कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अज्ञात समूहद्वारा सीजी फुड्स पार्कमा आक्रमण

काठमाडौँ — ललितपुरको भैंसेपाटीमा चौधरी ग्रुपले सञ्चालन गरेको सीजी फुड्स पार्कमा शुक्रबार अपराह्न अज्ञात समूहले आक्रमण गरेको छ । नियोजित जत्थाको बा ४ ख १०८५ नम्बरको बसमा आएको टोलीले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि पनि हातपात गरी भौतिक सम्पत्तिमाथि तोडफोड गरेको कम्पनीको दाबी छ । 

अज्ञात समूहद्वारा सीजी फुड्स पार्कमा आक्रमण

‘फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहार प्रदर्शन गरेका थिए,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘त्यहाँ कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारी प्रतिकारमा उत्रिए, जसका कारण आक्रमणकारीहरू त्यहाँबाट पछि हटेका थिए ।’

लगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसलाई गिरफ्तार गरेको जानकारी प्राप्त भएको ग्रुपका प्रवक्ता मधुसूदन पौड्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदाहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय रहेको कम्पनीको भनाइ छ ।

‘यस घटनाको हामी भर्त्सना गर्दछौं । यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुर्‍याउन सक्नेतर्फ सचेत रहन हामी सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सरकारसमक्ष अनुरोध गर्दछौं ।’

प्रकाशित : वैशाख २२, २०८१ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?