कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कीर्तिपुर मैदानमा खचाखच दर्शक [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — शनिवार नेपाल र वेस्ट इन्डिजको खेल हेर्न काठमाडौंको कीर्तिपुर मैदानमा दर्शकको खचाखच उपस्थिति रह्यो । क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शन मात्रै सुधारिएको छैन, नेपाली दर्शक पनि बढेका छन् । शनिवारको खेलमा नेपाली टीमका कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गर्‍यो ।

रोहितले १ सय १२ रन बनाएपछि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ५ रनको लक्ष्य २ बल अगाडि नै २ सय ६ रन बनायो । २७ बलमा अर्धशतक बनाएका रोहितले ४७ बलमै शतक पूरा गरेका थिए । ट्वान्टी २० मा यो उनको पहिलो शतक हो । रोहितले ५४ बल खेली १० चौका र ६ छक्का प्रहार गरे । उनी १९ औं ओभरको पाँचौं बलमा आउट भएका थिए । त्यसपछि आएका प्रतिश जिसीले पहिलो बलमै चौका प्रहार गरेपछि अन्तिम ओभरमा नेपाललाई जितका लागि ९ रन बनाउनु पर्ने समिकरण बनेको थियो । गुलशन झा र प्रतिशले पहिलो दुई बलमा १–१ रन लिएपछिको अर्को दुई बलमा गुलशनले लगातार चौका प्रहार गरे । गुलशन ४ बलमा ९ र प्रतिश २ बलमा ५ रन बनाई अविजित रहे । नेपालले यस जितपछि पाँच खेलको शृंखलमा अग्रता लिएको छ ।

ओपनर अनिल साह ९ बलमा ५ रन बनाई आउट भए । अर्का ओपनर कुशल भुर्तेलले १२ बलमा १६ रन बनाए । पछिल्ला तीन खेलमा शुन्यमा आउट भएका भुर्तेलले ३ चौका प्रहार गरे । कुशल मल्ले १५ बलमा १६ रन बनाए । समान १ चौका र छक्का प्रहार गरेका उनी रन आउट भए । रोहित र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा ३३ बलमा ६४ रनको साझेदारी गरे । दीपेन्द्रले १८ बल खेली २ चौका र १ छक्का प्रहार गरि २४ रन बनाए । विवेक यादव ६ बलमा ७ रन बनाई आउट भए । वेस्ट इन्डिज ‘ए’ ओबेड म्याकोयले ४ ओभरमा ३४ र म्याथ्यु फोर्डेले ४ ओभरमा ४९ रन खर्चेर २–२ विकेट लिए ।यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको क्यारेबियन टोलीले ५ विकेट गुमाई २ सय ४ रन बनाएको थियो । पहिलो ४ ओभरमा ५० र पावर प्लेको पहिलो ६ ओभरमा ७७ रन जोडेर वेस्ट इन्डिजको टोलीले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । एलिक एथान्जेको आक्रामक र कप्तान रोस्टन चेजले इनिङ्स तानेपछि वेस्ट इन्डिज ‘ए’ ले विशाल स्कोर बनाएको हो ।

कप्तान चेजले ७४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रको बलमा आउट हुनु पूर्व उनले ४६ बल खेली ९ चौका र २ छक्का प्रहार गरे । चेज अर्धशतक बनाएपछि मात्र खुलेर खेल्न लागेका थिए । अर्धशतक बनाए लगत्तै उनले अविनाश बोहराको एकै ओभरमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।ओपनर एथान्जेले २५ बल खेली ५ चौका र ३ छक्का प्रहार गरि ४७ रन बनाए । पहिलो ओभरमै कमलसिंह ऐरीले जोहनसन चार्ल्सलाई शुन्यमा बोल्ड गरे पनि एथान्जेले आफ्नो आक्रामक इनिङ्सलाई कायमै राखेका थिए । चार्ल्सको स्थानमा आएका एन्ड्रयु फ्लेचरले दीपेन्द्रसिंह ऐरीलाई लगातार बलमा छक्का प्रहार गरे पनि अर्को ओभरमा कप्तान रोहित पौडेलको चुस्त थ्रोमा रनआउट हुन पुगे ।

एथान्जे र चेजले तेस्रो विकेटमा ४३ रनको साझेदारी गरे । चेज र किएसी कार्टीले चौथो विकेटमा ६० रनको साझेदारी गरे । कार्टीले २६ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए ।अनुभवी तीब्र गतिका बलरद्धय सोमपाल कामी र करण केसी बिनै खेलिरहेको नेपालबाट अविनाश, रोहित, दीपेन्द्र र कमलले १–१ विकेट लिए । अविनाशले ४ ओभरमा २८ रनमात्र खर्चे भने दीपेन्द्रले ३ ओभरमा ३० रन दिए । रोहितले आफ्नो एकमात्र ओभरमा १० रन दिए । कमलले ३ ओभरमा ५३ रन खर्चे । ललित राजवंशीले ४ ओभरमा ३४ रन खर्चे ।दुवै टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी २० विश्वकपको तयारीका लागि यो शृंखला खेलिरहेका छन् । शृंखलाको दोस्रो खेल आइतबार हुनेछ ।


प्रकाशित : वैशाख १५, २०८१ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्