२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

हिमालयन हाइड्रो एक्स्पो-२०२४ सुरु

काठमाडौँ — विद्युतीय सवारी (ईभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा विद्युत् खपत बढाउने सन्देशसहित हिमालयन हाइड्रो एक्स्पो सुरु गरिएको हो । 

हिमालयन हाइड्रो एक्स्पो-२०२४ सुरु

ऊर्जा जलस्रोत तथा सिाचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बुधबार बिहान र्‍यालीको उद्घाटन गर्दै चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सुरुवात गरेका हुन् । विद्युतीय सवारी प्रर्वद्धन र विद्युत खपत बढाउने सन्देश दिँदै ईभी र्‍याली आयोजना गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

उद्धाटन कार्यक्रममा ऊर्जामन्त्री बस्नेतले लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई अझै सार्थक बनाउने बताए । ‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो र्‍यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ’ उनले भने । हाइड्रो एक्स्पो नेपालको विद्युत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने उनको भनाइ छ ।

सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्‍याली आयोजना गरेर प्रवर्द्धन गर्नुपर्ने इप्पान अध्यक्ष गणेश कार्कीले बताए ।

‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ । यसलाई सार्थक बनाउन पनि ईभी र्‍यालीले सहयोग गर्छ,’ उनले भने । तीन दिनसम्म चल्ने एक्स्पोको बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने इप्पानले जनाएको छ । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरुको बुकिङ भएको छ ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पूँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र आयोजना गरिनेछ ।

हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्ने गरि हाइड्रोपावरसम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा हुनेछ ।

प्रकाशित : वैशाख १२, २०८१ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?