२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७
परिक्रमा

क्यान्सरसँग जुधिरहेकी राजकुमारी केट

बेलायती राजकुमारी केट मिडेल्टनले शुक्रबार एक भिडियो सार्वजनिक गर्दै आफूलाई क्यान्सर भएको खुलासा गरिन्, क्यान्सरपीडितले क्यामेराअगाडि आफ्नो स्वास्थ्यबारे खुलस्त रूपमा बताउनु आफैंमा साहसिक उदाहरण हो 

काठमाडौँ — सुन्नेबित्तिकै आङै सिरिंग हुने रोग हो, क्यान्सर । सामान्य बुझाइमा क्यान्सर लाग्नु भनेको ‘समस्याको पहाड’ हो । तर क्यान्सरको संक्रमण हुनु भनेको जीवनको अन्त्य नै हुनु भने होइन । यसको उपचार सम्भव छ र हुन्छ । तर त्यसका लागि समयमै पहिचान हुन भने अत्यावश्यक छ । 

क्यान्सरसँग जुधिरहेकी राजकुमारी केट

क्यान्सरका लक्षण देखा पर्नासाथ उपचार गरेको खण्डमा मात्र कुनै पनि मानिस सामान्य जीवनमा फर्कन सक्छ । समयमै रोगको पहिचान गर्न सकियो भने तुलनात्मक रूपमा खर्च पनि कम हुन्छ । हाम्रै समाजमा कतिपय यस्ता व्यक्ति छन्, जसले क्यान्सरलाई सहजै पराजित गर्न सफल भएका छन् । क्यान्सरको सफल उपचारपछि सामान्य हिसाबले नै जीवन गुजारा गरिरहेकाहरूको संख्या पनि उल्लेख्य छ ।

तर क्यान्सरसम्बन्धी हालैको एक घटनाले भने विश्व समुदायलाई तरंगित बनाइदिएको छ । बेलायती नागरिकहरू शनिबार बिहान जब उठे, उनीहरूमध्ये अधिकांशको चासो अखबारका प्रथम पृष्ठमा थियो । कारण, बेलायती राजकुमारी केट मिडेल्टन (क्याथरिन) ले आफूलाई क्यान्सर भएको खुलासा गरेका समाचारहरू प्रकाशित भएका थिए ।

‘राजकुमारीले आफूलाई क्यान्सर भएको खुलासा गरिन् र भनिन्– म ठीक हुनेछु,’ द टाइम्सले समाचारको शीर्षक राखेको छ । त्यस्तै, द सन

ट्याब्लोइडले राजकुमारीलाई भनेको छ, ‘केट ∕ तपाईं एक्लै हुनुहुन्न ।’

४२ वर्षीया राजकुमारी केटले केही साताको परीक्षणपछि आफूलाई क्यान्सर भएको र उपचार गराइरहेको गत शुक्रबार एक भावुक भिडियोमार्फत खुलासा गरेकी थिइन् । भिडियो सार्वजनिक गर्ने केटको कदम आफैंमा निकै साहसिक हो । सामान्य अवस्थामा क्यान्सरपीडित कुनै पनि व्यक्ति क्यामेराअगाडि बोल्दा आत्तिने मात्र होइन, सार्वजनिक रूपमा आफ्नो स्वास्थ्य अवस्थाबारे बताउनसमेत हिचकिचाउँछन् । तर केन्सिङ्टन दरबारको बगैंचाको एक सामान्य बेन्चमा बसेकी केटले निर्धक्कसँग आफ्नो कथा सार्वजनिक गरिन् । भिडियोमा केटले आफूले गरिरहेको अनुभवबारे स्पष्ट र खुलेर बोल्नु आफैंमा असामान्य हो ।

