कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

सकियो लगानी सम्मेलन, साढे ६ अर्ब रुपैयाँको लगानी सम्झौता

डाटा सेन्टर र होटल निर्माण तथा विविध सहकार्यसम्बन्धी ७ वटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ — मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सकिएको छ । सम्मेलनमा तीन परियोजनामा लगानी र ७ वटा विविध सहकार्यसम्बन्धी सम्झौता भएको लगानी बोर्डले जनाएको छ । काठमाडौंमा आइतबार र सोमबार आयोजित सम्मेलनमा यी सम्झौता भएका हुन् । यद्यपि सरकारले लगानी आह्वानका लागि प्रस्तुत गरेको परियोजना सूचीमा भने यी परियोजना थिएनन् ।

सकियो लगानी सम्मेलन, साढे ६ अर्ब रुपैयाँको लगानी सम्झौता

सम्मेलनको पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनका लागि चौधरी ग्रुपको बीएलसी होल्डिङ्स र योट्टा डाटा सर्भिसेज भारतबीच समझदारी भयो । बीएलसी होल्डिङ्सकी प्रतिनिधि मेघा चौधरी र योट्टाका सीईओ सुनील गुप्ताले समझदारीपत्रमा हस्ताक्षर गरे । साढे तीन अर्ब लगानीमा मुलुकमा डाटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म निर्माणका लागि समझदारी भएको हो । सम्मेलनको दोस्रो दिन साखः एन्ड कम्पनी र चीनको बोर ग्रुप अफ होटलबीच होटल व्यवसायमा लगानी गर्ने गरी सम्झौता भएको छ । कपिलवस्तुको गोरुसिंगेमा १ अर्ब ९० करोड (जग्गाबाहेक) खर्चेर होटल बनाउने गरी सम्झौता भएको हो ।

सम्मेलनमै अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्टबीच मुगुको रारामा लक्जरी रिसोर्ट बनाउने गरी सम्झौता भएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल, सञ्जीव शर्मा र रारा होल्डिङ्स रिसोर्ट प्रालिका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे । रिसोर्ट बनाउन दुई चरणमा गरी १ अर्ब १० करोड खर्चिने रारा होल्डिङ्सका शाहले जनाए ।

सम्मेलनमा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता पनि भएका छन् । रेमिट हाइड्रोको अवधारणाअनुरूप हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरूबीच सम्झौता भएको छ । रेमिट्यान्सको रकम जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकासमा उपयोग गर्ने गरी सम्झौता भएको हो ।

७०.३ मेगावाट क्षमताको सिम्बुवा खोला जलविद्युत् आयोजना र ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् आयोजनाको सेयर लगानीमा कम्पनीको प्रतिबद्धताअनुरूप वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूलाई सहभागी गराउने बताइएको छ । यी दुई आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याइनेछ ।

सम्मेलनकै क्रममा नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच सम्झौता भएको छ । नेक्सजेनले एमएबीसीको मुख्य कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्न सहजीकरण गर्नेछ ।

नेपालमा सार्वजनिक–निजी साझेदारी प्रवर्द्धनका लागि वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिस्नर्स (नाप) बीच महत्त्वपूर्ण सम्झौता भएको छ । वापका तर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

सम्मेलनमा सबैभन्दा बढी सहकार्यसम्बन्धी सम्झौता नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को भएको छ । महासंघले आइतबार नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्न सम्झौता गरेको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ मलेसियाका अध्यक्ष टान स्री दातो सो थियान लाईले सम्झौतापत्रमा हस्ताक्षर गरे । महासंघले आइतबार नै फेडेरेसन अफ मलेसिया म्यानुफ्याक्चरसँग पनि समझदारी गरेको छ ।

सम्मेलनको दोस्रो दिन महासंघले इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा एफएनसीसीआईसीका तर्फबाट खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरे । नेपाल र भारतबीच लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य गरिनेछ । महासंघले सोमबार नै चाइना डोङ्गुआ सिङ लङ लाइटिङ प्रोडक्ट कम्पनीसँग नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता गरेको छ । सम्मेलनमा नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ ।

सम्मेलनमा उद्योग विभागले यसअघि नै स्वीकृति दिइसकेको ९ अर्ब १३ करोड रुपैयाँ बराबरको विदेशी लगानीको स्वीकृतिपत्र चार जना लगानीकर्तालाई हस्तान्तरण गरेको छ । भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, व्यावसायिक भवन निर्माण तथा सञ्चालनका लागि ३ अर्ब र २ सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख रुपैयाँ र होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख रुपैयाँ लगानीको स्वीकृतिपत्र दिइएको हो ।

विभागले सम्मेलनमै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली उद्घाटन गर्दै कार्यान्वयनमा ल्याएको छ । स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिनेछ । सूचना प्रविधिमा आधारित उद्योगमा न्यूनतम सीमा लागू नहुने विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले जनाए । सम्मेलनमा ३ सय २७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–२, चीन–नेपालमैत्री औद्योगिक पार्क र राइजेन सोलार परियोजना विकास सम्झौता (पीडीए) गर्ने तय भएको थियो । त्यस्तै डाबर नेपालको विस्तारका लागि परियोजना लगानी सम्झौता (पीआईए) गर्ने तयारी थियो । तर तयारी नपुग्दा पीडीए र पीआईए हुन नसकेको बोर्डले जनाएको छ ।

सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधि सहित दुई हजार पाँच सयभन्दा बढीको सहभागिता थियो । सम्मेलनका क्रममा आशयपत्र मागिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) का ९ सहित १५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेस गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैरऊर्जा परियोजनाको हकमा ३५ दिनको समय दिइएको लगानी बोर्डले बताएको छ । सम्मेलनमा ५५ देशका २२ भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

