२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

‘सी’ डिभिजनमा सबै सम्भावना खुला

काठमाडौँ — लिग फुटबल त्यतिबेला सुन्दर हुन्छ, जतिबेला त्यहाँ सबै प्रकारको सम्भावना खुला हुन्छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको सहिद स्मारक ‘सी’ डिजिन लिगमा बुधबार चौथो चरणका खेल सकिँदा यस्तै देखियो । यो लिगमा नतिजाबारे अनुमान गर्न अब झन् गाह्रो हुनेछ । 

‘सी’ डिभिजनमा सबै सम्भावना खुला

चौथो चरणको अन्तिम खेलमा अहिलेसम्मकै सबैभन्दा स्तब्धपूर्ण नतिजा निस्कियो । यो खेल यसपालिको लिगमा सर्वाधिक गोल भएको खेलमध्ये एक रह्यो । दोस्रो र तेस्रो चरणको समाप्तिमा शीर्षमा रहेको पुल्चोक स्पोर्टस् क्लब मनोहरा युनाइटेडको हातबाट ४–१ ले पराजित रह्यो । मनोहरा पूर्णतः जितको हकदार देखिन्थ्यो । यति धेरै गोल अन्तर निस्कने विश्वास सम्भवतः मनोहरालाई पनि थिएन ।

मनोहराका लागि सञ्जय श्रेष्ठले दुई गोल गरे । उनले २४ औं मिनेटमा गोलको खाता खोलेयता ९० औं मिनेटमा दोस्रो गोल थपे । यसबीच मनोहराबाट विवश मगरले ५१ र लीलाबहादुर थापामगरले ७८ औं मिनेटमा एक–एक गोल गरे । स्यार्बो लो तामाङले ८० औं मिनेटमा पुल्चोकका लागि एक गोल फर्काए ।

त्यतिबेलासम्म खेल टिमको पकडबाट बाहिरिइसकेको थियो । सशिल ढकालले ३५ औं मिनेटमा पेनाल्टीबाट गोल गरेको भए खेलको कथा बेग्ले हुन्थ्यो । यो नै खेलको ‘टर्निङ प्वाइन्ट’ रह्यो । उनको पेनाल्टी प्रहार आकासिँदै बाहिरिएको थियो । यससँगै लगातार तीन खेल जितेर मनोहराले जितको ह्याट्रिक गर्‍यो ।

मनोहरा चौथो स्थानमा उक्लेको छ । आफ्नो पहिलो खेल सोसियलसँग गुमाएको मनोहराले त्यसयता साँगा र गोलबजारलाई हराएको हो । सुरुआती तीन खेल जितेर उत्कृष्ट सुरुआत लिएको पुल्चोकको यो क्रम भने तोडिएको छ । यो नतिजामा टोलीलाई अन्त्यसम्म पछुतो रहनेछ । हारपछि पनि पुल्चोक दोस्रो स्थानमै छ ।

बुधबार पहिलो खेलमा गोलबजार र रानीवनले १–१ को बराबरी खेले । गोलबजारले ५४ औं मिनेटमा योञ्जन हमालको गोलले अग्रता लिएको थियो । तर, त्यसलाई कायम राख्न सकेन र ४४ औं मिनेटमा हिमाञ्चल सिंहले पेनाल्टीबाट बराबरी गोल फर्काए । यी दुवै टिम अहिलेसम्म स्पष्ट ३ अंक बटुलेका छैनन् । दुवैलाई जित आवश्यक छ ।

प्रकाशित : वैशाख १३, २०८१ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?