केट बेलायती राजगद्दीका उत्तराधिकारी विलियमकी पत्नी हुन् । यसको अर्थ, उनी बेलायतकी हुनेवाला रानी हुन् । यस हिसाबले जनतासँग प्रत्यक्ष रूपमा जोडिने केटले उक्त निर्णय आफ्ना पति विलियमसँगको परामर्शपछि मात्र सार्वजनिक गरेको अनुमान गरिएको छ ।

‘गत जनवरीमा, मैले लन्डनमा पेटको एउटा शल्यक्रिया गराएँ र त्यसबेला मेरो अवस्था क्यान्सररहित छ भन्ने सोचिएको थियो,’ केटले भिडियोमा भनेकी छन्, ‘शल्यक्रिया सफल भयो । तर, त्यसपछिको परीक्षणमा क्यान्सर देखिएको थियो । त्यसैले मेरो मेडिकल टोलीले मलाई प्रिभेन्टिभ किमोथेरापी गर्नुपर्ने सल्लाह दियो र म अहिले त्यो उपचारको प्रारम्भिक चरणमा छु ।’

भिडिओ सन्देशमा केटले आफ्नो उपचारमा संलग्न डाक्टरहरूको टोलीलाई पनि धन्यवाद दिएकी छन् । क्यान्सर देखिएपछिको अवस्थालाई सामान्य बनाउन र परिवारका लागि पनि आफू र पति विलियमले सक्दो प्रयास गरिरहेको केटको भनाइ छ । ‘सर्वसाधारणको माया र समर्थन मेरा लागि आराम र आश्वासनको प्रमुख स्रोत हो,’ केटले भनेकी छन् । उनले आफ्नो छेवैमा विलियम रहेका र आफू दिनानुदिन बलियो बन्दै गइरहेको बताएकी छन् ।

‘हामी आशा गर्छौं कि तपाईंले सबै कुरा बुझ्नुभएको छ । एक परिवारको रूपमा, मैले मेरो उपचार पूरा गर्दा केही समय, ठाउँ र गोपनीयता चाहिन्छ,’ उनले भनेकी छन्, ‘म फर्केर आउनेछु । त्यसका लागि म सक्षम छु । तर अहिलेको लागि, मैले पूर्ण निको हुनेमा ध्यान केन्द्रित गर्नुपर्छ । क्यान्सरबाट प्रभावितलाई आश्वस्त पार्दै केटले थपेकी छन्, ‘कोही पनि एक्लै छैनन् ।’

केट र विलियमका १० वर्षका जर्ज, ५ वर्षका लुइस गरी दुई राजकुमार र ८ वर्षीया राजकुमारी चार्लोट गरी तीन सन्तान छन् । । विलियमले २०११ अप्रिल २९ मा केटसँग विवाह गरेका थिए । २०१० को नोभेम्बरमा विवाहको घोषणा हुनुअघि केट बजार व्यवस्थापनसँग सम्बन्धित जागिर र परोपकारी कार्यमा संलग्न थिइन् ।

केटलाई पेटको एउटा शल्यक्रिया गर्ने क्रममा क्यान्सर भएको पत्ता लागेको थियो । मिति सार्वजनिक नगरे पनि केटको गत जनवरीमा शल्यक्रिया गरिएको थियो । त्यतिबेला केन्सिङ्टन दरबारले केटको शल्यक्रिया सफल भएको र ‘क्यान्सरसम्बन्धी नभएको’ जनाएको थियो ।

तर चिकित्सकहरूले गरेका परीक्षणहरूमा भने केटलाई क्यान्सर पनि भएको पत्ता लागेको थियो । सामान्यतः शल्यक्रियाबाट निकालिने तन्तुमा रहेका कोष पहिचानका लागि प्रयोगशालामा परीक्षण गर्ने गरिन्छ । त्यसैक्रममा राजकुमारीमा क्यान्सर देखिएको हो ।

