१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

रोयल थिम्पुसँग पुलिस स्तब्ध

विनोद भण्डारी

विराटनगर — तीन पटकको विजता नेपाल पुलिस क्लबमाथि ३–० को जित निकाल्दै पाहुना टोली रोयल थिम्पु एफसी भुटान बिहीवार विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ । 

रोयल थिम्पुसँग पुलिस स्तब्ध

सहिद मैदानमा बिहीबार उद्घाटन खेलमा भुटानले पहिलो हालमा दुई गोलको अग्रता लिँदै उपाधि दावेदार मानिएको पुलिसमाथि एकपक्षीय खेल खेल्यो । भुटान २०३१ सालको महेन्द्र गोल्डकप विजेता हो । विस २०१८ सालदेखि महेन्द्र गोल्डकपका नाममा हुँदै आएको यो प्रतियोगिता २०६८ सालदेखि विराट गोल्डकपमा रूपान्तरण भएको हो ।

खेलको ३६औं मिनेटमा केल्जाङ जिग्मेको कर्नरमा किन्ले ग्याल्सेनले टचलाइनबाट गोल गर्दै टिमको खाता खोले । त्यसको चार मिनेट नबित्दै किन्लेले मैदानको मध्यभागबाट निकालेको पासमा किन्जाङले पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँद आकर्षक गोल गरेर टिमको अग्रता दोब्बर बनाए ।

खेलको ६३औं मिनेटमा भुटानका सिद्धार्थ गुरुङले गोल गर्दै टिमको आरामदायी जित निकाले । उनले बललाई मैदानको मध्यभागबाट एक्लै अगाडि बढाउँदै ३५ यार्डवाट गरेको प्रहार गोलमा परिणत हुँदा पुलिसका गोलकिपर अमित टमाटा प्रतिक्रियाविहीन देखिए ।

खेल अवधिमा पुलिसले सिर्जना गरेको उत्कृष्ट मुभ पोस्टको फ्रेममा नपर्दा टोलीको दुर्भाग्य बन्यो । खेलको सातौ मिनटेमा पुलिसका सन्जिव लामाको फ्रिकिक प्रहार बाहिरियो । १७ औ मिनेटमा उज्ज्वल राईको बक्सभित्रबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार बारमा लागेर फर्कियो । प्रवीण थापाले बक्सभित्रबाट गरेको कडा प्रहार ३१ औं मिनेटमा बाहिरियो ।

३७ औं मिनेटमा शिशिर चौधरीले गरेको हेडिङ सदुपयोग हुन सकेन । म्यान अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ भए । उनले ११ हजार रुपैयाँ पाए । शुक्रबार त्रिभुवन आर्मी क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । चैत २४ सम्म हुने प्रतियोगितामा विदेशी तीनसहितका १० टिमको सहभागिता छ । विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : चैत्र १६, २०८० ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?