कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

कोपिला भ्यालीमा अमेरिकी आमा 

 एक आमाको माया, उपचार र आशाको त्रिवेणी हो यो किताब, जसमा हृदयदेखि नै नानीहरूप्रतिको सेवा–भाव भेटिन्छ  
नेपालले सुन्दर बालबालिकालाई जन्म दियो, अनि मलाई आमा बनायो– म्यागी डोयन्
गंगा बीसी

अमेरिकाको न्युजर्सीमा एक युवती बिहान खाजा खाने बेला बुवा–आमासँग भन्छिन्, ‘म एक वर्ष कलेज ग्याप गर्न चाहान्छु । असल मान्छे हुने प्रयास गर्छु । छातीमा स्वतन्त्र जोस लिएर साहसिक काम गर्न चाहन्छु ।’ यो सन् २०१५ को कुरा हो । मास्कुले जीवनमा गणितलगायत विषयले आकर्षण नगरेपछि एक युवतीले बुबाआमा समक्ष यो प्रस्ताव राखेकी थिइन् ।

कोपिला भ्यालीमा अमेरिकी आमा 

भ्रमणबाट पहिलो समेस्टरमा १७ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीका कार्यक्षेत्रमा सांस्कृतिक पूर्वअभ्यासबाट प्रयोगात्मक ज्ञान लिनुपर्थ्यो । त्यसका लागि कक्षा कोठाको पर्खाल बाहिर जानुपर्ने थियो । पहिलो समेस्टरको भ्रमणमा उनकी साथी हानाले कलेज सुरु हुनुअघि सँगै भारत जाने प्रस्ताव गरिन् । उनी हानासँग भारत गंगाको तट ऋषिकेश रामनाको गार्डेन स्कुलमा पुग्छिन्, जहाँ माओवादी सशस्त्र युद्धका बेला मानव तस्करी, दुर्व्यवहारमा परेका र बेवास्ता गरिएका बालबालिकाको आश्रय घर थियो । बालबालिकाको त्यो अवस्था देखेर ती किशोरीलाई अमेरिका फर्कन मन लागेन । साथी हाना भने अमेरिका फर्केर कर्नेल विश्वविद्यालय पढ्न सुरु गरिन् । ती युवती भने केही महिना वेचिएका, दुर्व्यवहारमा परेका र अलपत्र पारिएका बालबालिकाको सेवामा लागिन् । उनी अर्थात् म्यागी डोयन्ले नेपाली बालबालिकाको माया भुल्न सकिनन् । उनी कर्णाली प्रदेशको सुर्खेतमा दुर्व्यवहारमा परेका, अनाथ, अलपत्र बालबालिकालाई नि:शुल्क गुणतरीय शिक्षा दिन कोपिला भ्याली स्कुल स्थापनाको संघर्ष सुरु गर्छिन् । उनले बालबालिकाको शिक्षा, माया, स्याहार र संरक्षणका लागि स्कुल स्थापनामा गरेको कठोर संघर्षको कथा हो– ‘बिटविन द माउन्टेन एन्ड द स्काई ।’

म्यागीले रामनाको गार्डेनमा दैनिक आवश्यक सामग्री जुटाउने काममा खटेका टोप मल्ललाई भेटिन् । त्यहाँ सुनितालाई भेटिन्, जो उनको पहिलो साथी पनि भइन् । उनी नेपालको कुन गाउँबाट त्यहाँ पुगेकी थिइन् ? केही थाहा थिएन । म्यागी र सुनिता नेपाल फर्केर सुनिताको गाउँ खोज्ने निधो गरे र सुर्खेत फर्किए । सुनिताका ठेगाना खोज्न गएका उनीहरूले कर्णालीमा अरु बालिकाको दयनीय अवस्था देखे । त्यही सिलसिलामा उनीहरूले बालिकाको शिक्षाका लागि पहल गर्ने जमर्को गरे । तत्काल खर्च जुटाएर पढ्ने व्यवस्थाले मात्र दीर्घकालीन समाधान दिनेवाला थिएन । विकल्पको रुपमा म्यागीले बालबालिकाका लागि घर र स्कुल बनाउनुपर्ने महसुस गरिन् अनि अमेरिकाका बुवा–आमालाई फोन गरेर पैसा मागिन् । उनको कुरा सन्नेबित्तिकै बुबा–आमाले सुरुमा दिन इन्कार गरे । पवित्र सेवाअघि बुबा–आमा नतमस्तक भए । म्यागीले कलेज पढ्न बाल्यकालदेखि जम्मा गरेको पाँच हजार डलर नेपाल पठाइदिए । त्यही पैसाले उनले पढ्न नपाएका बालबालिकाका लागि सुर्खेत उपत्यकामा एक टुक्रा जमिन किनिन् । उनले देखेको सपनाको कोपिला बल्ल लाग्न सुरु भयो ।

जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा बिभिन्न प्रक्रिया पूरा गरेपछि कोपिला भ्याली नाम रह्यो, जहाँ उनी असहाय बालबालिकाका लागि सुगन्धिन फूल रोप्न चाहन्थिन । किनेको जमिनबीचको उनले सयपत्रीको बिरुवा रोपिन्, आशाको फूल फुलाउने प्रतीक्षा गर्दै । कोपिला भ्यालीमा सुरुमा एक, दुई हुँदै बालबालिकाहरू मुस्काउन थाले ।

स्कुलको नाम त राखियो, तर त्यहाँ भवन बनाउनु थियो । उनीसँग भवन बनाउने पैसा थिएन । सन् २००७ मा उनी अमेरिकाको न्युजर्सी पुगिन्, आमासँग अमेरिकाको ग्यारेज बेच्ने प्रस्ताव गरिन्, दुई हजार दुई सय डलर जुटाउन खुब दौडिइन्, सहयोग मागिन् ।

म्यागीले कोपिला भ्यालीमा आएका बिरामी बालबालिकाका लागि पढाइका साथै उपचार पनि गर्नु थियो । त्यही क्रममा उनी असहाय बालिका जुनताराको उपचार गर्न लन्डन पुगिन् । दुर्भाग्य उनी तिनलाई बचाउन असफल हुन्छिन् । उनको निधनमा जुनताराका नाममा मायाले भरिएको लामो चिठी लेख्छिन् । त्यसबाटै थाहा हुन्छ असहाय बालबालिकाका लागि उनले कति त्याग गरेकी थिइन् । सामान्य उपचार पनि नपाएकी बालिकालाई उपचारकै लागि लन्डन पुर्‍याएर प्रयास गर्दा पनि सफल हुन नसकेपछिको पीडा म्यागीले किताबमा लेखेकी छन् ।

सन् २०१० अक्टोबरमा ‘न्युयोर्क टाइम्स’ का पत्रकार निकोलस क्रिस्टोफले लामो लेख लेखेपछि कोपिला भ्याली चर्चा मात्र भएन, सहयोग पनि जुट्दै गयो । सन् २००७ मा गैरनाफामूलक संस्था ब्लिंक नाउ स्थापना भएपछि कोपिला भ्याली स्कुलको भवन बनाउन बाटो खुल्यो । ब्लिंक नाउबाट सहयोग जुट्न थालेपछि असहाय बालबालिकाका लागि कसरी भवन बन्यो ? म्यागीले संघर्षको कथामा लेखेकी छन् ।

म्यागीले १९ वर्षको उमेरमा आधारभूत आवश्यकता नपाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र उज्यालो भविष्यका लागि रोपेको कोपिला हाल तिनै बालबालिकाको सुन्दर फूल बनेर फुलिरहेका छ, जहाँ चार सय बढी बालबालिकाले कोपिला भ्यालीको सुगन्ध पाइरहेका छन् । कोपिला भ्याली स्कुल स्थापनाका लागि उनले रकम जुटाउनुपर्ने थियो, उनी त्यसको जोहो गर्न न्यजर्सी पुगिन् ।