शरीरको कुनै पनि भागको कोष अनियन्त्रित रूपमा खण्डीकरण भएको खण्डमा क्यान्सर हुने गर्छ । समयमै पत्ता लगाएर उपचार नभए यी कोषिकाहरू शरीरका अन्य तन्तुहरूमा पनि फैलँदै जान्छन् । त्यसलाई मेटास्टाटिक क्यान्सर भनिन्छ ।

क्यान्सर पहिचान भएपछि केटले गत फेब्रुअरी अन्त्यबाट रोग बढ्न नदिन किमोथेरापी उपचार सुरु गरेकी थिइन् । चिकित्सकहरूको टोलीले केटलाई ‘प्रिभेन्टिभ किमोथेरापी’ दिइरहेका छन् । केटले क्यान्सर थप फैलन नदिनका लागि उक्त थेरोपी गराइरहेको बताएकी छन् । क्यान्सरका कोषिकाहरू मार्नका लागि गरिने उपचार विधि हो, किमोथेरापी । चिकित्सहरूका अनुसार यो चक्की वा तरल औषधिका रूपमा पनि दिन सकिन्छ । यस्तो उपचारमा परामर्शदाताको काम गर्दै आएका प्राध्यापक एन्ड्रू बेग्सलाई उद्धृत गर्दै बीबीसीले भविष्यमा क्यान्सर बल्झिने जोखिम रोक्नका लागि प्रिभेन्टिभ किमोथेरापी दिइने जनाएको छ । यद्यपि, क्यान्सरको प्रकार, पीडितको अवस्था र क्यान्सर फैलने दरका आधारमा चिकित्सकहरूले यस्तो थेरापी दिने समयावधि र मात्रा निर्धारण गर्ने गर्छन् । तर उनले उपचार गराइरहेको अस्पतालबारे भने दरबारले केही खुलाएको छैन । जनवरीमा केटको शल्यक्रिया भने लन्डनस्थित एक निजी क्लिनिकमा गरिएको थियो ।

केटले शुक्रबार सार्वजनिक गरेको भिडिओ सन्देशमा शल्यक्रियापछि गरिएका परीक्षणहरूबाट शरीरमा क्यान्सर रहेको पुष्टि भएको बताएकी छन् । यद्यपि, केटले आफूलाई भएको क्यान्सरको प्रकृतिबारे भने केही उल्लेख गरेकी छैनन् । केन्सिङ्टन प्यालेसले पनि यसबारे केही खुलाएको छैन । ‘हामीले कसैको स्वास्थ्यसम्बन्धी व्यक्तिगत जानकारीहरू सार्वजनिक गर्दैनौं,’ दरबारका प्रवक्ताले भनेका छन्, ‘अन्य नागरिकलाई जस्तै राजकुमारीसँग पनि आफ्नो स्वास्थ्यबारे गोपनीयता कायम राख्ने अधिकार सुरक्षित छ ।’

यसअघि, बेलायती राजा चार्ल्स तृतीयलाई पनि क्यान्सर देखिएको थियो । गत फेब्रुअरी ५ मा प्रोस्टेट शल्यक्रिया गरेका ७५ वर्षीय चार्ल्सलाई क्यान्सर रहेको पत्ता लागेको थियो । बकिङ्घम दरबारले ‘राजालाई क्यान्सरको रहेको उपचारका क्रममा पत्ता लागेको’ जनाएको थियो । त्यसयता उनको उपचार भइरहेको छ ।

चार्ल्सलाई भएको क्यान्सरको प्रकृतिबारे दरबारले भने केही उल्लेख गरेको छैन । उपचाररत भए पनि चार्ल्सले राज्यको काम जारी राख्ने तर सार्वजनिक समारोहमा संलग्नता स्थगित गर्ने जनाइएको थियो । दरबारका अनुसार चार्ल्सले क्यान्सर पहिचान भएपछि आफ्नो स्वास्थ्य अवस्थाबारे परिवारका सदस्यहरूलाई समेत जानकारी गराएका थिए ।

