानको एक प्रजाति हो । यसको विशेषताचाहिँ यो धान मात्रैको बीउले धान फल्दैन, फैलिँदैन । त्यस्तै हो मानिस र उसको समाज । एकल मानिस र एकल विचारले मात्रै समाज अगाडि बढ्दैन, गतिशील हुँदैन । धेरै विचारको मन्थन, संश्लेषण र प्रयोगबाट नै अगाडि बढ्ने हो ।

सुन्दर विम्ब छ ‘मनसरा’ को । मुन्धुमी लयमा बग्ने सुन्दर कथा र स्क्रिप्ट छ । सिनेमा उसै राम्रो बनेको होला । सकारात्मक हुने पारा यही हो ।

पेसागत जीवन होस् वा सामाजिक परिवेश, हामी सबैको कसै न कसैसँग खास सम्बन्ध हुन्छ– खास दृष्टिकोणसहित । व्यक्तिमाथिको दृष्टिकोण आफैंले देखेको र अनुभव गरेको आधारमा तय हुन्छ, जसलाई संसारको अन्य दृष्टिकोणले फेरबदल गर्न सक्दैन । ‘समदृष्टि’ त्यही स्तम्भ हो, जहाँ एकको दृष्टिमा अर्कोको जीवन–चित्र लेखिनेछ ।

प्रकाशित : वैशाख १५, २०८१ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?