नेपालमा लगानी गर्न जोड

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सरकार, निजी क्षेत्र एवं प्रमुख प्रतिपक्षी दलले एकमुख भएर नेपालमा लगानी गर्न सबै लगानीकर्तालाई आग्रह गरेका छन् । लगानी सम्मेलनको दोस्रो दिन सोमबार समापन कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हालै लगानी र व्यापार गर्ने वातावरण सहज बनाउन सम्बन्धित कानुन परिमार्जन गरिसकिएको प्रस्ट्याए । ‘नेपालमा लगानीमैत्री वातावरण बनेको छ, सबै राजनीतिक दल पनि आर्थिक मुद्दामा केन्द्रित भएका छौं,’ उनले भने ।

नेपालले बेलाबेला आयोजना गर्ने लगानी सम्मेलनले सबै राजनीतिक दलको ऐक्यबद्धतालाई सुदृढ गर्ने ओलीको भनाइ छ । ‘हालै लगानी र व्यापार गर्न वातावरण सहज बनाउन प्रधानमन्त्रीज्यूले सम्बन्धित कानुन परिमार्जन गर्नुभयो,’ ओलीले भने, ‘मेरो पार्टी एमाले कार्यान्वयनका लागि सरकारसँग दृढतापूर्वक उभिएको छ । जसले पहिलेदेखि नै नेपालमा लगानी गरिरहेका हुन् वा अवसरको खोजी गरिरहेका हुन्, उनीहरूका लागि थप अनुकूल वातावरण बनेको छ ।’ आर्थिक विकास र छोटो समयमै समृद्धि हासिल गर्ने सम्भावित समयावधि नेपालको तत्कालको लक्ष्य रहेको उनले बताए । ‘उच्च, फराकिलो र दिगो विकास लक्ष्यका लागि बलियो आधार बनाउनुहोस् । हाम्रा युवालाई उत्पादक उद्यमहरूमा संलग्न गराउँदै वृद्धि, रोजगारी सिर्जना र गरिबीको अन्त्य गरे त्यसको अनुभूति हुनेछ । साझेदार र निजी लगानीकर्ताको बलियो समर्थनले मात्र हाम्रो विकास सम्भव छ ।’ यो सरकारको स्पष्ट भिजन, अटल प्रतिबद्धता र यसको व्यापक लक्ष्य हासिल गर्न परिणाममुखी कार्ययोजना सन् २०३० सम्म एलडीसीबाट स्तरोन्नति हुँदै दिगो विकासको लक्ष्य सन् २०३० हासिल गर्ने हुनुपर्ने ओलीले जनाए ।

नेपालमा लगानीको वातावरण रहेको र विदेशीलाई लगानी गर्न आइतबार उद्घाटनसत्रमै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि विश्वभरबाट काठमाडौंमा जम्मा भएका लगानीकर्ताहरूलाई आग्रह गरेका थिए । सम्मेलनमा सोमबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे । नेपालमा लगानीकर्तालाई सरकारले आवश्यक सुरक्षा दिने उनको भनाइ छ ।

नेपालमा लगानी गर्न सहजीकरण गर्न सबै उच्च राजनीतिक दलले आश्वासन दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जनाए । ‘सरकार र विपक्षी दलका नेताहरूबाट नेपालमा लगानी गर्न सहजीकरण गर्ने उच्च राजनीतिक आश्वासन हामीले देखेका छौं,’ उनले भने । हालका वर्षहरूमा नेपालका धेरैजसो राजनीतिक आकांक्षा पूरा गरिसकेको उल्लेख गर्दै नेपालीहरूको दीर्घकालीन विकास र समृद्धिको आकांक्षालाई साकार पार्न उच्च आर्थिक वृद्धिको बाटोतर्फ अघि बढिरहेको उनको भनाइ छ । ‘तसर्थ आर्थिक विकास र समृद्धि देशको मुख्य ऐतिहासिक कार्य हो, जसमा सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,’ उनले भने ।

सरकारले नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाउन विभिन्न आठ ऐन संशोधन गर्दै अध्यादेश जारी गरेको पनि श्रेष्ठले उल्लेख गरे । सरकारले दुई साताअघि मात्रै मोडल फ्रेमवर्क ‘द्विपक्षीय लगानी सम्झौता’ लाई स्वीकृत गरी चासो दिने मुलुकसँग द्विपक्षीय लगानी सम्झौताको बाटो खोलेको पनि बताए । प्रत्येक लगानीको सम्भावना र त्यसलाई सहजीकरण गर्ने नेपाल सरकारको प्रतिबद्धता उनले दोहोर्‍याए ।

लगानी सम्मेलन भव्य रूपमा सफल भएको अर्थमन्त्री वर्षमान पुनले बताए । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा उनले सम्मेलन सफल भएको दाबी गरे । लगानी सम्मेलनमा विकास साझेदारहरूको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको उनले उल्लेख गरे । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ छ । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनको दाबी छ ।

विकास साझेदारहरूसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधुर बनाइने अर्थमन्त्री पुनले प्रतिबद्धतासमेत जनाए । ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरूको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ । नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो । र, यहाँ लगानीका प्रशस्त अवसर छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौं,’ मन्त्री पुनले भने ।

नेपालमा सोकेस गरिएका परियोजना मुख्य गरी ऊर्जा, आईसीटी, पूर्वाधार, प्रविधि तथा अन्य क्षेत्रमा रहेको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले उल्लेख गरे । सम्मेलनले द्विपक्षीय लगानीको वातावरण बढाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १८, २०८१ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?