कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य होः अर्थमन्त्री पुन 

अर्थमन्त्री वर्षमान पुनले अमेरिकी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री पुनले अमेरिकी (यूएस) चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँग वासिङ्टन डिसीमा अन्तरक्रिया गर्दै अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य भएको बताए । 

नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य होः अर्थमन्त्री पुन 

भू–परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदीयमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्नसक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको अर्थमन्त्री पुनको भनाइ थियो ।

नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको बताउँदै मन्त्री पुनले निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको स्पष्ट नीति रहेको जानकारी दिए । उनले निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अनतर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल बलियो गन्तव्य हुनसक्ने बताए ।

पछिल्लो समय नेपालको वैदेशिक मुद्रा सञ्चितिले उच्च विन्दु कायम गरेको भन्दै मन्त्री पुनले समग्रमा आर्थिक अवस्था राम्रो रहेको तथा आर्थिक गतिविधि बढ्न थालेकाले अर्थतन्त्र दबाबमुक्त रहेको बताए ।

मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा ‘उदीयमान नेपाल’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिँदै त्यसअघि नै सरकारले अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानुनमा संशोधन गर्न लागेको बताए ।

त्यस्तै, कम्पनी दर्ता र लगानीको सुरुवात तथा नाफाबाहिर लैजान पाउने गरी व्यवहारिक प्रक्रिया तय गरिने पनि मन्त्री पुनको भनाइ थियो । नेपाल कानुनको शासन भएको लोकतान्त्रिक मुलुक भएकाले उद्योग–व्यवसाय मैत्री कानुन र संरचनाको राम्रो विकास गरिएको उनले बताए । सरकारका तर्फबाट लगानीकर्तालाई सहजीकरण गर्न तथा लगानीमैत्री र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।

लगानी सम्मेलनका क्रममा लगानी बोर्डले जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार, पर्यटन, कृषि उत्पादन र सूचना प्रविधिसहित १ सय ३३ वटा आयोजना प्रदर्शनीमा राख्ने जानकारी दिँदै मन्त्री पुनले अमेरिकाबाट निजी क्षेत्रका प्रतिष्ठित घरानाको सहभागिता हुने विश्वास गरिएको बताए । अमेरिकाले लामो समयदेखि ऋण र अनुदान सहायतामार्फत नेपालको विकासमा हातेमालो गर्दै आएको भए पनि निजी क्षेत्रको लगानी भने न्यून रहेको उनले उल्लेख गरे । अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुनसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपससहित प्रतिष्ठित व्यवसायीहरू तथा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) की उपसहायक प्रशासक अञ्जली कौरलगायत सहभागी थिए ।

प्रकाशित : वैशाख ५, २०८१ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?