२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चल्ने होइन : कांग्रेस

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चलेको भन्दै आपत्ति जनाएको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरूले संविधानले दिएको अधिकार भुलेर केन्द्रीय सत्ता गठबन्धनको इसारामा काम गर्न खोजेको भन्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आपत्ति जनाए । 

प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चल्ने होइन : कांग्रेस

शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले भने, ‘सुदूरपश्चिममा सरकार गठनका विषयमा प्रदेश प्रमुखले संविधानको बर्खिलाप हुने गरी कदम चाल्नुभयो । एउटा प्रक्रियाबाट आह्वान भएर हस्ताक्षर पेश भइसकेपछि त्यसलाई रद्ध गर्न मिल्दैन । तर सत्ताको इसारामा उहाँले पहिले भएको हस्ताक्षर र दाबीलाई खारेज गर्नुभयो, त्यो असंवैधानिक छ । हाम्रो त्यसमा घोर आपत्ति छ ।’

उनले गण्डकी प्रदेशमा पनि सरकार र प्रदेश प्रमुखले सर्वोच्च अदालतको आदेशको पालना नगरेर अदालतको अपहेलना गरेको आरोप लगाए । ‘असंवैधानिक विधिबाट सरकार गठन भएको छ । यो सरकार कामचलाउ हो । यसलाई अदालतले नै कुनै पनि दीर्घकालीन प्रभाव हुने कामहरु नगर्नू भनेर आदेश गरेको छ,’ प्रवक्ता महतले भने, ‘हामीले त्यसको पूर्ण पालना गर्नुपर्छ भनेका हौँ । तर त्यसको बाबजुद जुट घटनाक्रम भइरहेको छ, त्यो अदालतको आदेशविपरीत हो । त्यो हामीलाई स्वीकार्य छैन ।’

उनले प्रदेश प्रमुखहरू केन्द्र सरकारको इशाराबमोजिम चल्नु नहुने बताए । ‘प्रदेश प्रमुखहरु संविधानविपरीत केन्द्र सरकारको निर्देशनबमोजिम काम गर्न उद्दत देखिनुभएको छ । यो गलत हो । यो असंवैधानिक हो । कांग्रेसले यी कुराहरुको घोर आपत्ति जनाउँछ,’ उनले भने ।

प्रकाशित : वैशाख ७, २०८१ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?