कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

प्रेमको पालाम : मनसरा

‘अपुतो’ भनिने संस्कारगत सोचले पुरुषको मनोविज्ञानलाई मात्रै क्षति पुर्‍याएको छैन, परिवार र समाजमा समेत विग्रह ल्याएको छ ।
केटीमान्छेलाई यौनको आँखाबाट मात्रै हेर्नेहरूले असली प्रेम नै बुझ्दैनन् भन्ने कोण निकै मार्मिक
गुरुङ सुशान्त

दशकअघि ‘लाटो पहाड’ कथासंग्रहको विमोचनमा एउटै साहित्यिक आन्दोलन हाँकिरहेका अर्का लेखक राजन मुकारुङले उपेन्द्र सुब्बालाई धेरै फ्यान पाइने लोभमा सिनेमातिर जाँदा कथा लेख्न छाडिने खतरातर्फ संकेत गरेका थिए । मुकारुङले आकलन गरेजस्तै सुब्बाले नयाँ कविता र कथा नलेखेको धेरै भयो ।

प्रेमको पालाम : मनसरा

यता ‘जारी’ फिल्मको व्यावसायिक सफलतासँगै उपेन्द्र सुब्बाको काँधमा निर्देशकीय चुनौती र थप जिम्मेवारी आइपर्‍यो, जसको परीक्षा उनले नयाँ सिनेमा ‘मनसरा’ बाट दिँदै छन् ।

सरल कथाको अनुहार देखाएर गम्भीर मुद्दाहरू भन्न सक्नु लरोतरो कलात्मक चेतले सम्भव हुँदैन । सिनेमा यस्तो दृश्यभाषा हो, जसमा संकेत र सामान्य संवादबाटै दृश्यबाहिरको विषयगत गाम्भीर्यतिर दर्शकलाई डोर्‍याउन सकिन्छ । उपेन्द्रले सिनेमाको न्वारानदेखि पात्रचयनसम्मै सार्थक सन्देश दिएका छन् । उनले बुझिहेर्दा थाहा पाए कि एक्लै रोप्दा राम्ररी नफल्ने मनसरा नामक धानको प्रजाति अरूसँग मिसाएर रोप्दा भने राम्रै फल्छ । स्वतन्त्र रूपमै फल्ने उक्त धानलाई अरूको साथ–सहयोग भने चाहिन्छ । हाम्रोजस्तो मिश्रित समाजको कथा र महिला–पुरुषको प्रेम सँगसँगै चित्रण गर्ने उपयुक्त माध्यम खोजिरहेका उपेन्द्रले मनसरा भेटे । परिवारको अनुशासनमा व्यक्ति–व्यक्तिबीचको नाता र समाजमा समुदाय–समुदायबीचको व्यावहारिक रसायन स्वतन्त्रतासहितको सहसम्बन्धबाट मात्रै सम्मानित र बलियो हुने निचोडलाई ‘मनसरा’ ले बिम्बात्मक रूपमा अभिव्यक्त गरेको छ । ‘सिङ्गल मदर’ का समस्या, आवश्यकता र वैचारिकीप्रतिको हाम्रो सामाजिक नजरियालाई बदलिँदो समयको फ्रेममा राखेर पुनर्व्याख्या गर्नुपर्ने बेला भइसकेको छ ।

यौनिक क्षमता परीक्षण र वंशविस्तारका लागि सन्तानको चाहना सबै मानव समुदायमा हुन्छ, सायद । नेपाली समाजमा त सन्तानको खाँचो झनै टड्कारो देखापर्ने सांस्कृतिक परम्परा छ । मनसरा दधिरामलाई भन्छिन्– ‘बाउ हुन सजिलो छैन, बाजे ∕’ दधिरामको मनमा प्रश्न छ– ‘बाउ–छोरा भनेको रगतको नाता मात्रै हो ?’ दधिरामले यो प्रश्न आफ्नै कुण्ठालाई थुमथुम्याउन रोजेको क्षणिक मनशान्ति मात्रै हो । उसको हृदयमा शमन गर्नै कठिन ज्वाला दन्केको देखिन्छ, जसलाई शाब्दिक क्षतिपूर्तिले दीर्घकालीन शान्ति दिनै सक्दैन । नि:सन्तान भएकैले दोस्रो विवाह गरे पनि फेरि हातलागी शून्य भएपछि दधिरामले झेलेको मनोदशामा के ऊ एक्लै दोषी छ ? भनिन्छ, मनुष्यको चेतना–निर्माण उसको सामाजिक–सम्बन्धमार्फत भएको हुन्छ, स्वनिर्मित चेतना भन्ने कुनै चीजै हुँदैन । उसले जे कुरा सोच्छ, त्यसको पृष्ठभूमिमा सामाजिक चिन्तनको जरा हुन्छ । दधिराम पोखरेललाई नि:सन्तान हुनुको मानसिक पीडाको जुन ग्राफमा छ, त्यसमा उसको शारीरिक सबलता–दुर्बलता मात्रै जिम्मेवार छैन । आफ्नै समुदायको ‘संस्कारी’ चिन्तन मुख्य रूपमा जिम्मेवार छ । पितृसत्तात्मक हिन्दु समाजमा पुत्रबिना वंशविस्तार नहुने मात्रै होइन कि मृत्युपश्चात् छोरोले पिण्डदान नगरे ‘स्वर्ग’ जाने भर्‍याङसमेत भत्किने मान्यता छ । र, एक प्रकारले मानव हुनुको अस्तित्वमै खुर्पेचिह्न लाग्न सक्छ । ‘अपुतो’ हुनुको मनोवैज्ञानिक असरले एउटा पुरुषलाई एक असफल पति र असफल छोरोको रूपमा

