१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

नाटकमार्फत परिवार मिलन

अमृता अनमोल

बुटवल — दुई वर्ष कुबेतमा बिताएकी रूपन्देहीको तिलोत्तमा २ शंकरनगरकी राधिका विक रित्तो हात घर फर्किन् ।

नाटकमार्फत परिवार मिलन
सम्झौता अनुसार सीप नभएको भन्दै साहूले तलब नदिएपछि हाउसमेडमा गएकी उनी भाडामात्रै जुटाएर गत चैतमा फर्किन् । दुःख पाएर फर्किएपछि उनलाई पतिसहित घरपरिवारले माया दिएनन् । बरु चरित्रमाथि खोट लगाएर तिरस्कार गरे । त्यो सहन नसकेपछि २ महिनाअघि उनी भारतीय बाटो भएर पुनः साउदी अरब गइन् ।
३ वर्षअघि साउदी अरब गएकी बुटवल देवीनगरकी माया परियार गत भदौमा विछिप्त अवस्थामा फर्किन् । कमाउन गएकी पत्नीले मानसिक सन्तुलन गुमाएर फर्केपछि पति श्यामले स्वीकार गरेनन् । माइतीघर कपिलवस्तुको शिवनगर लगेर छोडिदिए र आफू भारतमा रोजगारीका लागि गए । रीता र माया जस्तै खाडी मुलुकमा रोजगारीमा गएर दुःख पाएर फर्किने यहाँका धेरै महिला अलपत्र छन् । उनीहरू परिवारमा स्थापित हुन सकेका छैनन् । धन कमाएर नल्याएपछि घरपरिवारले चरित्रमाथि दोष लगाउने र अलग्याउने गरेका छन् ।
यसले गर्दा धेरै महिला जोखिम मोलेर पुनः वैदेशिक राजगारीमा फर्केका छन् । कोही आर्थिक अभाव र मानसिक तनावमा बसेका छन् । वैदेशिक रोजगारीबाट र्फकनेहरू घरपरिवारमा पुनःस्थापित नहुने समस्या बढेपछि यसलाई रोक्न जिल्लामा अहिले सडक नाटक अभियान थालिएको छ । जिविसको समन्वयमा कार्यमा स्वतन्त्रता परियोजना अनतर्गत आइएलओ, एबीसी नेपाल र सुरक्षित आप्रवासन महिला सरोकार केन्द्रले नाटक देखाउन थालेका हुन् । वैदेशिक रोजगारीबाट फर्केका महिलालाई समावेश गरेर नाटकलाई जीवन्त र यथार्थपरक बनाइएको छ । अभियान अन्तर्गत खाडी मुलुकमा वैदेशिक रोजगारीमा बढी गएका र जान सक्ने क्षेत्र छनोट गरिन्छ । छनोट भएका क्षेत्रमा सम्भावित व्यक्ति र परिवारलाई भेला गरिन्छ र नाटक देखाइन्छ ।
नाटकलाई कुनै काम नसिकी र जानाकारी नलिई भारतीय बाटो हुँदै खाडी मुलुक जाँदा कस्तो दुःख पाइन्छ भनेर देखाइएको छ । दुःख पाएर फर्केकालाई घरपरिवारमा हेला गर्दा त्यसले उनीहरूमा कस्तो असर पर्छ त्यसबारे समेटिएको छ । नाटक सकिएपछि जम्मा भएकालाई आफ्नो घर र समाजमा भएका यस्ता समस्यालाई मिलाउन सुझाइन्छ । घरमा गएर सम्झाउँदा र परामर्श गर्दा पनि नमान्ने परिवार नाटक हेरेपछि प्रभावित भएका छन् ।

प्रकाशित : पुस १७, २०७१ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?