२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनै संवाद भएको छैन : प्रमुख सचेतक लेखक

काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनै पनि संवाद नभएको बताएका छन् । बुधबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँगको छलफलमा प्रमुख सचेतक लेखकले कांग्रेसले सरकार ढाल्न खोज्यो भन्ने आरोपमात्रै भएको र त्यसमा कुनै सत्यता नभएको बताए । 

एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनै संवाद भएको छैन : प्रमुख सचेतक लेखक

पछिल्लो समय कांग्रेस र एमाले दुई ठूला पार्टी मिलेर सरकार बनाउनुपर्छ भन्ने आमधारणा बन्न गएको भन्दै उनले कार्यकर्ताको तहबाट त्यस्तो चाहना आएपनि पार्टीको नेतृत्वले त्यस्तो पहल नगरेको दाबी गरे ।

'हामीले नयाँ समीकरण बनाउन खोज्यौँ भन्ने कुरा र अहिलेको समीकरणलाई भत्काउनका लागि हामी हतार गरिराखेका छौं भन्ने कुरा सत्य होइन । यो भ्रामक प्रचारमात्रै हो,' लेखकले अघि भने, 'राजनीतिमा वार्ता, संवाद, छलफल निरन्तर भइरहन्छ । र अहिले कांग्रेस देशकै सबैभन्दा ठूलो पार्टी भएको नाताले संघीय संसद्‌मा मात्रै होइन, ७ वटै प्रदेशमा ठूलो पार्टी भएको नाताले हामीले अरु पार्टीहरुसँग निरन्तर संवाद गर्ने, छलफल गर्ने कुरा स्वभाविक हो । तर हामीले यो समीकरण भत्काइहालौँ, अर्को सरकार गठन गरिहालौँ भनेर कुनै पहल लिएको छैन । त्यसबारे कुनै औपचारिक वा अनौपचारिकरुपमा समेत पार्टीले कसैसँग संवाद गरेको छैन ।'

प्रमुख सचेतक लेखकले पार्टीमा कोही एउटा नेताले बोलेको विषय र धारणालाई लिएर पार्टीलाई नै त्यसमा मुछ्न नहुने बताए ।

उनले कांग्रेसले बलियो प्रतिपक्षीको भूमिका निभाउने दाबी गर्दै मुलुकका साझा समस्याहरुको समाधानका लागि भने सरकार र दलहरुसँग छलफल र सहकार्यकालागि सधैँ तयार रहेको बताए ।

प्रकाशित : वैशाख २६, २०८१ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?