यूकेमा हरेक दुईमध्ये एक जनालाई आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको क्यान्सर हुने तथ्यांक छ । बर्सेनि १ लाख ६७ हजारले क्यान्सरका कारण ज्यान गुमाउने गरेका म्याकमिलान क्यान्सर सपोर्टले उल्लेख गरेको छ । म्याकमिलानका अनुसार यहाँ क्यान्सर संक्रमितको संख्या ३० लाख हाराहारीमा छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्यांकअनुसार विश्वमा बर्सेनि करिब एक करोड जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । तीमध्ये सबैभन्दा बढी स्तन, फोक्सो, आन्द्रा र प्रोस्ट्रेट क्यान्सरका कारण ज्यान जाने गरेको छ । नेपालमा भने बर्सेनि करिब १५ हजार जनाले क्यान्सरका कारण ज्यान गुमाइरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार वार्षिक सरदर ३५ हजार क्यान्सरका नयाँ रोगी थपिने आँकलन छ । क्यान्सरको विकास हरेक मानिसको शरीरमा हुन सक्ने भए पनि उमेर बढ्दै जाँदा त्यसको जोखिम बढ्ने गर्छ । अधिकांश मानिसलाई ४० वर्ष वा त्यसभन्दा माथिको उमेरमा क्यान्सर देखिने गरेको छ ।

वैज्ञानिकहरूले हालसम्म क्यान्सरका दुई सयभन्दा धेरै प्रकारहरू पत्ता लगाइसकेका छन् । तर हरेक क्यान्सर पत्ता लगाउने र उपचार गर्ने विधि भने फरक फरक छन् । पछिल्लो पाँच दशकमा भने क्यान्सर लागेका मानिस उपचारबाट बाँच्ने सम्भावना दोब्बर भएको छ । चिकित्सकहरूका अनुसार अधिकांश क्यान्सर खराब जीवनशैलीका कारण हुने गर्छ । तर कतिपय हकमा यो वंशानुगत रुपमा पनि आउन सक्छ । यद्यपि, वंशानुगत क्यान्सरको जोखिम १० प्रतिशत हाराहारी मात्र हुने वैज्ञानिकहरू बताउँछन् ।

खानपानमा सन्तुलन कायम राख्ने, दैनिक व्यायाम, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्ने, नियमित परीक्षण गरेको खण्डमा क्यान्सरबाट बच्न सकिन्छ । त्यसका साथै, पछिल्लो समय धूलोधूँवा, विकिरण, रसायनहरूको प्रयोग तथा विषाक्त खानेकुराजस्ता बाह्य वातावरण पनि क्यान्सरको जोखिम बढाइरहेका छन् ।

कुनै पनि व्यक्तिमा क्यान्सर रहेको थाहा पाउने एक मात्र उपाय भने परीक्षण नै हो । त्यसकारण क्यान्सरलाई पहिलो चरणमै थाहा पाउनका लागि नियमित परीक्षण गर्नुको विकल्प छैन । तर कतिपय अवस्थामा विभिन्न लक्षणका आधारमा पनि क्यान्सरबारे थाहा हुन सक्छ ।

दिसापिसाबमा रगत देखिने, ज्वरो आउने र असाधारण थकान हुने, अचानक तौल घट्ने, पिसाबमा समस्या आउने, बिनाकारण रक्तस्राव वा दुखाइ हुने, असामान्य गाँठा वा सुन्निने समस्या, लगातार खोकी लाग्नेलगायतका लक्षण देखिएको खण्डमा क्यान्सरको जोखिम हुन सक्छ । यस्तो अवस्थामा तत्काल परीक्षण गराउनुपर्छ । किनकि, क्यान्सर जति छिटो पत्ता लाग्यो, त्यसको उपचार पनि त्यति नै सहज र कम खर्चिलो हुन्छ ।

प्रकाशित : चैत्र १४, २०८० १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?