कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

साँखुमा बज्रयोगिनी जात्रा मनाइयो

प्रशान्त माली

काठमाडौँ — साँखुमा बज्रयोगिनीको जात्रा मनाइएको छ । नौ दिन मनाइने जात्राको चौथो दिन शुक्रबार 'मु' जात्रा अर्थात् मुख्य दिन हो । आजको दिन गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँ हातमा कमलको फूल, बहुमूल्य हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई साँखु नगर गरिक्रममा गराइएको थियो ।

साँखुमा बज्रयोगिनी जात्रा मनाइयो

बज्रयोगिनी देवीसँगै स्वयम्भू चैत्य, सिंहमुखी, बाघमुखी र बसुन्धरा देवीको खटलाई पनि सांस्कृतिक बाजागाजासहित नगर परिक्रममा गराइयो । त्यसक्रममा पाँचै वटा खटलाई मरीकसी चढाउने परम्प्परा छ । नेपाल भाषामा माटाको भाँडोभित्र राखिएको विशेष किसिमको रोटीलाई मरीकसी भनिन्छ । मरीकसी प्राप्त गर्नेलाई सन्तान लाभ हुन्छ भन्ने जनविश्वास छ । त्यसैले मरीकसी पाउन स्थानीयवासीबीच तँछाडमछाड हुने गर्दछ ।

जात्राको लागि बिहान बज्रचार्य ‘गुर्जुहरू’ ले साली नदीभन्दा माथिको तक्की नदीमा पञ्चस्नान गरी जलः ल्याई विधिपूर्वक बज्रयोगिनी, स्वयम्भू चैत्य, सिंहमुखी, बाघमुखी र बसुन्धारा देवीको पूजा गरेका थिए । आजकै दिन ‘जोगीचक्कर’ पूजा गर्ने चलन छ । यसका लागि पशुपति मृगस्थलीका कानफट्टा जोगीहरू साँखुमा आएका थिए ।

अब जात्राको पाँचौ दिन बज्रयोगिनीलाई सरकारी पूजा गरिन्छ । छैटौं दिन धुँ भूज्याः भनी सत्ययुगदेखि बाल्दै आएको भनिएको आगो बज्रयोगिनी मन्दिरबाट चलाखु टोलमा ल्याएर बालिन्छ । यसदिन साँखुमा ढिकी राख्न दिएको खुसीमा स्थानीयवासीले साँखुकी महारानीलाई सम्झी पूजा गर्ने चलन छ ।

सातौं दिन बौ याः भनी भूतप्रेतलाई पन्छाउने गरिन्छ । आठौं दिनमा होमजप यज्ञ गरिन्छ । नवौं दिनमा बज्रयोगिनीकै मन्दिरमा फर्काइन्छ । जात्राको लागि साँखुमा चैतशुक्ल द्वादशी अर्थात् वैशाख ८ गते शनिबार हुनमान ढोका दरबारबाट राजप्रतिनिधिको रुपमा मल्लकालीन खड्ग ल्याइएको थियो । बज्रयोगिनीलाई हिन्दु सम्प्रदायले दशमहा विद्यादेवी, बौद्ध सम्प्रदायले बज्रयोगिनी, उग्रतारा र तिब्बती लामाहरुले धोर्ज्येफाम्बू, मनकामना रुपमा पुजिन्छ । जात्रा कालिगत सम्वत १८१८ देखि निरन्तर चल्दै आएको र साँखुका राजा शंखदेवले चलाएको भन्ने किंवदन्ती छ ।

जात्रा अवधिभर साँखु नगरमा छाता ओढ्न, घर भत्काउन, ऋण उठाउन, घोडा र हात्ती चढ्न नहुने मान्यता छ । बज्रयोगिनी जात्रा व्यवस्थापन समितिका अध्यक्ष जनता श्रेष्ठले साँखुवासी, गुठीयार, बाजा समूह, विभिन्न संघसंस्था, महिला पुच र महानगरीय प्रहरी प्रभाग साँखुलगायत सबैको सहकार्यमा जात्रा भव्य रुपमा मनाउन सफल भएको बताए । ‘जात्रा सम्पन्न गर्न करिब १४ देखि १८ लाख रुपैयाँ आवश्यक पर्छ,’ उनले भने, ‘साँखु नगरपालिका र वडाले ५ लाख रुपैयाँ सहयोग गरेको छ । संघसंस्था, व्यक्तिलगायतसँगको सहकार्यमा जम्मा ८ लाख संकलन भइसकेको छ ।’


प्रकाशित : वैशाख १४, २०८१ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?