२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

ओलीले सुहाङलाई सुटुक्क सोधे : कति भोट ल्याउनु हुन्छ ?

पर्वत पोर्तेल

इलाम — इलाम–२ को उपनिर्वाचन नजिकिँदै जाँदा दलहरूले बुधबार अन्तिम चुनावी सभा गरेका छन् । बुधबार राति १२ बजेदेखि आचारसंहिता लागू हुने भएकाले पनि दलहरूले आजै चुनावी सभाको मैझारो गरेका हुन् । 

ओलीले सुहाङलाई सुटुक्क सोधे : कति भोट ल्याउनु हुन्छ ?

नेकपा एमालेले बुधबार दिउँसो चुलाचुलीमा सभा अयोजना गरेको थियो । उक्त सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका केन्द्रीय र प्रादेशिक तहका नेताहरू उपस्थित थिए ।

मञ्चमा उम्मेदवार सुहाङ नेम्बाङ र अध्यक्ष ओलीले बेलाबेला कानेखुसी गरेकोसमेत देखिन्थ्यो । त्यो कानेखुसीमा के कुरा भयो भन्नेबारे ओली आफैंले फेसबुकमार्फत जानकारी दिएका छन् । अध्यक्ष ओलीले लेखेका छन्, ‘आज चुलाचुलीमा सुहाङको चुनावी कार्यक्रममा सहभागी भएको थिएँ । मैले सुहाङसँग सुटुक्क सोधें – कति भोटले जित्नुहुन्छ ?सुहाङको जवाफ थियो– त्यो त इलामेली जनतालाई सोध्नु पर्छ । जनतामाथि उहााको विश्वास मलाई मन पर्‍यो ।’

अध्यक्ष ओलीले इलाम–२ मा सुहाङजति योग्य उम्मेदवार अरु नभएको पनि दाबी गरे । एमालेले अघि सारेको र माओवादी केन्द्र, नेकपा र परिवार दलको समर्थन पाएका सुहाङको जित निश्चित भएको र विजय जुलुसका लागि तयारी रहन उनले कार्यकर्तालाई आग्रह गरे । इलाम–२ मा पेचिलो बनेको पहिचानका मुद्दाबारे ओलीले भने, ‘जनजातिको छोरालाई कसले मन्त्री बनायो ? संविधानसभा अध्यक्ष र पछि सभामुख कसले बनायो ? एमालेले समानताको कुरा गर्छ अनि सबैलाई समान अवसर दिन्छ ।’ ओलीले एमाले पहिचान विरोधी नभएको भन्दै पहिचानको नाममा सामाजिक सद्भाव भड्काउने काम नगर्न आह्वानसमेत गरे ।

प्रकाशित : वैशाख १२, २०८१ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?