२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

‘सबै पहिचानहरूको सम्मान हुनुपर्छ’

मैले जनताको बीचमा हामीलाई परीक्षण गर्नुहोस् खरो उत्रन सकिन भने अर्कोपटक हामीलाई सजाय दिनुस भनेको छु ।

इलाम — पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते शनिबार मतदान हुँदैछ । 

‘सबै पहिचानहरूको सम्मान हुनुपर्छ’

इलामको उपनिर्वाचनमा दलहरुबीच तीब्र प्रतिस्पर्धा छ । चुनावको अन्तिम प्रचार प्रसारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन योङहाङ लिम्बूसँग कान्तिपुरका पर्वत पोर्तेलले गरेको कुराकानी :

तपाईंको चुनावी एजेण्डा के हो ?

राजनीति गर्ने कुनै पनि व्यक्तिको एजेण्डा जनताका एजेण्डा हुने गर्छन् । म हिजोसम्म कलम मार्फत् जनताको आवाज बोल्ने गर्थे, आज राजनीतिबाट जनताको आवाज बोल्नुपर्छ भन्दै गर्दा जनताका वास्तविक एजेण्डा नै मेरा एजेण्डा हुन् । तथापि एउटा राजनीतिज्ञको काम जनताबाट सिकेर जनतालाई शिक्षित गर्ने पनि हो । २१ औं शताब्दीको यो दोस्रो दशकमा अधिकांश इलामेली जनताले सडक, खानेपानी, विद्युतकै समस्या भोग्नु परेको छ । त्यसको निराकरण गर्दै इलामेली जनतामा ‘बेटर लाईफ’ को अनुभूत गराउनु मेरो पहिलो दायित्व र एजेण्डा हो ।

तपाईंको जित्ने आधार के हो ?

मेरो मात्र होइन, देशैभर रास्वपाको विजयको आधार जनताको मनमा बज्ने घण्टी हो ।

पुराना दलहरुसँग कत्तिको डर लागेको छ ?

पुराना, मक्किएका घर, पुल वा संरचना भत्किँदा त्यसले कति मानिसको ज्यान लिने हो भन्ने डर मेरो मनमा पनि हुने गर्छ । पुराना र मक्किएका राजनीतिक दलहरुले यो देश बर्बाद बनाउन भूमिका खेलिरहेका छन् भन्ने, जब तपाईंलाई आभास हुन्छ डर लाग्न थाल्छ । त्यसका लागि तपाईं न त रास्वपाको कार्यकर्ता हुनुपर्छ न म जस्तो उम्मेदवार । उनीहरुले यो देश भागबन्डा लगाएर कसरी दोहन गरिरहेका छन् भन्ने बुझेपछि म पहिले डराएँ, त्यसपछि त्यसको विकल्पमा उभिएँ । डर भन्ने कुरा तपाईं विकल्पमा नउभिँदासम्म लाग्नेगर्छ । म उनीहरुको विपक्षमा उभिई सकेको छु । त्यसैले मलाई डर होइन, उत्साह जाग्न थालेको छ ।

यो देशलाई जोगाउने चाहना राख्ने प्रत्येक नेपाली, यो देशको समृद्धिको चाहना राख्ने प्रत्येक विदेशिएका युवा मनहरुमा अब डर होइन रास्वपाको घण्टी बज्न थालेको छ । त्यसैले वास्तवमा भन्नुहुन्छ भने डर मलाई होइन पुराना राजनीतिक शक्तिहरुलाई लाग्न थालेको छ । बरु तपाईंले नै आफ्ना पाठकहरुलाई पुराना राजनीतिक शक्तिहरुको मनमा कत्तिको गहिरिएर डर प्रवेश गरेको छ भनेर भनि दिनुस न !

पहिचानवादी मत तान्ने रणनीति के छ ?

चुनाव जित्नैका लागि मैले कुनैखाले अनैतिक रणनीति तय गरेको छैन । इलामेली जनताले मलाई र रास्वपालाई मन पराए भने जिताउने छन् । तर, पुराना राजनीतिक शक्तिको लुटतन्त्रलाई नै इलामेलीले मन पराएका छन् भने उनीहरुलाई नै जिताउने छन् । त्यसैले मैले आफ्नो प्रतिस्पर्धी शक्ति चाहे एमाले होस् वा काँग्रेस, स्वतन्त्र होस् वा राप्रपा मैले उनीहरुबाट भोट खोस्ने, उनीहरुको भोट बैंकलाई आश्वासन बाँड्ने गरेको छैन । मैले जनताको बीचमा हामीलाई परीक्षण गर्नुहोस् खरो उत्रन सकिन भने अर्कोपटक हामीलाई सजाय दिनुस भनेको छु । मलाई के विश्वास छ भने, इलामेली जनताले मेरो इमानलाई, मेरो पार्टीको काम गर्ने शैलीलाई मत दिनु हुनेछ ।

तपाईं पहिचानविरोधी कि पक्षधर ?

एउटा सामान्य मानिसलाई तँ हत्यारा होस कि साधु भनेर सोध्नु कत्तिको उचित हो ? के समाज विज्ञानमा र पत्रकारितामा ‘ब्ल्याक एण्ड हृवाईट’ मात्र हुन्छ ? त्यसैले तपाईंले प्रश्न सच्याउनु पर्छ होला । तर, तपाईंले सोधेको प्रश्न आममानिसको मनमा पनि खेलिरहेको होला भनेर जवाफ दिनु मेरो दायित्व हो । मैले धेरै पहिलेदेखि सबै पहिचानहरुको समान सम्मान हुनुपर्छ भनी आएको छु ।

प्रकाशित : वैशाख १२, २०८१ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?