समेत पीडा दिन्छ भन्ने कुरा दधिरामको पात्रताले बोल्छ । यस संस्कारले एउटाको व्यक्तित्व मात्रै होइन, पूरै परिवार–परिवारमा विग्रह ल्याएको छ । दधिराम र नानीमायाबीच भविष्यमा जन्मिने छोरोको नाममा तर्क–वितर्क हुनु र मनसरापुत्र तान्छोप्रति दधिरामको अतिरिक्त मोहसहितको अभिभावकत्व देखिनुमा ‘अपुतो’ मनोविज्ञान नै हाबी देखिन्छ । आधुनिक युग भनिने समाजमा आज पनि हाम्रो संस्कारजन्य चिन्तनले सबैलाई पीडित बनाएको यथार्थलाई यस सिनेमाले परोक्ष प्रश्न उठाएको छ । फूल–पात कुहिएकोमा चितिन्त हुने तर जरामा किरा लागेकोप्रति नजरअन्दाज गरिदिने हाम्रो रवैयाप्रति ‘मनसरा’ ले सोच्न बाध्य बनाउँछ ।

‘मनसरा’ को अर्को विमर्शयोग्य विषय हो– प्रेम । प्रेमलाई केवल भावुकतावश लिएर त्यसको वैचारिक पक्षलाई बेवास्ता गरिन्छ । यति मात्रै होइन, प्रेमलाई वैवाहिक आवश्यकताको कोणबाट मात्रै पनि हेर्ने गरिन्छ । हाम्रो यही साँघुरो दृष्टिलाई समीक्षा गर्नुपर्नेतिर पनि सिनेमाले हामीलाई डोर्‍याउँछ । मनसरा भन्छिन्– ‘सयवटीको पोइ हुन सक्ला । तर, एउटा प्रेमी बन्न गाह्रो पो छ, बाजे ∕’ पढेलेखेको दयालु छिमेकी भेटिएकोमा खुसी भएकी मनसरा दधिरामको हर्कत देखेपछि भन्छिन्– ‘तर, बाजे पनि अरू पुरुषजस्तै रोगी निस्क्यौ । खै, पुरुषहरू हामी महिलाको शरीरमा के मात्रै देख्छन् ? एउटी आइमाई भएकोमा आफैँसँग घिन लागेर आउँछ । रिस उठेर आउँछ ।’ खुवा र प्रेममा मिसावट हुन नहुने भए पनि पुरुषहरू धेरै मिसावट ल्याउँछन् भन्ने निष्कर्ष ‘मनसरा’ को छ । खासमा केटीमान्छेलाई यौनको आँखाबाट मात्रै हेर्ने केटामान्छेहरूले असली प्रेम नै बुझ्दैनन् भन्ने कोण निकै मार्मिक छ ।

