कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

पोल्ट्री दिवसमा बिरामीलाई अन्डा

विमल खतिवडा

चितवन — राष्ट्रिय पोल्ट्री दिवसमा विभिन्न अस्पतालका बिरामीलाई अन्डा वितरण गरिएको छ ।

पोल्ट्री दिवसमा बिरामीलाई अन्डा
बिरामी र तिनका आफन्तलाई उसिनेको अन्डा नि:शुल्क वितरण गरिएको हो । नेपाल अन्डा उत्पादक संघले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र आँखा अस्पतालका बिरामीलाई वितरण गरेको हो ।
संघले अस्पतालमा अन्डा पुर्‍याएर चिकित्सकको सल्लाहमा आवश्यकताअनुसार वितरण गरेको थियो । अस्पतालका बिरामीलाई बुधबार २१ हजार अन्डा वितरण गरियो । सबैभन्दा बढी कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा खपत भएको छ ।
'सबैले सधैं अन्डा खाऊँ, स्वथ्य रहौं भन्ने हाम्रो उद्देश्य हो,' संघ केन्द्रीय अध्यक्ष शिवराम केसीले भने, 'त्यसैले अन्डाको उपयोगिताबारे जानकारी गराएका हौं ।' उनले अस्पतालका कर्मचारी, चिकित्सक, आफन्त, बिरामीलाई अन्डा बाँडेको बताए । त्यस्तै चिकित्कसलाई बिरामी र आफन्तका अगाडि राखेर अन्डा खाँदा मानव स्वास्थ्यमा हुने फाइदाबारे जानकारी गराइएको थियो । त्यस्तै, आईसीयूमा राखिएका बिरामीलाई पनि उसिनेको अन्डा खुवाइएको थियो ।
नेपालमा कुपोषण तथा बालबालिकाको शारीरिक विकास मुख्य समस्या भएकाले दिनहुँ अन्डा खाँदा फाइदा हुने चिकित्सकले बताए । 'प्रोटिनको कमी भएकाले अन्डा खानु बढी उपयुक्त हुन्छ,' भरतपुर अस्पतालका चिकित्सक प्रकाश खतिवडाले भने, 'त्यसैले दिनमा एउटा अन्डा खाँदा स्वास्थ्यलाई राम्रो हुन्छ ।' उनले प्रोटिनको कमी भएकाले दिनमा २ वटासम्म खानु आवश्यक रहेको बताए ।
चिकित्सकका अनुसार सर्जरी गरेका, दमका बिरामी, कुपोषण भएका, सामान्य बालबालिकालाई प्रोटिन कमी हुने हुँदा यो फाइदाजनक छ । 'शरीरलाई बलियो र स्वस्थ राख्न अन्डा आवश्यक छ,' खतिवडाले भने ।
यस्तो कार्यक्रम निरन्तर गर्दै लगिने संघले जनाएको छ । पोल्ट्री दिवसमा पहिला सबै जिल्लाबाट अन्डा व्यवसायी एकै ठाउँमा भेला हुन्थे । अहिले जिल्लामै दिवस मनाउन थालेका छन् ।
झापा, काभ्रे, नेपालगन्जका व्यवसायी दिवस मनाउने तयारीमा छन् । देशभरि दैनिक २० लाख वटा अन्डा उत्पादन हुन्छ ।

प्रकाशित : पुस १७, २०७१ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?