कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

महोत्तरीका आगलागीपीडित : फुक्का चिउरा खाएर त्रिपालमा सुत्केरीको बास

११० घर जलेर खरानी भएपछि महिला, बालबालिका र वृद्धवृद्धाको बिजोग
सुनिता बराल

महोत्तरी — ६ धुरमा बनेको घर जलेपछि बिचल्लीमा परेकी सुत्केरी सवाना खातुन दुई बच्चालाई काखमा लिएर बसिरहेकी थिइन् । शिशु सुताउने ठाउँसमेत नरहेपछि एकमहिने शिशु र २ वर्षको अर्को बच्चा बोकेर बिहीबार घर जलेकै स्थान वरपर घुमिरहेकी थिइन् ।

महोत्तरीका आगलागीपीडित : फुक्का चिउरा खाएर त्रिपालमा सुत्केरीको बास

सुत्केरी भएका बेला घर आएका खातुनका श्रीमान् नुहान ४ दिनअघि फेरि कमाउन भारततिरै फर्किएका छन् । आराम गर्नुपर्ने सुत्केरी शरीर नाबालक काखमा लिएर सुक्खा चिउरा खाँदा उनको भेट भरिएको छैन । ‘भाग्यले सबै सिध्यायो,’ उनले भनिन्, ‘जीउ गलिरहेको छ, खाने, बस्ने केही छैन, बच्चा सुताउने ठाउँसमेत छैन ।’

मटिहानी–६ जरहलवागाछीमा बुधबार भएको आगलागीले दुई टोलका ११० घर खरानी भएपछि विपन्न परिवारका करिब ५ सय जना बेघर बनेका छन् । आगोले घरसहित लत्ताकपडासँगै धनमाल खरानी भएपछि उनीहरूको बिचल्ली भएको हो ।

तेजपत्ता बेचेर जीविकोपार्जन गर्ने बस्तीकी अमिना खातुन बिहीबार केही फेला पार्ने आशामा जलेको घरको भग्नावशेषमा खोतल्दै थिइन् । ‘सबै कुरा जल्यो भन्ने विश्वास लागिरहेको छैन,’ उनले भनिन्, ‘तर मसँग केही छैन ।’

घरसँगै उनको तेजपत्ता व्यापारको दर्तापत्र र २५ हजार नगद पनि जलेपछि उनी तनावमा छिन् । ‘सकिनसकी जोडेको सम्पत्ति त जलिसक्यो, अब बालबच्चालाई कसरी बचाउने चिन्ता भयो,’ उनले भनिन्, ‘हेर्दाहेर्दै बस्तीका सबै घर खरानी भए । न खाने सामल छ, न ओत लाग्ने छानो । चिउरा खाएर बसेका छौं ।’

नगरपालिकाले २ बोतल पानी, एउटा त्रिपाल, २ किलो चिउरा र २ किलो गहुँको पिठो बुधबार साँझ सबै पीडित परिवारलाई उपलब्ध गराएको थियो । यसबाहेक बिहीबार साँझसम्म अन्य केही नपाउँदा उनीहरू बिचल्लीमा परेका छन् । ‘पकाउने सामल दिए, पीडितसँग न पकाउने भाँडा छ न किन्न पैसा नै,’ बिहीबार दिउँसो चर्को गर्मीसँगै चलेको तातो हावाले बस्तीमा भुमरी बनाएर उडाएको माटो र खरानीले भरिएको त्रिपाल देखाउँदै पीडित अखलीमा खातुनले भनिन्, ‘बालबच्चा लिएर यही त्रिपालमा रात बिताएँ ।’

बस्तीको मियाँ टोलबाट सल्किएको आगो गाउँमा फैलिएपछि विपन्न परिवारका घर जलेका हुन् । काममा गएका बेला दिउँसो गाउँमा सल्किएको आगोले घर सखाप बनाएपछि जीउमा लगाएको भन्दा अन्य केही जोगाउन नसकिएको पीडितले बताएका छन् ।

बस्तीका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई बस्ती जलेपछि बढी समस्या भएको छ । ओछ्याउने कपडा, भाँडाकुँडा र शौचालयको समस्या भएको स्थानीय इदो खातुनले बताए । पीडितहरू जलेकै भग्नावशेष छेउमा त्रिपाल टाँगेर बसिरहेका छन् । चर्को गर्मीमा बस्ती जलेको धूलोले समेत आसपासमा बस्न असहज भइरहेको छ । उनीहरूलाई केही वरपर खुला ठाउँमा लगेर राख्न खोजे पनि अधिकांशले जान नमानेकाले छेउमै त्रिपाल टाँगेर बसिरहेको नगर प्रमुख हरिप्रसाद मण्डलले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले पीडितलाई प्रतिपरिवार २० हजार रुपैयाँ दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । पीडितलाई अन्यत्रबाट आएको राहत पनि एकद्वार प्रणालीबाट वितरण गर्न पहिले जिल्ला प्रशासनमा अभिलेखीकरण गर्ने निर्णय भएको उनको भनाइ छ ।

आगलागीबाट १ सय १० परिवारका ४ सय ६२ जना प्रभावित भएको प्रारम्भिक अनुमान छ । नगरपालिका, प्रहरी र रेडक्रसले क्षति तथा प्रभावितको यकिन विवरण बुझाएपछि जिल्ला प्रशासनले राहत उपलब्ध गराउने गेलालले बताए ।

नगरपालिकाले पहिलो चरणको राहत तत्काल उपलब्ध गराएको र अन्य धेरै संघसंस्थाले सहयोग गर्ने तत्परता देखाएकाले छिट्टै दिने वातावरण बनाइने नगर प्रमुख मण्डलले बताए । पीडितलाई बिहीबार नेपाली सेनाले खाना खुवाउने व्यवस्था मिलाएको उनले बताए ।

प्रकाशित : वैशाख १४, २०८१ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?