म्यागीले भेरी नदीको गिट्टी कुटेर गुजारा चलाइरहेकी हिमालाई उद्धार गरी स्कुलमा भर्ना गरेकी थिइन् । हिमाबाट सुरु भएको असहाय बालबालिका र महिलालाई स्वास्थ्य उपचार दिन थालेको सेवामा हाल चार सय बढी पुगेका छन् । कोपिला भ्यालीमा बस्ने पहिलो बालिका निशाका लागि संरक्षण, शिक्षा र आवासको व्यवस्था गर्न पाउँदा उनलाई स्वर्गीय आनन्द महसुस हुन्छ । हिमा घरेलु नोकरको रुपमा बेचिएकी थिइन् । आफूले नजन्माएका सन्ताानलाई राम्रो शिक्षादिक्षा दिन, गुणस्तरीय जीवनको लागि खानेबस्ने व्यवस्था मिलाउन म्यागीको अभूतपूर्व श्रम र पसिना मात्रै बगेको छैन, मायाको सागरै जम्मा भएको छ ।

कोपिला भ्यालीमा हुर्कंदै गरेको बालक रविको उपचार २०१४ मा अमेरिकामा हुन्छ । उपचारबाट फर्केको केही समयपछि पौडी पोखरीमा डुबेर उनको मृत्यु हुन्छ । उनको मृत्यु म्यागीका लागि कहिल्यै नमेटिने घाउ भएको छ । उनले रविको मृत्युमा गहिरो शोक व्यक्त गरेकी छन् । ‘हामी माथि आकाश खस्न थाल्छ, उसलाई सुनौलो रंगले चम्काएको छ त्यसपछि उसलाई अँध्यारोले तानेर लैजान्छ । म उज्यालोको लागि प्रार्थना गर्छु, तर त्यहाँ कोही छैन’ उनले लेखेकी छन् ‘रवि गए । र, म पनि जान्छु ।’

सन् २०१५ मा सीएनएन हिरो विजेता हुँदा म्यागीले रविलाई सम्झेकी छन् । सीएनएन हिरो हुँदाको खुसी एकातिर थियो, त्यही महिना डिसेम्बरमा रवि गुमाउँदाको पीडा अर्कोतिर । त्यसबेला उनी निकै भावुक बनेकी थिइन् । सीएनएन हिरो विजेता भएपछि कोपिला भ्याली स्कुलको मुहार उज्यालिएको थियो भने रवि गुमाउँदा त्यहाँ निस्पट्ट अँध्यारों छाएको थियो । आफैंले हुर्काएको सुन्दर कोपिला थियो रवि । त्यो कोपिला झरेपछि म्यागीको मनमा गहिरो घाउ लाग्यो । त्यो घाउ निको पार्ने धेरै प्रयास गरेको उनले आफ्नो संस्मरणमा लेखेकी छन् । सन् २०१७ मा कोपिला भ्याली स्कुलबाट पहिलो ब्याच विश्वविद्यालय पढ्नका लागि तयार भयो । त्यहाँका एक विद्यार्थीले अमेरिकाको विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएपछि म्यागी खुसीले उफ्रिएकी छन् । आफूले नजन्माए पनि कर्म दिने आमा म्यागीको एउटा सपना त्यसबेला पूरा भएको थियो ।

सन् २०१७ मा म्यागी र जर्मीबीच विवाह हुन्छ । त्यसको एक वर्षपछि २०१८ यो दम्पत्तिको छोरी रुबी सनसाइन जन्मिछन् । करिब चार सय बालबालिकाकी आमाकी रुबीचाहिँ जन्माएकी छोरी थिइन् । छोरी जन्मेको बेला पनि उनले कोपिला भ्यालीको संरक्षणमा आएका, तर विभिन्न कारणले मृत्यु भएका बालबालिकाको शोकमै हुन्छिन् ।

एक बालिकालाई संरक्षण दिएर पढाउन सुरु गरिएको कोपिला भ्याली स्कुलमा हाल ५०० विद्यार्थीले प्रि–स्कुलदेखि १२ कक्षासम्म स्वास्थ्योपचार र शैक्षिक मार्गदर्शनसहित गुणस्तरीय नि:शुल्क शिक्षा पाइरहेका छन् ।

म्यागीले ‘बिटविन द माउन्टेन एन्ड द स्काई’ मा लेखेकी छन्, ‘नेपालले सुन्दर बालबालिकालाई जन्म दियो, अनि मलाई आमा बनायो ।’

यो किताब एउटी आमाको माया, सन्तान गुमाउनुको पीडा, उपचार र आशाको सँगालो हो, जसले हृदयदेखि नै सेवा–भाव झल्काएको छ ।

प्रकाशित : वैशाख १५, २०८१ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?