व्यावसायिक रूपमा सफल मानिएको ‘कबड्डी’ शृंखलामा खासगरी कलाकार दयाहाङ राईको अभिनयमा एकरसता रहेको गुनासो दर्शकले गर्न थाल्नुलाई स्वाभाविक मान्न सकिन्छ । कारण– सिनेमाको समयसन्दर्भ फरक भए पनि ‘काजी’ को पात्रता उही थियो । त्यो एकरसता भत्काउने अवसर दयाहाङले ‘मनसरा’ मा पाए, जसलाई उनले भरपूर सदुपयोग गरेको अनुभूति हुन्छ । उनले निर्वाह गरेको मानाङको पात्रतामा मुन्धुमको गहिरो प्रभाव रहेकाले उनका अधिकांश संवाद र सोच्ने शैली काव्यिक लाग्छ । अरू चलचित्रभन्दा दयाहाङको पात्रतामा फरक हुनुले ‘मनसरा’ लाई केही फरक स्वाद थपेको छ । मिरुना मगरले पहिलेजस्तै अभिनयमा अब्बलता दिन भरपूर मिहिनेत गरेको देखिन्छ । मिरुनाको पात्रताले बेहोरेको अप्ठेरो, एक्लै उभिन गरेको साहस, एकल अभिभावकत्वको कठिनाइ मात्रै होइन, पार गरेका घुम्तीहरूबाट उनले प्रेम र पुरुषप्रति बनाएको धारणा निकै अर्थपूर्ण लाग्छ । मानौं– सरल भाषामा मनसराले निकै गम्भीर दर्शन अभिव्यक्त गरिरहेकी छन् । उनको अभिनयमा यत्ति स्वाभाविकता छ कि दर्शक स्वत:स्फूर्त हाँस्छन् अनि रुन्छन् पनि । दर्शक मज्जाले हाँस्दाहाँस्दै थाहै नपाई गला अवरुद्ध पार्दै आँसु झार्न बाध्य पार्ने गरी अभिनय गर्ने अर्का कलाकार हुन्– प्रवीण खतिवडा । सम्भोगरत दधिरामको दृश्य हेरेर कतिले प्रवीणलाई ‘बोल्ड’ भनिदिन सक्छन् । तर, त्यति मात्रै भन्नु पर्याप्त हुँदैन । उनको अभिनय–कलालाई ‘मनसरा’ को एक बलियो स्तम्भ भन्नु चाहिँ उपयुक्त होला । यस फिल्ममा प्रवीणले निर्वाह गरेको चरित्र उनको सिने–करियरमै उल्लेखनीय हुन सक्छ । मेनुका प्रधानको अभिनयको लय मीठो भएकाले प्रशंसनीय मान्नुपर्छ । तर, लोग्नेसँग आफ्नो अस्तित्वबारे नोकझोक गर्न मात्रै होइन, परिआए हातपात गर्न पनि पछि नपर्ने झोक्की र मायालु नानीमायाको चरित्रलाई निकै कुशलतापूर्वक सम्हालेकी मेनुकाको ‘डाइलग डेलिभरी’ मा भने एकाध ठाउँमा लवजगत अस्वाभाविकता देखिन्छ । तान्छोको भूमिकामा देखा परेका बालकलाकार नेनाहाङ राईका साथै कलाकार हेमन्त बुढाथोकी, जीवन बराल, किरण चाम्लिङ राई, अनिल सुब्बा, मानहाङ लावतीलगायतले मीठो मिहिनेत गरेका छन् । स्वयं उपेन्द्र सुब्बा हास्यरस दिने पात्रका रूपमा हुँदाहुँदै पनि उनको भूमिकाले दुई भिन्न संस्कृतिका फरकपन बुझाउन सघाउँछ नै । कवि विप्लव प्रतीक र गायक सत्यराज आचार्यको अभिनय बोनसमा पाउनुलाई साहित्यप्रेमीले सुखद रूपमै लिनेछन् । समग्रमा कलाकारहरूको सिंगो समूहलाई अभिनयको कोणबाट दर्शकले रुचाउनेमा कुनै शंका छैन ।

स–साना डिटेलिङतिर ध्यान पुर्‍याइएको यस सिनेमाको ‘फर्स्ट हाफ’ को गति अलि धीमा लाग्न सक्छ । ‘आर्ट मुभी’ को पारखीलाई भने यसप्रति खासै गुनासो नरहला । धीमा गतिलाई मुन्धुमी लय स्वीकार्ने हो भने ‘सेकेन्ड हाफ’ पछिको गतिले दर्शकलाई पूरापूर बाँधेर सँगसँगै हिँडाउने ल्याकत राख्छ ।

आमाको नामबाट नागरिकता पाउनुपर्ने मुद्दाबाहेक यस सिनेमाले बेवास्ता गरेको अर्को पक्ष हो– राजनीति । चलाखी के गरिएको छ भने पत्रिकाका केही हेडलाइनबाट तत्कालीन परिवेशको संक्षिप्त संकेत गर्नु । अन्तरिम संविधान क्रियाशील भएको तर नयाँ संविधान बनिनसकेकाले खासगरी जातीय मोर्चाहरूले घनीभूत बहस–छलफल चलाएको बेला थियो, त्यो । तान्छोको उमेरलाई आकलन गरेर हेर्दा मानाङ र मनसराबीच प्रेम परेर पालाम गाउँदै गरेको बेला नेपालको गाउँबस्तीमा जनयुद्ध चल्दै थियो । देशको राजनीति संगीन घडीमा पुगेको बेला समाजको हरेक तप्कामा त्यसको बाछिटा परेकै हुन्छ । पूर्वी पहाड पनि त्यस युद्धको प्रभावभन्दा पर थिएन । तर, सिनेमा यसबारे मौनप्राय: छ ।

