महिला भलिबलको पहिलो खेलमा आर्मी र न्यु डायमन्ड भिड्ने
काठमाडौँ — सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामाको पहिलो खेल त्रिभुवन आर्मी क्लब र साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच हुने भएको छ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता बुधबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुनेछ । अर्को खेल नेपाल पुलिस र एपीएफ क्लब भिड्नेछन् ।
प्रतियोगितामा ४ टिमको सहभागिता रहने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका छन् । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा पुग्ने टिमले फाइनल खेल्नेछन् ।
चारै टिमले पुरस्कार पाउने छन् । विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्ने छन् । तेस्रोले १ लाख २५ हजार र चौथोले ६२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता उद्घाटनका अवसरमा एक राष्ट्रिय खेलाडीलाई ५० हजारसहित स्पेसल अवार्डबाट सम्मान गरिने छ ।
प्रकाशित : वैशाख ११, २०८१ २१:३७