कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

आश गुरुङ

लमजुङ — बन्दुकको गोली लागेर लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, जिम्दोका ५३ वर्षीय आइतमान तामाङ घाइते भएका छन् । गाउँ माथिको लेकमा छोडेको भैंसीलाई नुनपानी दिन जाने क्रममा सिजे जंगलमा अचानक गोली लागेर घाइते भएको तामाङलाई उद्दृत गर्दै प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार आइतबार दिउँसो १ बजेतिर गाउँ माथिको जंगलमा जाँदै गरेका तामाङको बायाँ कान नजिकै गोलीको छर्रा लागेको देखिएको छ ।

उनले एक्सरेमा पनि गोलीको छर्राजस्तो देखिएको जानकारी प्राप्त भएको बताए । ‘गोली लाग्नु अगाडि तामाङले बन्दुक पड्केको आवाज सुनेछन् । त्यसपछि ढलेछन् । बिउँझिँदा त गोली लागेको ठाउँबाट रगत बगेछ’ तामाङलाई उद्दृत गर्दै प्रहरी निरीक्षक चपाईंले भने ।

घाइतेको लमजुङ अस्पतालमा समान्य उपचारपछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तामाङले बन्दुक पड्केर आएको गोली लागेको भने पनि बन्दुरक कसले र किन पड्कायो भन्ने विषय नखुलेको प्रहरी निरीक्षक चपाईंले बताए । उनका अनुसार घटनास्थलमा सोमबार प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : वैशाख १७, २०८१ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?