निर्देशकको ध्यान राजनीतिभन्दा संस्कृतिमै केन्द्रित देखिन्छ । उनलाई बाह्मण र लिम्बूबीचको सांस्कृतिक भिन्नता देखाउनु छ । गाई–भैंसी र सुँगुर, गोबर र लिदी, जनै र पालाम, खुवा र तोङ्बा, रक्सी र दूधजस्ता प्रतीकहरू अगाडि ल्याएर द्विचर विरोधको भाष्यलाई भत्काउँदै ती स्वतन्त्रतासहितको सांस्कृतिक भिन्नता मात्रै हुन् भन्नु छ, उनलाई । अनि, प्रमाणित गर्नु छ– एकअर्काको संस्कृतिलाई सम्मान गरेर मात्रै सहयात्रा सम्भव छ । रक्सी र दूधको आआफ्नै महता छ । आआफ्नै भिन्न अस्तित्व छ । तर, जबर्जस्ती मिसाउन खोजियो भने न रक्सीको मौलिकता बस्छ, न त दूधको शुद्धता नै । दधिराम र मनसराबीच सामुदायिक रूपमा केही खिस्याउने घोचपेच चलेको छ र असल छिमेकी हुनुको सरसहयोग पनि जारी छ । हाम्रो बहुसांस्कृतिक समाजको मौलिकता पनि यहीं देखिन्छ र जटिलता पनि ।

भनिन्छ, नेपाली समाजमा सिनेमा–साक्षरता निकै न्यून छ । हाम्रा प्राय: सिनेमाको स्क्रिप्ट नै कमजोर हुने गरेको गुनासो गर्छन्, सिनेशास्त्रीहरू । साहित्यिक वृत्तमा राम्रै कीर्ति हुँदाहुँदै सिनेमातिरबाट आफ्नो कुरा भन्न इमानदार मिहिनेत गरिरहेका निर्देशकलाई नक्कली प्वाँख र अतिरिक्त प्रशंसाको रङरोगन गर्नु अन्ततोगत्वा नेपाली सिनेजगत्कै लागि आत्मघात हुन पनि सक्छ । तर, यत्ति भन्न सकिन्छ– गीत र ‘फाइट’ संख्या गनेर सूत्रबद्ध फिल्म बनाउने बजारमुखी भीडमा उपेन्द्रका कामले आशावादिताको आँखीझ्याल दिएका छन् । यस्ता काम गर्ने निर्देशक हामीसँग निकै थोरै छन् ।

लिखित आख्यानभन्दा सिनेमाका केही प्राविधिक जटिलताका कारण विशेषगरी समयचेतलाई दुरुस्त उतार्ने चुनौती सधैं रहन्छ । लेखनमा दृश्यलाई शब्दले चित्रण गर्ने हुनाले पाठकको कल्पनाशीलताअनुसार फरक–फरक ‘सेटिङ’ मा कथा बढ्छ । तर, सिनेमामा पटकथाको मर्मलाई निर्देशकीय सोचअनुसार क्यामराले कैद गरेको क्यानभासमा कथा, कलाकार र ‘सेटिङ’ बाटै विविध पृष्ठभूमिका दर्शकलाई एउटै दृश्यमा बाँधिराख्नुपर्ने बाध्यता हुन्छ । सक्षम निर्देशकले भने सिनेमामा देखाइने दृश्यहरूको बीचमा हुने खाली–अन्तर र दृश्यहरूभन्दा पर पनि अर्थका साथै कल्पनाका ढोकाहरू खुला राखिदिएको हुन्छ । कवि हुनुको काव्यिक सुविधा प्रयोग गर्दै निर्देशकले यस सिनेमामा हामीलाई दृश्य देखाउँदा–देखाउँदै त्यसभन्दा पर पनि पुर्‍याउन सक्छन् । सिनेमा हेरिरहँदा अधिकांश ठाउँमा लाग्छ कि कुनै सुन्दर संगीतको प्रवाहमा ध्यानस्थ छौं । ‘मनसरा’ हेर्ने दर्शकले पक्का भन्नेछन् कि उपेन्द्र सुब्बा यस पटकको परीक्षामा खरो उत्रिए । पालामकै रिदमजस्तो एउटा सुन्दर लयदार सिनेमा बनाउने सिंगो ‘टिम’ धन्यवादको साँचो हकदार बनेको छ ।

प्रकाशित : वैशाख २२, २०८१ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?